रुसमा ‘अभूतपूर्व’ बाढीको चेतावनी, पीडित स्थानीय उत्रिए विरोधमा

मस्को - रुसले सोमबार आगामी ४८ घन्टामा ‘अभूतपूर्व’ बाढीको चेतावनी दिएको छ । बढ्दो पानीले आंशिकरूपमा डुबेको सहरमा स्थानीय बासिन्दाहरू सङ्कटको सामना गर्ने अधिकारीहरूको विरोधमा विरलैरूपमा सडकमा उत्रिएका छन् ।

तीव्ररूपमा पग्लिँदै गरेको बरफ र मुसलधारे वर्षाका कारण कजाकिस्तानसँग जोडिएको रुसी सीमा नजिकै मुख्य नदीहरू युराल र टोबोलमा पानीको सतह बढेको छ । अधिकारीहरूले बाढीको पानी आगामी ४८ घन्टामा खतरनाकरूपमा बढ्ने चेतावनी दिएका छन् ।

ओर्स्क सहरमा सोमबार दर्जनौँ प्रदर्शनकारीहरूले रुसी सरकारको कमजोर प्रतिक्रियाविरुद्ध असन्तुष्टिको दुर्लभ विरोध प्रदर्शन गरेका छन् । एउटा बाँध फुटेपछि साताको अन्त्यमा बाढीको पानीले उक्त सहर डुबेको थियो । स्थानीय सोसल मिडिया च्यानलहरूले पोस्ट गरेका भिडियोमा भीडले ‘लज्जाजनक’ र ‘पुटिन, सहयोग गर्नुहोस्’ भन्दै चिच्याएका थिए ।

यसअघि क्रेमलिनले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाढीग्रस्त क्षेत्रहरूको भ्रमण गर्ने कुनै योजना नभएको बताएको थियो । रुसमा कडा विरोधी कानूनअन्तर्गत सरकारविरुद्ध सार्वजनिक प्रदर्शन अवैध छ । ओर्स्कलाई समेटेको ओरेनबर्ग क्षेत्रीय अभियोजक कार्यालयले सोमबार बासिन्दाहरूलाई ‘अनधिकृत’ प्रदर्शनमा सहभागी भए उनीहरूले गिरफ्तारीको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।

प्रदर्शनकारीहरूले थप वित्तीय सहयोगको माग गरिरहेका थिए र उनीहरू सहरको सुरक्षाका लागि निर्माण गरिएको बाँध भत्किएकामा आक्रोशित थिए । सप्ताहन्तमा प्रकाशित क्षतिपूर्ति योजनामा क्षेत्रीय सरकारले बाढीले ‘पूर्णरूपमा नष्ट’ भएका घरेलु सामानहरूका लागि प्रतिव्यक्ति एक लाख रुबल (एक हजार एक सय अमेरिकी डलर) प्रदान गर्ने बताएको छ ।

सरकारी आरआइए नोभोस्ती समाचार समितिका अनुसार ओरेनबर्गका गभर्नरले सोमबार घरको नोक्सानीको पूर्ण क्षतिपूर्ति गर्ने बताउनुभएको छ । अहिलेसम्म सबैभन्दा धेरै प्रभावित सहर ओर्स्कमा ९९ जनाको उपचार गरिएको र नौ जनालाई अस्पतालमा भर्ना गरिएको स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै सरकारी सञ्चारमाध्यमले बताएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics