साँघुरो ठाउँमा १५९ बिराला राखेर पालेपछि…

काठमाडाैं - फ्रान्समा दर्जनौँ घरपालुवा जनावरलाई दयनीय अवस्थामा पालेको र स्याहार नपुर्‍याएको ठहर गर्दै स्थानीय अदालतले एक जोडीलाई एक वर्षको जेल सजाय सुनाएको छ। तर उक्त सजाय तत्काल लागु हुने छैन।

नीस सहरमा बस्ने उक्त जोडीले १५९ वटा बिराला र सातवटा कुकुर निकै साँघुरो र फोहोर ठाउँमा राखेका थिए। उक्त ठाउँको क्षेत्रफल ८० वर्गमिटर मात्र थियो। गत वर्ष फेला पर्दा ती कुकुर र बिराला पानीको कमी, कुपोषण र परजीवीबाट पीडित थिए।

मुद्दाको फैसला गर्दै न्यायाधीशले उक्त जोडीले ती जनावरको उपयुक्त स्याहार नगरेको टिप्पणी गरे। उनीहरूमध्ये महिला ६८ वर्षकी र पुरुष ५२ वर्षका छन्। अदालतले उक्त जोडीलाई घरपालुवा जनावर राख्न प्रतिबन्ध पनि लगाएको छ। अदालतले उनीहरूलाई १.५ लाख यूरो भन्दा बढी रकम पशुअधिकारको क्षेत्रमा कार्यरत परोपकारी र नागरिक संस्थाहरूलाई दिन पनि आदेश दिएको छ।

गत वर्ष उक्त जोडी बस्ने घरमा झगडा हुँदा प्रहरी पुगेको थियो। त्यही बेला प्रहरीले त्यहाँ प्रत्येक कोठामा दर्जनौँ जनावर रहेको थाहा पाएको थियो। अधिकारीहरूले त्यहाँ जताततै जनावरका बिस्टा भएको बताएका थिए।

बिरामी भएका केही कुकुर र बिरालाको त्यसपछि मृत्यु भएको थियो। त्यहाँ शौचालयमा कम्तीमा दुइटा कुकुर र दुइटा बिरालाका शव थिए। सन् २०१४ मा एउटा सानो कोठामा बस्दा पनि उनीहरूले १३ वटा बिराला र एउटा कुकुर पालेको विषयबारे छानबिन भएको थियो।

अदालतमा बयान दिँदै घरधनी महिलाले ती जनावर आफ्ना लागि निकै प्रिय भएको तर राम्ररी स्याहार गर्न नसकेको बताइन्। उनले सुरुमा सन् २०१८ मा आफ्ना आमाबुवाका तीनवटा कुकुर र तीनवटा बिराला ल्याएर पाल्न थालेको बताइएको छ। त्यसपछि उनले एउटा खाली घरबाट ३० वटा बिराला ल्याइन्। तिनले पछि सन्तान जन्माए।

ती महिलाले आफूलाई ती कुकुर र बिराला त्याग्न हुँदैन जस्तो लागेको बताइन्। मनोविश्लेषण गर्दा उनलाई 'नोअज् सिन्ड्रोम' भनिने मनोरोग भएको पत्ता लाग्यो। त्यस्तो अवस्थामा मानिसहरूलाई आफू असमर्थ भए पनि पशुपक्षीको रक्षा गर्नुपर्छ भन्ने लाग्छ। अभियोजनकर्ताहरूले उक्त जोडीलाई १८ महिनाको जेल हुनुपर्ने मागदाबी गरेको थियो। तर अदालतले एक वर्षको निलम्बनयुक्त जेल सजाय सुनायो। -बीबीसी

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics