कोशीटप्पु पुर्‍याइएको भाले गैंडा ‘मेघौली’ बिरामी, चितवन फिर्ता गरिँदै

चितवन – कोशी टप्पु वन्यजन्तु आरक्षमा पुष्पा र अन्जलीसँग राख्न चितवनको सौराहाबाट लगिएको भाले गैंडा मेघौली बिरामी भएपछि चितवन फिर्ता लगिने भएको छ । मेघौलीलाई चैत १० गते सौराहाबाट स्थानान्तरण गरेर कोशी लगिएको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी श्यामकुमार शाहका अनुसार कोशी लगेपछि मेघौली चर्न छाडेको र टाढा टाढा सम्म जान थालेको थियो । नाक नजिकै र शरीरका केही भागमा पनि मेघौलीको चोट लागेको छ ।

स्थानान्तरण गर्दा खोरमा राखेर ट्रकमा कोशी लैजाँदा गैंडालाई चोट लागेको शाह बताउँछन् । उनले सौराहामा वन्यजन्तु अस्पताल रहेकाले उपचार गर्न सहज होस् भनेर फिर्ता गर्न लागेको बताए ।

गैंडालाई लिन चितवनबाट स्वास्थ्यकर्मी, प्राविधिकहरूको टोली खोरसहितको ट्रक लिएर कोशीटप्पु जाँदैछन् । सौराहाको सडकमा भौंतारिँदै हिँड्ने यो एक सिंगे गैँडालाई करिब छ वर्षअघि पश्चिम चितवनको मेघौली क्षेत्रमा अलपत्र अवस्थामा भेटेर उद्धार गरी सौराहा ल्याइएको थियो । त्यसपछि उसको नाम नै ‘मेघौली’ राखिएको थियो ।

पाउडर दूध खाएर मान्छेको वरपर हुर्किएको यो भाले गैंडालाई ठूलो भएपछि जंगल पठाउन प्रयास गरिए पनि पुनः फर्किएर मानिसको नजिकै आउँथ्यो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics