डढेलो निभाउँदा घाइते १ सैनिकको मृत्यु, ३ गम्भिर

डोल्पा - डोल्पाको सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणका क्रममा जलेर घाइते भएका एक सैनिकको मृत्यु भएको छ । जिल्ला अस्पताल डोल्पामा उपचारकै क्रममा जुम्ला घर भई हाल देवीदत्त गुल्म दुनैमा कार्यरत २८ वर्षीय हेमन्त रावतको मृत्यु भएको हो ।

डोल्पा अस्पतालमै उपचाररत अर्का सैनिकको अवस्था चिन्ताजनक रहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए । डढेलोमा परेर जलेका चार सैनिकमध्ये दुई जनालाई हेलिकोप्टरबाट थप उपचारका लागि नेपालगन्ज लगिएको छ । नेपालगन्जको सैनिक अस्पतालमा ती दुई सैनिकको उपचार भइरहेको छ ।

डोल्पाको सदरमुकाम दुनैनजिकै रहेको मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो अत्यधिक हावाहुरीका कारण नियन्त्रणभन्दा बाहिर गएको छ । आगो निभाउन गएका देवीदत्त गुल्म भदालेचौर दुनैमा कार्यरत ४ सैनिक जलेर घाइते भएका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics