काठमाडौंको हावा विश्वकै प्रदूषित मध्येको तेस्रोमा, के पर्छ असर ?

काठमाडौं – नेपालका संघीय राजधानी समेत रहेको काठमाडौं विश्वको प्रदूषित सहरको अग्रणी सूचीमा पुगेको छ ।

वायु प्रदूषण मापक आईक्यू एअरका अनुसार सोमबार काठमाडौं विश्वका प्रदूषित सहरको सूचीमा तेस्रो स्थानमा रह्यो ।

आईक्युएयरका अनुसार काठमाडौंको वायु प्रदुषण स्तर सोमबार १७६ एक्युआई यूएस रहेको छ । आइतबार यो मात्रा १९१ एक्युआई यूएस थियो ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार यस्तो सूचक १५० भन्दा माथि जानु स्वास्थ्यका लागि हानीकारक हो ।

यो सूचीको पहिलो स्थानमा सोमबार भारतको दिल्ली छ भने थाइल्याण्डको चियाङ माइ दोस्रो स्थानमा छ ।

केही दिनयता काठमाडौँ उपत्यकासहित नेपालको वायुमण्डल तुवाँलोले भरिएको छ । विभिन्न स्थानका जंगलमा लागेको वन डढेलो र वर्षा नभएका कारण वायुमण्डलमा धुलाका कणहरु जम्मा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अस्वस्थकर वायु हुँदा घरभित्रै बस्न र बाहिर निस्किनै परे मास्क, चस्मा र पूरै शरीर ढाकिने कपडा लगाउनुपर्ने जनस्वास्थ्यविदहरु सुझाव दिन्छन् । जनस्वास्थ्यविद् कमल रानाभाट अहिले काठमाडौंको हावा अस्वस्थकर अवस्थामा रहेको बताउँदै सुरक्षाका उपाय अपनाउन सुझाव दिन्छन् ।

उनी भन्छन्, ‘वायु अस्वस्थ हुँदा आँखा, फोक्सो र छालामा असर पर्दछ । स्वासप्रश्वासका विरामी र बालबालिकाहरु जोखिममा पर्दछन् । त्यसैले त्यसबाट जोगिन सकेसम्म घरभित्रै बस्ने, घर बाहिर निस्किनै परे मास्क प्रयोग गर्ने, चस्मा लगाउने र पूरै शरीर ढाकिने कपडा लगाउनु राम्रो हुन्छ ।’

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics