पुष्पा र अन्जलीबाट वंश विस्तार गर्न कोसी टप्पुमा पुर्‍याइयो मेघौली

काठमाडौं – चितवनको सौराहाबाट नियन्त्रणमा लिएर लगिएको भाले गैंडालाई कोशी टप्पु वन्यजन्तु आरक्षमा शनिबार छाडिएको छ ।

मेघौली नामको भाले गैंडा अब त्यहाँ रहेका पुष्पा र अन्जली नामका दुई पोथी गैंडासँग बस्नेछ । अहिले सबै गैडालाई कोशी टप्पुको सेल्टरमा राखिएको छ । गत असोज १० मा चितवनबाटै लगिएको पुष्पा र अन्जलीबाट सन्तान उत्पादनका लागि मेघौलीलाई लगिएको हो ।

सप्तरीको कञ्चनरूप नगरपालिका–५ पथरीस्थित वन्यजन्तु उद्वार केन्द्रमा वन तथा वातावरण मन्त्री नवलकिशोर साहको उपस्थितिमा शनिबार भाले गैंडा राखिएको आरक्षका संरक्षक अधिकृत रमेश यादवले जानकारी दिए । ८ वर्ष उमेरको मेघौली गैंडाको वजन ३ दशमलव ५ टन छ ।

पूर्व मेचीदेखि मधेस प्रदेशको जनकपुरसम्म राजमार्गमा एक मात्र रमणीय स्थल कोसी टप्पु रहेकाले यसलाई व्यवस्थित गर्ने उद्देश्यले गैंडासँगै कृष्णसारसहितका जनावरसमेत राख्ने मन्त्री साहको भनाइ छ । उनले आरक्षक्षेत्रमा स्थानीयलाई भइरहेको दैनिक समस्या समाधानमासमेत सक्रिय रहने प्रतिबद्धता जनाए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics