कुकुर पाल्न थाल्नु अघि मानिसले पाल्थे फ्याउरो

अनुसन्धानमा भेटियो दुर्लभ प्रमाण

काठमाडौं – प्राचीनकालमा हाम्रा पूर्वजहरूले घरमा कुकुर पाल्न थाल्नुभन्दा निकै अगाडि फ्याउरा पाल्ने गरेको प्रमाण भेटिएको वैज्ञानिकहरूले बताएका छन् ।

दक्षिण अमेरिकामा फेला परेका पुरातात्त्विक प्रमाणहरूले त्यहाँ प्राचीन समाजमा फ्याउरालाई निकै पवित्र मान्ने गरिएको र मृत्यु भएपछि मानिस र फ्याउरालाई नजिकै गाड्ने गरिएको देखाउँछन् ।

आर्जेन्टिनाको पाटागोनिआमा एउटा १,५०० वर्ष पुरानो चिहानमा एउटा फ्याउरो पनि गाडिएको फेला पर्दा वैज्ञानिकहरू आश्चर्यचकित भएका थिए ।

उक्त फ्याउरो मानिसको ‘प्यारो साथी’ वा आफूले पालेको जनावर भएकाले त्यसो गरिएको हुन सक्ने उनीहरूको अनुमान छ ।

डीएनए विश्लेषण गर्दा उक्त फ्याउरोले प्रागैतिहासिक सिकारीहरूसँगै आहारा खाने गरेको र उनीहरूको समूहमै बस्ने गरेको पत्ता लागेको थियो ।

एक दशकअघि आर्जेन्टिनाको अर्को भागमा फेला परेको अझ पुरानो चिहानमा सोही प्रजातिको फ्याउरोको कङ्काल फेला परेको थियो । त्यसलाई पनि मानिसले पालेको हुन सक्ने विज्ञ बताउँछन् । यद्यपि त्यसको आहाराको विश्लेषण गरिएको थिएन ।

‘खानेकुराको लागि सिकार र सङ्ग्रह गर्ने मानिसहरूको समाजसँग यो फ्याउरोको निकट सम्बन्ध भएको देखिने यो निकै दुर्लभ प्रमाण हो,’ यूनिभर्सटी अफ अक्सफर्डकी डा ओफेली लेब्रासरले भनिन्, ‘मलाई यो साङ्केतिक कुरा मात्र हो जस्तो लाग्दैन । मलाई यो मित्रता नै हो जस्तो लाग्छ ।’

उक्त फ्याउरोको अवशेष आर्जेन्टिनाको कन्याडा सेकास्थित एउटा चिहानमा भेटिएको हो । उक्त स्थानमा सिकार र सङ्ग्रह गरेर आहारा जुटाउने मानिसहरूको बसोबास थियो । उनीहरू खेतीपाती गर्दैनथे ।

आर्जेन्टिना र पेरुका विभिन्न ठाउँमा मानिसका प्राचीन समाधिस्थलहरूमा जङ्गली फ्याउराका दाँत भेटिने गरेको छ । त्यसले ती मानिसका लागि उक्त जीवको साङ्केतिक महत्त्व रहेको देखाउँछ । यद्यपि फ्याउराको लगभग सग्लो कङ्काल मानिसको चिहानमा भेटिनु पुरातत्त्वको क्षेत्रमा निकै दुर्लभ घटना हो ।

‘डुसिक्योन एभस’ प्रजातिको उक्त फ्याउरो मध्यम आकारको र १०–१५ केजी तौलको थियो । तर पाटागोनिआमा घरपालुवा कुकुर आइपुगेको केही सय वर्षपछि अर्थात् आजभन्दा झन्डै ५०० वर्षअघि उक्त प्रजाति मासियो ।

यससम्बन्धी अनुसन्धान आर्जेन्टिनाको ‘इन्स्टिट्यूट अफ एभलूशन’मा कार्यरत डा सिन्थिया अबोनासँगको सहकार्यमा भएको थियो । - एजेन्सीको सहयोगमा

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics