विषाक्त हावा, मोटोपन भन्दा खतरा

काठमाडौं – वायु प्रदूषणको असर के के होला ? हामी यसो भनिरहँदा स्वास्थ्यको कुरा पहिले सम्झन्छौं । फोक्सोलाई असर गर्ने कुरा गर्छौं । तर, एक अध्ययन अनुसार वायु प्रदूषणकै कारण मधुमेह र उच्च रक्तचापको पनि समस्या हुने पुष्टि भएको छ ।


हेल्थ इफेक्टस् इन्सटिट्यूटले भूउपग्रहबाट उपकरणहरू र करिब १० हजार वायु प्रदूषणबारे अनुगमन गरी तथ्याङ्क सङ्कलन गर्दै तयार पारेको एक प्रतिवेदन अनुसार वायु प्रदूषणको असर मोटोपना भन्दा खतरनाक हुने देखाएको हो । उक्त अध्ययनले दूषित हावाले औसतमा विश्वभर १ वर्ष ८ महिना औसत आयु घटाउने पत्ता लगाएको छ ।


अनुसन्धानमा संलग्नहरूले उक्त तथ्याङ्कलाई वायु प्रदूषणले स्वास्थ्यलाई कति असर गर्छ र विषाक्त हावाले कति मानिसको ज्यान गयो भन्ने तुलना गरेका थिए । यो अध्ययनले ग्लोबल बर्डन अफ डिजिज प्रोजेक्टबाट तथ्याङ्क निकालेको हो जसले विश्वभर नै स्वास्थ्यमा ठूला खतराहरूको क्रम सिर्जना गरेको छ ।


खाना, उच्च रक्तचाप, धूमपान र रगतमा चिनीको उच्च मात्राको अवस्थापछि वायु प्रदूषण पाँचौ नम्बरमा आउँछ । उचाइको तुलनामा बढी वजन हुनु चाहिँ मृत्युको कारणको छैटौं नम्बरमा पर्छ । स्वास्थ्यमा बढी खतरा के बाट छ भन्ने यो क्रम सयौं अध्ययनहरूमा आधारित छ जसले वायु प्रदूषणका कारण मुटु, श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण र रोगहरू अनि क्यान्सरको खतरा बढ्ने देखाएको छ ।

दक्षिण एशियामा वायु प्रदूषण रोक्ने हो भने त्यसले मानिसहरूको औसत आयु बढाउन क्यान्सर निको पार्न सकिए जस्तै फाइदा दिनेछ । विश्वभर वायु प्रदूषणका कारण मानिसको आयु २० प्रतिशतले घट्छ, तर दक्षिण एशियामा त्यसको असर अझै भयावह छ । नेपाल, भारत, पाकिस्तान र बांग्लादेशमा अहिले जन्मिएका बच्चाको आयु प्रदूषित हावाका कारण ३० महिनाले घट्नसक्ने ठानिएको छ । यसलाई क्यान्सरका कारण औसत आयु घट्ने असरजस्तै मानिएको छ ।


यो केवल प्रदूषण मात्रै होइन जसले औसत आयु दर घटाउँछ । तथ्य यो हो कि यी धेरै देशहरूले स्वास्थ्य प्रणालीमा पर्ने असरहरूको व्यवस्थापन नै गर्न सक्दैनन् । रगतमा चिनीको मात्रा उच्च भएको अवस्था र मोटोपनापछि वायु प्रदूषण (खासगरी पीएम २.५) टाइप टु मधुमेह हुने तेस्रो ठूलो कारण हो ।


अमेरिकामा गरिएको एउटा अध्ययनले केही त्यस्ता अवकास प्राप्त मानिसहरू भेट्यो जसलाई ८ वर्षसम्म मधुमेह थिएन र थोरै मात्रामा मात्रै वायु प्रदूषण हुँदा पनि त्यो टाइप टु मधुमेहबीच सम्बन्ध रहेको देखाएको छ । एउटाले अर्कोलाई कसरी मद्दत गर्छ स्पष्ट छैन तर हामीलाई के थाहा छ भने वायु प्रदूषणका कारण फोक्सोमा हुने जलन पछि शरीरको रक्तसञ्चार प्रणालीमा फैलिनसक्छ । एउटा सिद्धान्त के हो भने त्यस्तो हुँदा इन्सुलिन उत्पादन गर्ने कोषहरू जल्छन् र त्यसले रगतमा चिनीको मात्रा व्यवस्थापन गर्ने इन्सुलिनलाई असर गर्छ ।


यो केवल सहरको मात्रै समस्या होइन
वायु प्रदूषणका कारणले सन् २०१७ मा भएका मृत्युमध्ये १६ लाख मृत्युहरू घरभित्र हुने वायु प्रदूषणका कारण भएका थिए । खाना पकाउनका लागि दाउरा बाल्दा वायु प्रदूषण हुन्छ ।


चीनमा ८६ करोड ६० लाख र भारतमा ४५ करोड २० लाख जनताहरू दाउरा बाल्छन् । तर चीन र भारतमा दाउरा बालेर खाना पकाउने सङ्ख्यामा उल्लेख्य मात्रामा कमी आएको छ । अफ्रिकाका धेरै देशमा ७० प्रतिशत भन्दा बढी मानिसले खाना पकाउनका लागि दाउराको प्रयोग गर्छन् ।


बच्चा भन्दा वृद्धको ज्यान समस्यामा
वायु प्रदूषणको असर बालबालिकामा पर्ने गरेको समाचार सञ्चारमाध्यममा धेरै आउने गर्छ । तर ५० वर्ष उमेरमाथिका १० मध्ये ९ जना वायु प्रदूषणकै कारण ज्यान गुमाउँछन् । यो तुलनात्मक रुपमा नयाँ परिस्थिति हो । सन् १९९० मा विषाक्त हावाको असरबाट बढी खतरामा पाँच वर्षमुनिका बालबालिका थिए ।


त्यो बेलाको सबैभन्दा ठूलो समस्या घरभित्रको वायु प्रदूषण थियो । तर भारत र चीनमा दाउरा बाल्नेहरूको सङ्ख्या घटेसँगै त्यसमा परिवर्तन आएको छ । अबको ठूलो खतरा भनेको पिएम २.५ हो र त्यसले फोक्सो, मुटुको रोग र क्यान्सर हुने सम्भावना बढ्छ । जुन बढीजसो उमेर पुगेकाहरूमा देखा पर्छ । साथै, वैज्ञानिकहरूले त्यसको असर बढ्ने हुँदा विषाक्त हावामा जसले लामो समय सास फेर्छ उसलाई बढी असर गर्ने गरेको पाइएको बताएका छन् । - एजेन्सीकाे सहयाेगमा

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics