हराउँदै पृथ्वीमा रात, बढ्दै प्रकाश प्रदूषणको घात
बल्ब र झिलिमिलि बत्ती प्रकाश प्रदूषणका कारक
- रविन भट्टराई
काठमाडौं – घर–घरमा बिजुली बत्ती पुग्नुलाई हामी विकास मान्दै आएका छौं । जब बिजुली पुग्छ एउटा बत्ती घर अघि बाल्छौं घर र बाटो मज्जाले देखियोस् भनेर । पछिल्लो समय प्रत्येक सहर र चोक, चोकमा ठूला ठूला बत्तीले उज्यालो रातभर दिइरहन्छन् । अनि, सडक बत्तीले सवारी चलाउँदा बत्ती नै बाल्न नपर्ने गरी उज्यालो दिइरहेको पनि छ ।
रात परेको हो कि दिउँसो हो भनेर चिन्न अकाश हेर्नुपर्ने अवस्थाका मुलुकहरू पनि छन् । अकाशमा घाम देखे उज्यालो र जुन देखे राती भन्नु पर्ने अवस्था विकसित मुलुकमा हुँदैछ । तर, यही प्रकाशका कारण मानवसहित विभिन्न जीवलाई असर पारिरहेको छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । पछिल्लो समय प्रकाश प्रदूषण बढ्दैछ ।
समयसँगै विकास हुँदै गएको मानव सभ्यताले आविष्कार गरेका प्रविधि र विद्युतीय उपकरणहरूले दिने कृत्रिम प्रकाशले मानवसँगै सबै प्रकारका जीवहरूमाथि नकारात्मक प्रभाव पारिरहेको विभिन्न अध्ययनले देखाएका छन् ।
प्राकृतिक प्रकाश जीवहरूका लागि जति जरुरी छ । कृत्रिम प्रकाशले जीवनचक्रमा उत्तिकै नकारात्मक असर पारिरहेको हुन्छ । संसारभरका अधिकांश मानिसहरू कृत्रिम प्रकाशयुक्त रातको चमकमा बाँचिरहेका छन्, र यसले मानव, वन्यजन्तु र वातावरणमा ठूलो समस्या निम्त्याउँदैछ । यही मानव निर्मित कृत्रिम प्रकाशले नै ‘प्रकाश प्रदूषण’ पैदा गरिरहेको छ ।
विश्वमा अहिले यस्तो प्रकाश प्रदूषण कम गर्न थुप्रै प्रयास भइरहेका छन् । प्रकाश प्रदूषणले रातको समयमा आकाशमा देखिने ताराको प्रकाशलाई असर पार्छ । खगोलीय अनुसन्धानमा हस्तक्षेप गर्छ । पारिस्थितिक प्रणालीमा बाधा पुर्याउँछ । साथै स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव पार्छ र ऊर्जा बर्बाद गर्छ ।
प्राकृतिक प्रकाश नै आवश्यक
विश्वको आधाभन्दा बढी जनसंख्या अहिले सहरी क्षेत्रमा बसोबास गर्दै आएको छ । यस्तोमा सहरका प्रत्येक चार जनामध्ये तीन जनाले कहिल्यै पनि पुरानो कालो आकाशको अतुलनीय अनुभव गर्न पाएका छैनन् । २०÷३० वर्षअघि आकाश सफा देखिन्थ्यो र रातिको समयमा ताराको उज्यालोसँगै हिड्न सकिन्थ्यो । तर समयसँगै विकास हुँदै गइरहेको कृत्रिम प्रकाशले ताराहरूको प्रकाशलाई दूषित बनाइरहेको छ ।
विज्ञानले अन्धकारलाई उज्यालो बनाउन विभिन्न आविष्कारहरू गरेको छ । अहिले हामीले प्रयोग गर्ने विभिन्न प्रकारका बल्ब, झिलिमिलि बत्ती आदि सबै प्रकाश प्रदूषणका कारकहरू हुन् । यो प्रकाश प्रदूषणले बोटबिरुवा, जनावर र प्राकृतिक जीवनमा विनाशकारी प्रभाव पार्न सक्छ । यसले कतिपय अवस्थामा मौसमलाई पनि असर गर्न सक्छ ।
प्राकृतिक संसार सूर्यको प्रकाशको ढाँचामा प्रतिक्रिया दिनेगरी मिलेको हुन्छ । मौसम सूर्य र पृथ्वी बीच हुने दूरीकै परिणाम हो । यसले बढ्दो र हाइबरनेसन (शीत निन्द्रा) सिजनहरू सिर्जना गर्छ, जसलाई प्राकृतिक जीवनले पहिचान गर्न सक्छ । किनभने अधिकांश जीव फोटोसेन्सिटिभ हुन्छन् । यसले गर्दा कृत्रिम प्रकाशले आउने दिनमा प्रकृतिलाई ठूलो हानी पु¥याउन सक्छ ।
धेरै प्रकाश, एकदमै न्यून प्रकाश, वा गलत किसिमको प्रकाशको उपस्थितिले पृथ्वीमा जीवको प्राकृतिक जीवन चक्रलाई बिगार्न सक्छ । जमिनमा हुने कयौँ किराहरू यस्ता छन्, जो कृत्रिम प्रकाशकै कारण रात र दिन छुट्टाउन नसक्ने स्थितिमा पुगेको विभिन्न अध्ययनहरूले देखाउँदै आएका छन् ।
मानव शरीर आफैँ पनि प्रकाशमा निकै निर्भर छ । मानव शरीर उज्यालोमा निर्भर बिरुवा जस्तै हो, जसले आफ्नो फूललाई सूर्यतिर फर्काउँछ । मानव शरीरलाई पनि सूर्यको प्रकाश आवश्यक पर्छ । प्राकृतिक प्रकाशको तीव्र कमीको कारणले गर्दा मौसममा नकारात्मक विकीरण उत्सर्जन हुने गर्दछ ।
कसरी हुन्छ प्रकाश प्रदूषण ?
प्रकाश प्रदूषणका अनेकौँ प्रकार र स्रोतहरू छन् । प्रकाश प्रदूषणले प्राकृतिक प्रकाशको अभाव गराउन पनि सक्छ । सहरी बत्तीहरूले प्राकृतिक उज्यालोको एक रूप हटाउँछ ।
कृत्रिम प्रकाशका स्रोतले प्राकृतिक प्रकाश प्रतिस्थापन गरी देख्न नसकिने प्रकाशमा पनि परिवर्तन गर्न सक्छ । रेडियो–वेभ स्पेक्ट्रममा पाइने प्रकाशलाई त्यसको उदाहरणको रूपमा लिन सकिन्छ ।
बत्तीको दुरुपयोगका कारण अत्यधिक उज्यालो सिर्जना हुन्छ, जुन मानवका लागि आवश्यक पनि हुँदैन । बालेर छोडिएका बत्ती, दिउँसोको समयमा पनि ननिभ्ने बत्ती, सडकमा राखिएका बत्तीले धेरै प्रकाश प्रदूषण गरिरहेको हुन्छन् । यसले प्राकृतिक निद्राको ढाँचामा बाधा पु¥याउने मात्र नभई त्यस्ता विषयमा गरिएको लगानी समेत खेर गइरहेको हुन्छ ।
यस्तै बत्तीको उज्यालो चमक प्रकाश प्रदूषण पैदा गराउने मुख्य तत्त्व हो । चमक भनेको बत्तीको प्रकाश वरिपरिका सतहमा ठोक्किएर फर्किने परावर्तित उज्यालो हो, जसले प्रकाश छर्ने मात्र नभई दृष्टिमा समेत समस्या निम्त्याउँछ । यसले गर्दा अध्यारोमा नदेखिने भन्ने त होइन, तर वस्तुहरू पहिचान गर्न समस्या पैदा गराउँछ ।
विभिन्न माध्यमबाट एकै स्थानमा जम्मा हुने अत्यधिक उज्यालो पनि प्रदूषणको कारण हुन् । विभिन्न बत्ती तथा बल्बहरूबाट एकै स्थानमा जम्मा हुने अत्यधिक उज्यालो मानव निर्मित समस्या हो । यो बत्तीको खराब अवस्थिति अथवा डिजाइनबाट उत्पन्न हुन्छ । व्यापारिक बत्ती वा सडक बत्तीहरूको समूहले रातको समयको दृष्टि र उज्यालोमा हस्तक्षेप गर्दछ । यस्ता बत्तीहरूले विशेषगरी अन्य जीवजन्तुलाई असर गर्दछ ।
सामान्य भाषामा भन्नुपर्दा स्काइग्लो भनेको कृत्रिम प्रकाश हो, जुन वास्तविक आकाशबाट आउने प्रकाश होइन । पृथ्वीमा भएका कृत्रिम प्रकाशले उज्यालो बनाएको आकाशलाई नै स्काइग्लो भन्ने गरिन्छ । सडक बत्तीहरू, चिन्ह वा सङ्केत, घर र व्यवसायहरूबाट निस्केको प्रकाश वायुमण्डलमा प्रकाशको गुणस्तर परिवर्तन गर्न माथि जान्छ र यो वायुमण्डलबाट सहरमा फर्किन्छ ।
अर्को हो लाइट ट्रेसपास यो एक प्रकारको प्रदूषण मात्र होइन, कतिपय क्षेत्रका लागि अपराध पनि हो । लाइट ट्रेसपास भनेको एक प्रकाश प्रणालीबाट उत्पन्न हुने र छेउछाउको सम्पत्तिलाई प्रतिकूल प्रभाव पार्ने प्रकाशलाई जनाउन प्रयोग गरिने शब्द हो । सामान्य रुपमा बुझ्दा एउटा घरको उज्यालो अर्को व्यक्तिको घरमा पुग्नुलाई ‘लाइट ट्रेसपास’ भनिन्छ । जसले कुनै पनि प्रकारका चोरी लगायतका घटनाहरू निम्त्याउन सक्छ ।
असर कसरी गरिरहेको छ ?
गलत प्रकारको प्रकाश, वा धेरै उज्यालोले स्वास्थ्यमा प्रतिकूल असर पार्ने र जीवनको गुणस्तर घटाउने विषय धेरै अध्ययनले उजागर गरिसकेका छन् । मानिसको डीएनए यसरी निर्माण भएको हुन्छ कि त्यसलाई सही मात्रामा नियमित प्रकाश र अध्यारो दुवैको आवश्यक पर्दछ ।
तर यो प्राकृतिक प्रकाश र अध्यारोको प्रणालीलाई कृत्रिम प्रकाशले विथोल्छ र मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ । यसले क्यान्सर, मुटु रोग, मनोरोग र अनिद्रा जस्ता समस्याहरू निम्त्याउन सक्छ ।
यस्तै बत्तीहरूले जनावर र कीराहरूलाई आकर्षित गर्न वा पर भगाउन सक्छ । धेरै जसो जीवहरूको जीवनचक्र प्रकाशमा निर्भर हुन्छ, जसलाई प्रकाश प्रदूषणले विगार्छ । नियमित रुपमा प्राकृतिक उज्यालो र अध्यारो बिग्रिँदा जनावर तथा किराहरूको प्रजाति नै खतरामा पर्न सक्छन् ।
वातावरणबाट परावर्तित प्रकाशले प्राकृतिक परावैजनी किरणलाई पृथ्वीमा आउनबाट रोक्छ । यसले हाम्रो खाना, हावा र पानी आपूर्तिमा निर्भर हुने वृद्धि र क्षय चक्रमा बाधा पुर्याउँछ ।
प्रकाश प्रदूषणको प्रभाव ती क्षेत्रहरूमा गम्भीर रूपमा पर्छ, जहाँ मानिसहरू पुगेका छैनन् । यी क्षेत्रहरूमा जनावरहरूले उनीहरूको प्राकृतिक वातावरणमा हुने परिवर्तनहरूमा धेरै संवेदनशील रूपमा प्रतिक्रिया गर्न सक्छन् । तिनीहरू कम प्रकाश प्रदूषण भएका अन्य ठाउँहरूमा जान सक्छन्, वा नचाहिने प्रजातिहरू मानव क्षेत्रहरूमा आकर्षित हुनसक्छ ।
यो प्रदूषणले पृथ्वी र पारिस्थितिक प्रणालीमा पनि असर गरेको छ । पृथ्वीको पारिस्थितिक प्रणाली प्राकृतिक प्रकाशको चक्रमा निर्भर छ । यी पारिस्थितिकी तत्त्वहरू सामान्यतया आफ्नो वातावरणमा हुने परिवर्तनहरूप्रति धेरै संवेदनशील हुने भएकाले मानव निर्मित प्रकाश प्रदूषणबाट विकसित नयाँ कृत्रिम अवस्थाहरूमा अनुकूलन गर्न नसक्ने हुन सक्छन् ।
वातावरणबाट परावर्तित प्रकाशले प्राकृतिक परावैजनी किरणलाई पृथ्वीमा आउनबाट रोक्छ । यसले हाम्रो खाना, हावा र पानी आपूर्तिमा निर्भर हुने वृद्धि र क्षय चक्रमा बाधा पुर्याउँछ ।
मानिसहरू सामान्यतया अँध्यारो वातावरणमा सुत्न रुचाउँछन् र हाम्रो शारीरिक र हाम्रो मानसिक स्वास्थ्यको लागि पर्याप्त निद्रा महत्त्वपूर्ण छ । धेरै मानिसहरू सुतिरहेको बेला प्रकाशबाट विचलित हुँदा असहज महसुस गर्छन् । उज्यालो अवस्थामा मानिसहरू निद्राको समस्याबाट ग्रस्त हुन सक्छन्, जसले गम्भीर स्वास्थ्य अवस्था निम्त्याउन सक्छ ।
धेरै प्रकाश वा प्रकाश प्रदूषणको कारण गलत कोणले पनि ट्राफिकमा प्रतिकूल प्रभाव पार्न सक्छ । किन कि यसले मानिसमा अस्थायी अन्धोपन निम्त्याउन सक्छ । सवारी चलाउँदा यो खतरनाक हुन सक्छ । कतिपय सडकमा अत्याधिक बत्तीको प्रयोगबाट चालकको दृष्टिमा प्रतिकूल असर परेको खण्डमा दुर्घटनाको सम्भावना बढ्न सक्छ ।
प्रकाश प्रदूषणले मानिसहरूको लागि खतरा पनि बढाउँछ । किनकि यसले रेल, विमान र अटोमोबाइलहरूको लागि महत्त्वपूर्ण नेभिगेसन प्रणालीमा हस्तक्षेप गर्न सक्छ ।
प्रकाश प्रदूषणले वायु प्रदूषणलाई समेत बढाउँछ । रातमा प्रकाशको लागि ठूलो मात्रामा बिजुली प्रयोग गरिन्छ । यसले उच्च स्तरको कार्बन उत्सर्जन र अन्य हानिकारक ग्यासहरू निम्त्याउँछ, जसले हामी बाँच्ने वायुलाई प्रदूषित तुल्याउन सघाउँछ । –एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस