गोरखामा डिभिजन वन कार्यालयको सक्रियता, अतिक्रमित जग्गा धमाधम फिर्ता ल्याउँदै

काठमाडौं – गोरखाका विभिन्न स्थानमा वन क्षेत्र अतिक्रमण गर्ने क्रम बढेकाले यसलाई रोक्न र अतिक्रमण भएकालाई फिर्ता ल्याउन डिभिजन वन कार्यालय गोरखाले सक्रियता बढाएको छ ।

यसै अनुरुप पछिल्लो समय वन क्षेत्रको करिब आठ हेक्टर अतिक्रमित जग्गा फिर्ता ल्याएको कार्यालयका सूचना अधिकारी महेश पौडेलले जानकारी दिए । उनका अनुसार विभिन्न पालिकास्थित सामुदायिक वनका अतिक्रमित जग्गालाई फिर्ता ल्याएर राष्ट्रिय वन कायम गरिएको छ ।

यसमध्ये गण्डकी गाउँपालिका – ८ स्थित चित्रादेवी सामुदायिक वनको ३.५ हेक्टर क्षेत्रफल अतिक्रमण भएको थियो, भने गोरखा नगरपालिका – ९ को लक्ष्मी महिला सामुदायिक वनको १.६३ हेक्टर, १० को बिरेन्चोक सामुदायिक वनको ०.५ हेक्टर र वडा नम्वर ११ को भगेरीथान महिला सामुदायिक वनको ०.५ हेक्टर अतिक्रमित भएको थियो । ती सबै जग्गा फिर्ता ल्याइएको पौडेलले बताए ।

यसैबिच पालुङटार नगरपालिका–६ भोर्ले तारेभिर सामुदायिक वनको जग्गा अतिक्रमण गर्ने सोही स्थानका बुद्धिमान तामाङलाई कार्यालयले मुद्दासमेत चलाएको छ । उनले ०.२५ हेक्टर वनको जग्गा आफ्नो हो भन्दै खेतीपाती गर्दै आएका थिए । उनको मुद्दा गोरखा अदालतमा विचाराधीन छ । मुद्दा फैसलापछि अतिक्रमण भएको उक्त जग्गालाई वृक्षारोपण गरी पुनर्स्थापना गरिने वन कार्यालयले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics