रोकिएन डढेलो, प्रदूषणले भरिँदै काठमाडौंको उपत्यका

विगत ४८ घण्टामा नेपालका विभिन्न ठाउँमा लागेको डढेलोबारे नासाको MODIS 1km मा उपलब्ध तथ्याङ्क ।

काठमाडौं – यो वर्ष पनि नेपालका वनजंगलमा डढेलो सल्किन थालेपछि वायु प्रदूषणको स्थिति खराब अवस्थामा पुग्न सुरु भएको छ ।

वायु प्रदूषण मापक आईक्यू एअरको रिपोर्ट अनुसार आइतबारबाट नेपालको राजधानी काठमाडौं उपत्यका विश्वका प्रदूषित सहरको सूचीमा मुख्य तीन भित्र परिरहेको छ । यसको असर मानव स्वास्थ्यमा देखिँदैछ । अस्पतालमा चाप बढ्दैछ ।

आईक्युएयरका अनुसार काठमाडौंको वायु प्रदुषण स्तर सोमबार १७६ एक्युआई यूएस छ । आइतबार यो मात्रा १९१ एक्युआई यूएस थियो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार यस्तो सूचक १५० भन्दा माथि जानु स्वास्थ्यका लागि हानीकारक हो ।

हिउँदमा नेपालमा वायु प्रदूषण निकै खराब स्थितिमा ओर्लिन्छ । सवारीसाधनले उत्सर्जन गर्ने प्रदूषणका अतिरिक्त इँटाभट्टा र उद्योगको प्रदूषणमा हावाले भारतबाट समेत प्रदूषण सोहरेर ल्याएपछि श्वासै फेर्न मुस्किल पर्ने स्थिति निम्तिन्छ ।

यस वर्ष गर्मी शुरू हुनु अगावै देशभरिका वनजंगलमा डढेलो सल्किन थालिसकेको छ । हिउँदमा पानी नपरेका कारण यस वर्ष वनजंगल सुक्खा भएर बसेका कारण डढेलो बढी लागेको हो । दुई साताअघि परेको पानीले निभाए पनि गर्मी चढेसँगै डढेलो फेरि बढ्न थालेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत तीन दिनमा नेपालका २०७ स्थानमा डढेलो लागेको छ ।

अमेरिकी अन्तरिक्ष संस्था नासाको नक्शाले भने पछिल्ला दिनमा देशका सयौं स्थानमा डढेलो र खुला आगो बालिएको देखाएको छ । पानी नपरेमा डढेलो अझै बढेर जाने अनुमान छ । वनजंगल सल्किएर निस्किएको धूवाँ वायुमा मिसिएपछि प्रदूषणको स्थिति चिन्ताजनक स्थितिमा पुग्छ ।

रविन भट्टराई

प्रतिक्रिया दिनुहोस

web
analytics