बैतडीमा भेटिएको वन्यजन्तु हिमाली घोरल हो ?

काठमाडौं – बैतडीको ग्वाल्लेक संरक्षित वनमा पहिलो पटक हिमाली घोरलको माउ, बच्चा र भाले देखापरेसँगै संरक्षणकर्मी उत्साहित भएका छन् ।

दशरथचन्द नगरपालिका र मेलौली नगरपालिकाको मध्य भागमा रहेको ग्वाल्लेक संरक्षित वनको मेलौली नगरपालिका–४, तिताबै क्षेत्रमा तीन वटा हिमाली घोरल देखा परेको डिभिजन वन कार्यालयका प्रमुख दिलीपकुमार यादवले बताए ।

सो वन क्षेत्रमा यसअघि रतुवा मृग, जरायो, चितुवा, हिमाली भालुलगायत १६ वटा स्तनधारी जनावर सूचीकृत रहे पनि घोरल भने पहिलो पटक देखा परेको हो ।

बच्चासहित देखा परेको पोथी घोरल र अर्को भाले रहेको बताइएको छ । ग्वाल्लेक संरक्षित वननजिकैको तिताबैको बाँसपहिरोको गोद्याओराढनजिक अचम्मको जनावर देखिएपछि तस्बिर खिचेको स्थानीय मोहनबहादुर चन्दले बताए ।

दृश्यमा कैद भएको पोथी घोरल र बच्चा शान्त देखिन्छन् । उक्त स्थानमा वन कार्यालयको टोली खटाइएको डिभिजन वन कार्यालयका प्रमुख यादवले बताए ।

संरक्षित वनमा पहिलो पटक देखिएको यो जन्तु हिमालय घोरल नै भएको उनले बताए  । यो प्रजाति नेपालका साथै भारत, भुटान, म्यानमार, पाकिस्तानलगायत देशका समुद्री सतहको आठ सयदेखि दुई हजार आठ सय मिटरका चट्टानी भिरपाखामा पाइने वन कार्यालयले जनाएको छ ।

नेपाल सरकारले संकटापन्न प्रजाति सिलङ्गोलगायत लौठसल्ला पाइने बैतडीको ग्वाल्लेक र सिगास वनलाई संरक्षित वन घोषणा गरेको छ । जथाभाबी सडक निर्माणका कारण वन संरक्षण कार्यक्रम सञ्चालन गर्न भने कठिनाइ भइरहेको बताइएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics