३८ वर्षदेखि आफ्नै वासस्थानमा ढुक्कले बस्न पाएका छैनन् गैंडा

३८ वर्षमा १०९ गैंडा स्थानान्तरण, उपलब्धि के ?

काठमाडौं – प्रकृति सबैको घर हो । यहाँ आफू अनुकुलको वातावरणमा आफूलाई हुर्काएका हुन्छन् । जीवन अड्याएका हुन्छन् । मानिस, वन्यजन्तु वा रूख विरुवा पायक पर्ने ठाउँमै रहन्छन्, उम्रन्छन् । हिमालको गुराँस तराइमा पाइँदैन, अनि तराइको धान हिमालमा फल्दैन । यस्तै हिमालमा रमाउने जनावर पहाड वा तराइमा टिक्न सक्दैनन् । उनीहरूलाई आफ्नै स्थान चाहिन्छ । स्थान परिवर्तन गरे त्यो वातावरणमा रमाउन हम्मे हम्मे नै पर्छ । ज्यानै जान पनि सक्छ ।

तर, पछिल्लो समय विज्ञहरूले अनुसन्धान र अध्ययन गरेर वन्यजन्तुलाई त्यस्तै वातावरणमा स्थानान्तरण गर्ने क्रम बढ्दो छ । यसको उदाहरण चितवनबाट विभिन्न स्थानमा गैंडालाई सार्नु पनि हो । अन्य वन्यजन्तुलाई पनि यसरी स्थानान्तरण गर्ने क्रम लामो समयदेखि चलिरहेको छ । यो क्रम केही सफल भए पनि अधिकांश असफल भएका उदाहरण धेरै छन् । तर, यो क्रम रोकिएको छैन ।

गैंडा स्थानान्तरणको इतिहास हेर्दा सन् १९८६ देखि २०२३ सम्म चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोसीटप्पु वन्यजन्तु आरक्षमा गरी एक सय दुई वटा गैँडा स्थानान्तरण गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांकले देखाउँछ । गैंडाको वैकल्पिक संख्या तयार गर्ने उद्देश्यले नै यो गरिएको विभागको दाबी छ । यो महिना मात्रै थप ७ वटा गैंडालाई स्थानान्तरण गरिएको छ ।

तर, हालैमात्र थप एक भाले गैँडा कोसीटप्पु आरक्षमा स्थानान्तरण गरिए पनि चोट लागेर घाउ भएपछि केही दिनमै उपचारका लागि पुनःचितवनमा फिर्ता ल्याउनुपरेको थियो । चितवनको कसरामा रहेको उक्त गैँडा उपचारपछि पुनःकोसीटप्पुमा लगिने विभागको भनाई छ ।

एकसिङ्गे गैँडा नेपालमा सन् २०२२ को राष्ट्रिय गैँडा गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४, बर्दिया राष्ट्रिय निकुञ्ज ३८, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा तीन गरी सात सय ५२ वटा रहेका विभागले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज विश्वमै दुर्लभ एकसिङ्गे गैँडाको बासस्थानका लागि उर्वर क्षेत्र मानिन्छ । ९५२.६३ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस निकुञ्जमा हाल छ सय ९४ वटा गैँडा छन् ।

विश्वमा भने एकसिङ्गे गैंडाको संख्या ४ हजार छ । भारतीय महाद्वीपको उत्तरी क्षेत्रअन्तर्गत बह्मपुत्र, इन्दुस र गङ्गा नदीको बहाव क्षेत्रमा विचरण गर्ने एकसिङ्गे गैँडा हाल नेपालको तराई भूपरिधि क्षेत्र तथा भारतको संरक्षित क्षेत्रमा सीमित हुन पुगेका छन् ।

एकसिङ्गे गैँडा नेपालमा सन् २०२२ को राष्ट्रिय गैँडा गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४, बर्दिया राष्ट्रिय निकुञ्ज ३८, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा तीन गरी सात सय ५२ वटा रहेका विभागले जनाएको छ ।

नेपालले पहिलो पटक सन् १९८५ मा भारतको दुदुवा नेशनल पार्कलाई चार गैँडा उपहारस्वरुप प्रदान गरेको थियो । त्यसपछि सन् २०१८ सम्म संयुक्त राज्य अमेरिका, जर्मनी, सिङ्गापुर, बङ्गलादेश, संयुक्त अधिराज्य, जापान, अष्ट्रिया र चीनलाई विभिन्न मितिमा २२ गैँडा उपहारस्वरुप प्रदान गरिसकेको विभागको तथ्यांकमा उल्लेख छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics