कर्णालीमा वनको आगोमा ‘जन’ पनि परे, एक सातामै ६ जनाको मृत्यु
- नेचर खबर
काँक्रेबिहार– कर्णालीमा दुई साताभित्र आगलागीका कारण मानवीय क्षति बढेको छ । डोल्पा र हुम्लामा सामुदायिक वनमा लागेको आगोले मानवीय क्षति भएको हो । डोल्पाको ठुलीभेरी नगरपालिका-४ को मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका तीन जना सैनिकको गत चैत २६ गते मृत्यु भएको थियो ।
त्यस्तै, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ मा पर्ने सुँ सामुदायिक वन समूहमा लागेको आगलागीमा परी तीन बालकको मृत्यु भएको छ । गत बिहीबार आगलागी घटनामा परेका तीनैजना बालकको उपचारको क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए ।
गाउँ नजिकै रहेको वनमा गुच्ची च्याउ टिप्न गएका तीनैजना बालक आगलागीमा परेर गम्भीर घाइते भएका थिए । उनीहरूलाई बचाउन सक्दो प्रयास गरे पनि नसकिएको वडा नं ४ का वडाध्यक्ष रञ्जित बुढाले बताए । एकै गाउँका तीन बालक आगलागीमा मृत्यु भएपछि सिङ्गो गाउँ शोकमा डुबेको छ । मृत्यु भएका मध्ये दुई बालक एकै घरका हुन् । त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालकहरुको उपचारका लागि हेलिकप्टरको व्यवस्था गरी काठमाडौँ पुर्याएको थियो ।
त्यसैगरी, हम्लाको दक्षिणी क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका-८ रादेउमा एकजनाको जलेर मृत्यु भएको छ । गाउँभन्दा दुई घण्टाको दूरीमा रहेको कुरिल्ला लेखमास्थित आफ्नै भेडीगोठमा आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको बिहीबार राति मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले आगलागीमा ऐडीको मृत्यु भएको बताए। राति ऐडीले तापिरहेको आगोको झिल्का हावाले उडाउँदा भेडीगोठमा आगो लागेको थियो । सोही आगोमा परी ऐडीको मृत्यु भएको चन्दले बताए ।
जलेर मृत्यु भएको जानकारी पाउनासाथ सर्किदेउ प्रहरी चौकीबाट आठ घण्टाको पैदल हिँडेर प्रहरी टोली राति घटनास्थल पुगेका थिए । भेडीगोठमा ६० वटा भेडा जलेर मरेका छन् । एक सय २० वटा भेडामध्ये ६० भेडा जलेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । मुगुको छायाँनाथ रारा नगरपालिकाभित्रका विभिन्न सामुदायिक वनमा आगलागी भएको छ ।
रुकुम पश्चिमका सामुदायिक वनहरुमा पनि आगलागी भएको छ । आगो निभाउने वैकल्पिक उपाय नहुँदा समस्या भएको छ । हुरीको मौसम भएकोले वनमा लागेको आगो निभाउन कठिनाइ हुने गरेको छ । - रासस
प्रतिक्रिया दिनुहोस