के छ प्रगतिशील वन प्राविधिक संघ र मधेसका लागि वन संयुक्त प्यानलको बाचा ?

वन प्राविधिक संघको निर्वाचन

काठमाडौं – नेपाल वन प्राविधिक संघको निर्वाचनमा प्रगतिशील वन प्राविधिक संघ र मधेसका लागि वन संयुक्त प्यानल बनाएर चुनावी अभियानमा होमिएका छन् । चुनावको मिति नजिकिँदै जाँदा दुई संगठनको संयुक्त प्यानलले चुनावको घोषणापत्र सार्वजनिक गरेका छन् । अगामी चैत्र २४ गते शनिबार निर्वाचन हुँदैछ ।


वन संवर्धन प्रणालीमा आधारित वन व्यवस्थापन, संरक्षित वन्यजन्तु र जलाधार, वातावरणीय सेवा भुक्तानी र जलवायु न्याय, सुदृढ वन संगठन संवृद्धि र विकासको आधार भन्ने नारा संयुक्त प्यानलले तयार गरेको छ । संयुक्त प्यानलले नेपाल वन प्राविधिक संघको पूर्वउपाध्यक्ष, भूसंरक्षण विभागको पूर्वमहानिर्देशक विजयराज पौड्याललाई अध्यक्षको उम्मेदवार बनाएको छ ।


त्यस्तै उपाध्यक्षमा सुजितकुमार झा, खुल्ला महासचिव अजयविक्रम मानन्धर र महिला महासचिवमा मञ्जु घिमिरे उम्मेदवार छन् । खुल्ला सचिव र महिला सचिवमा शैलेन्द्र चौधरी र करुणा कार्की तथा कोषाध्यक्ष लक्ष्मणप्रसाद पौड्याल उम्मेदवार बनेका छन् ।


संयुक्त प्यानलले वन प्राविधिकहरूको हित रक्षा, क्षमता वृद्धि, पारिस्थितिकीय पद्धति अक्षुण राख्न र रोजगारी सिर्जनाका लागि नेपाल वन प्राविधिक संघको १० वर्षे रणनीति तथा कार्य योजनालाई अन्तिम रूप दिई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाएको छ ।


यस्तै वन प्राविधिक कल्याणकारी कोषलाई थप प्रभावकारी बनाउन वन प्राविधिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग सहकार्य र सहजीकरण गर्ने, वन प्राविधिकहरूको पेसागत तथा व्यावसायिक र बौद्धिक विकास सुनिश्चितताका लागि नेपाल वन प्राविधिक परिषद् स्थापनाको लागि पहल गर्ने जस्ता मुद्दाहरू अघि सारेको छ ।



संघीयता अनुकूल समावेशी र सुदृढ वन संगठन निर्माण गर्ने, अग्रज तथा युवा वन प्राविधिकलाई सहभागी गराई संघलाई विज्ञ समूहको रूपमा विकास गर्ने, नेपाल वन प्राविधिक संघ स्थापनाको स्वर्ण महोत्सव मनाउन विशेष कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता

सो समुहका उम्मेदवारहरूले वन संवर्धन प्रणालीमा आधारित वन व्यवस्थापन, एकीकृत जलाधार व्यवस्थापन, संरक्षित क्षेत्रको दिगो व्यवस्थापन, चुरे तराइ मधेस संरक्षण, वातावरण, जलवायु परिवर्तन र हरित अर्थतन्त्र विकास सम्बन्धी नीति, कानुन र कार्यक्रम निर्माण एवम् अनुसन्धानलाई नीतिगत तहमा जोड्ने विधि र प्रक्रियालाई संस्थागत गर्न पैरवी गर्ने प्रतिबद्धता जनाएका छन् ।


त्यसैगरी प्रत्येक स्थानीय तहमा वन तथा वातावरण शाखा र कम्तीमा एक जना वन प्राविधिकको दरबन्दी सिर्जना गर्न पहल गर्ने, सबै वन प्राविधिकहरूको संघ भन्ने भावनाको विकास गर्न संघ, प्रदेश तथा स्थानीय तह एवम् प्राज्ञिक संस्था, मन्त्रालय, विभाग, प्रदेश, वन क्षेत्रका जिल्ला तथा फिल्ड स्तरका कार्यालय लगायत वन सङ्गठनहरूको सदस्यहरूसँग नियमित भेटघाट, सामूहिक यात्रा, स्थलगत परामर्श, अनुभव आदान प्रदान कार्यक्रम सञ्चालन गर्ने बताएका छन् ।


यस्तै संघीयता अनुकूल समावेशी र सुदृढ वन संगठन निर्माण गर्ने, अग्रज तथा युवा वन प्राविधिकलाई सहभागी गराई संघलाई विज्ञ समूहको रूपमा विकास गर्ने, नेपाल वन प्राविधिक संघ स्थापनाको स्वर्ण महोत्सव मनाउन विशेष कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।


यसैगरी सो समुहले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न अव्यवस्थित भूउपयोग, वन अतिक्रमण र वन डढेलो लगायत बढ्दो मानव वन्यजन्तु समस्यालाई राष्ट्रिय एजेन्डाको रूपमा स्थापित गरी दीर्घकालीन समाधान खोज्न आवश्यक पैरवी गर्ने, संघको केन्द्रीय कार्यालय एवम् पाहुना घरलाई स्तरोन्नति गर्दै व्यवस्थित रूपमा सञ्चालन गर्ने बताएको छ ।


दुई संगठनका उम्मेदवारहरूले प्राविधिक विषयमा अध्ययन अनुसन्धान तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका कार्यशाला र भ्रमणमा सहकार्य गर्न सरकारी तथा विकास साझेदारहरूसँग पहल गर्ने, वन, जैविक विविधता, भू संरक्षण क्षेत्रका रैथाने बौद्धिक ज्ञान बढाउनका लागि आवश्यक वातावरण तयार गर्ने तथा वन क्षेत्रबाट प्राप्त हुने वातावरणीय सेवा भुक्तानीलाई स्थापित गर्न बहस र पैरवी गर्ने प्रतिबद्धता पनि गरेका छन । संघमा ३१ सय ६७ वन प्राविधिकहरू आबद्ध रहेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics