एक महिनामा ताप्लेजुङमा १००० हेक्टर वन जल्यो, १२ घर खरानी

ताप्लेजुङ – सुख्खा याम सुरु भएसँगै ताप्लेजुङमा एक महिनाको अवधिमा डढेलोले १२ घर जलेका छन् । दर्जनौं वन जलेर सखाप भएका छन् ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार फागुनदेखि चैत १० गतेसम्ममा वनमा लागेको डढेलोबाट १२ घर जलेका हुन् । डढेलोका कारण चैतको पहिलो साता मात्रै ११ घर जलेका थिए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार घरसँगै नजिक रहेका पशुचौपायाका गोठ तथा ग्वालीसमेत जल्ला करोडौंको क्षति भएको छ ।

फागुन महिना यता जिल्लाका करिब एकदर्जन ठाउँका वनमा डढेलो लागेको डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ । राष्ट्रिय तथा सामुदायिक वनमा लागेको डढेलोका कारण रुख, बोट, बिरुवा तथा बहुमूल्य जडीबुटी र वनस्पतिमा क्षति पुगेको वन कार्यालयले जनाएको छ ।

फागुनदेखि चैतको पहिलो हप्तासम्ममा करिब आठ सयदेखि एक हजार हेक्टर क्षेत्रफल बराबरको वन जङ्गलमा डढेलो लागेको सामुदायिक वन उपभोक्ता महासङ्घ ताप्लेजुङका अध्यक्ष सुरज ओझाले बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics