होलीमा कस्तो होला मौसम ?
- नेचर खबर
काठमाडौं – भोलि आइतबार र पर्सि सोमबारको होली पर्वमा समेत पानी पर्ने सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार विशेषगरी मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा पर्सि सोमबारसम्मै पानी पर्ने सम्भावना छ । केहीबेर मौसम खुले पनि पर्सिसम्मै बदली र वर्षाको सम्भावना रहेको उनले बताए ।
भोलि आइतवार पहाडी भेगमा र पर्सि सोमवार तराई भेगमा होली अर्थात फागु पूर्णिमा मनाईँदैछ । होलीमा रंग र अबीरसँगै पानीसमेत खेलेर रमाइलो गर्ने चलन छ । तर वर्षासँगै चिसो बढेकाले यसपालिको होलीमा पानी खेलेर रमाइलो गर्नेहरूलाई असर पर्ने भएको छ । काठमाडौसहित कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा रातिदेखि नै झरी परेको छ ।
आज दिउँसो पनि कोशी, मधेश, बागमती र गण्डकी क्षेत्रका केही ठाउँमा बदली र वर्षा हुने मौसमविद् झाले जानकारी दिए । मध्य र पूर्वी भेगमा गएको बुधबारदेखि वर्षा र बदली भइरहेको हो । पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावले बदली र वर्षा भएको मौसमविद्ले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस