गुराँस वन फँडानी रोक्न माग

किमाथांका (संखुवासभा) – गुराँसको राजधानी भनिने तीनजुरे–मिल्के–जलजले क्षेत्रमा गुराँस वन फडानी रोक्न माग गरिएको छ । दुई वटा सामुदायिक वनमा डोजरले जथाभावी रुख ढलाइ रहेको भन्दै एक प्रतिनिधि मण्डलले जिल्ला प्रशासन कार्यालयमा ‘गुराँस वन फँडानी रोकी पाउँ’ भनि निवेदन दिएको हो ।

यही चैत २८ गते बुधबार तीनजुरे हात्तीसार सामुदायिक वनका उपभोक्ता सूर्जबहादुर तामाङ र लाल सिँ मोक्तानको प्रतिनिधि मण्डलले जिल्ला प्रशासन कार्यालय संखुवासभालाई पत्रलेखि त्यसको बोधार्थसमेत सरोकारवाला अन्य पाँचवटा निकायमा पठाएका छन् ।

कोशी करिडोर २२० केभी प्रशारण लाइन निर्माणका क्रममा सरोकारवाला सामुदायिक वनका उपभोक्तालाई बिनाकुनै जानकारी रुख काटेर गुराँस वन फँडानी गरेको भन्दै उपभोक्ताले आपत्ति जनाएका हुन् ।

जिल्ला प्रशासन कार्यालयले तीन दिनभित्र गुराँस वनको डोजर हटाउन र रुख कटान बन्द गराउन सामुदायिक वनका उपभोक्ताले माग गरेको निवेदनमा उल्लेख गरिएको छ । माग सुनुवाइ नभए सामुदायिक वनका उपभोक्ता कडा आन्दोलनमा जान बाध्य हुने निवेदनमा लेखिएको छ ।

कोशी करिडोरले बिजुली पोल जडानका लागि आर्थिक वर्ष २०७७-७८ मा छ सय २९ रुख कटान गर्ने सम्झौता गरेको र यसका लागि करिब रु १० लाख कटान खर्च उपलब्ध गराएको तीनजुरे हात्तीसार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डम्बरबहादुर बुढाथोकीले बताए ।

सम्झौता भएलगत्तै ६२९ रुख काटिएको भए पनि अहिले बिना सम्झौता हजारौँ रुख काटिएको उनको आरोप छ । यसैगरी पाथिभरा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डिकबहादुर बानियाँलेसमेत गुराँस वन फँडानी भइरहेको बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics