पानीको संरक्षण र सदुपयोगमार्फत विकासका लक्ष्य पूरा गर्न प्रेरणा मिलोस : राष्ट्रपति

काठमाडाैं - राष्ट्रपति रामचन्द्र पौडेलले विश्व पानी दिवसको शुभकाना दिँदै विश्व पानी दिवसले पानीको संरक्षण र सदुपयोगमार्फत दिगो विकासका लक्ष्य परिपूर्ति गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गरेका छन् ।

बढ्दो सहरीकरण र भौतिक पूर्वाधार निर्माणका क्रममा भएका प्राकृतिक विनाश, जलवायु परिवर्तन एवं प्रदूषणका कारण पानीका स्रोत नष्ट भइरहेका छन् । भूमिगत जलस्रोतको अति दोहन र सहरी क्षेत्रमा निर्माण गरिएका पक्की संरचनाका कारण पानी पुनर्भरणमा अवरोध उत्पन्न भएका कारण जमिनमुनिको पानीको सतह निरन्तर घटिरहेको उनले सन्देशमा उल्लेख गरेका छन् ।

भविष्यमा आउन सक्ने जलसङ्कटको चुनौतीलाई मध्यनजर गर्दै भूमिगत जलस्रोतको पुनर्भरणका लागि जलाधार क्षेत्रको संरक्षण गर्ने तथा ग्रामीण भेगमा पोखरी र तालतलैयाको निर्माण गर्ने जस्ता परम्परागत विधिको संवर्धन गर्न राष्ट्रपति पौडेलले सन्देशमार्फत सम्बन्धित सबैसँग आग्रह गरे ।

सहरी क्षेत्रमा वर्षात्को पानीमार्फत पुनर्भरणको विकल्पसहितका पूर्वाधार निर्माण गर्न सम्बद्ध सबैले अग्रसरता लिनुपर्ने आवश्यकता औँल्याउँदै उनले प्राचीन एवं आधुनिक प्रविधिको मिश्रण गरेर जलाशययुक्त योजनाको तर्जुमा पनि गर्नुपर्ने आवश्यकतामाथि जोड दिएका छन् ।

उनले सन्देशमा भनेका छन्, “पानी र प्रकृतिसँग प्राणी जगत्को अस्तित्व गाँसिएको छ । पृथ्वीमा जीवको उत्पत्ति नै पानीभित्र भयो । प्राचीन मानव सभ्यताहरू नदीकिनारमा विकास भए । वर्तमान अवस्थामा आइपुग्दा जीवनको अस्तित्व जोगाउन प्रकृति र पानीको संरक्षण गर्नु मानव सभ्यताकै निमित्त चुनौती भएको छ ।”

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics