बोत्सवानाका राष्ट्रपतिले जर्मनीलाई किन दिए २० हजार हात्ती पठाउने धम्की ?

काठमाडौं - बोत्सवानाका राष्ट्रपतिले जर्मनीमा २० हजार वटा हात्ती पठाइदिने धम्की दिएका छन् । दुई देशबिच राजनीतिक विवाद चुलिरहँदा बोत्सवानाका राष्ट्रपति मोक्गवितसी मासिसीले यस्तो धम्की दिएका हुन् ।

यो वर्षको सुरुमा जर्मनीका वातावरण मन्त्रीले जनावरहरू शिकार गरेर विदेशबाट ल्याइने ट्रफीमा कठोर सीमा तोक्नु पर्ने बताएका थिए । यस्तो कदमले बोत्स्वानी नागरिकहरू झन् गरिब हुने जर्मन सञ्चार माध्यमसँगको कुराकानीमा मासिसीले बताएका थिए ।

संरक्षणका उपायहरूका कारण हात्तीको सङ्ख्या विष्फोटक रूपमा बढेको उनको भनाइ थियो । जर्मनीले आफूहरूलाई भने जस्तै तरिकाले ऊ पनि बाँच्नु पर्ने मसिसीले जर्मन पत्रिका बिल्डलाई भनेका छन् । विश्वभर पाइने हात्तीको एक तिहाइ जनसंख्या बोत्स्वानामा छ । त्यहाँ १ लाख ३० हजारभन्दा धेरै हात्ती भएको बताइएको छ । सङ्ख्या बढी भएर हात्तीको आतंक बढेको छ । हात्तीकै कारण घरसम्पत्तिमा क्षति बढेका छन्, बालीनाली ध्वस्त भएका छन् भने मान्छे कुल्चिएका घटना बढेर स्थानीय हैरानीमा छन् ।

हात्तीको सङ्ख्या घटाउन बोत्सवानाले यस अघि एङ्गोलालगायत देशलाई ८ हजार हात्ती दिएको थियो । मोजाम्बिकलाई पनि सयौं हात्ती दिएको थियो । आफूले जर्मनीलाई पनि यस्तै उपहार दिन चाहेको मसिसीको भनाइ थियो । आफूले ठट्टा नगरेको र लिन्न भन्ने उत्तर सुन्न नचाहेको पनि उनले बताएका थिए । बोत्सवानाले सन् २०१४ मा नै बोत्स्वानाले ट्रफी हन्टिङमा रोक लगाएको थियो । तर सन् २०१९ मा स्थानीय समुदायको दबाब बढेपछि उक्त प्रतिबन्ध फुकाइएको थियो ।

वार्षिक रूपमा हात्ती सिकारको कोटा छुट्याएर बोत्सवानाले राम्रो कमाई गरिरहेको थियो । जर्मनी अफ्रिकी हात्तीको ईयूमा सबैभन्दा ठुलो आयातकर्ता हो । पछिल्लो समय अस्ट्रेलिया, फ्रान्स र बेल्जियमले ट्रफी हन्टिङ निषेध गरेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics