उपहार दिने भनिएका २ हात्ती तत्काल कतार नजाने, के ले रोक्यो हात्ती ?

साइटिसबाट आएन अनुमती, बेक्ने जहाजको छैन टुंगो

काठमाडौं – कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको मंगलबारबाट सुरु भएको नेपाल भ्रमणका क्रममा नेपाल सरकारले चितवन राष्ट्रिय निकुञ्जका दुईवटा हात्ती उपहार स्वरूप दिने निर्णय गर्‍यो ।

हात्ती छानेर तयार पनि पारियो । कतारमा बाँकी जीवन बिताउने भाग्य बोकेका हात्ती हुन् साढे ५ वर्षकी रूद्रकली र साढे ४ वर्षको खगेन्द्रप्रसाद । उनीहरू चितवनमा तालिम लिएर हुर्कँदै छन् । उमेरले दुबै ५ वर्षको हाराहारी पुगे र, दुवै ज्ञानी पनि छन् । भनेको मान्छन् । त्यहाँ पुग्ने पर्यटकलाई माउतेको इसारामा माला लगाईदिन्छन् र सुँड शिरमा राखेर आशिर्वाद पनि दिन्छन् ।

यस्ता ज्ञानी हात्तीका बच्चा (छावा) सरकारले कतारलाई दिने निर्णय गरेसँगै अब ती हात्ती कसरी र कहिले लैजाने भन्ने विषयमा चर्चा छ । यसको कानुनी पाटो र लैजाने मार्गका विषयमा धेरैको जिज्ञासा छ ।

हात्ती लैजाने कानुनि प्रकृया के ?
नेपालले विगतमा पनि विभिन्न देशहरूलाई वन्यजन्तु तथा अखेटोपहारहरू उपहार दिने गथ्र्याे । तर, हात्ती उपहार दिन लागेको भने यो नै पहिलो पटक हो ।

यसरी हात्ती दिने सरकारले निर्णय गरेर हात्तीको छनोट गरिए पनि नेपालबाट २ वटा हात्ती कतार पठाउन त्यति सजिलो छैन कानुनी र मार्गका हिसाबमा पनि । मन्त्रिपरिषद् ले निर्णय गरे पनि अन्य आवश्यक प्रकृयाहरू पुरा नभएका कारण अहिले नै हात्ती उपहार दिने र लिने सम्झौता हुने सम्भावना भने कम रहेको सरकारी अधिकारी नै बताउँछन् ।

हात्ती विश्वमानै दुर्लभ वन्य जन्तुमा पर्छ । यो संरक्षित वन्यजन्तु हो । त्यसैले दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) को अनुसूचीमा यो सूचीकृत छ ।

दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार नियन्त्रण र नियमन गर्न तयार पारिएको अन्तर्राष्ट्रिय महासन्धिमा नेपालले हस्ताक्षर गरेकाले अब यसरी हात्तीलाई सरकारले निर्णय गर्नसाथ पठाउन मिल्दैन । नेपालबाट कतार लैजान साइटिस सचिवालयको स्वीकृति चाहिन्छ । र, यो प्रकृया चाँडै र सहज पनि छैन ।

वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बद्रिराज ढुंगानाका अनुसार सरकारको निर्णय बमोजिमका हात्ती कतार पठाउन हाल सम्म साइटिस सचिवालयले स्वीकृति दिइसकेको छैन । त्यसैले यी हात्तीले चाँडै नै कतार यात्रा गर्ने सम्भावना छैन ।

प्रवक्ता ढुंगानाका अनुसार कतारले नेपालसँग धेरै अघिबाट हात्ती मागेको थियो । कतारको चाहना हात्ती भएकाले यसपटकको उच्च भ्रमणमा कतारलाई खुसी पार्न सरकारले हात्ती दिने निर्णय नै ग¥यो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कतारको सम्बन्धित निकायसँग ‘एमओयू’ गर्ने भनेर ड्राफ्ट तयार पार्दै परराष्ट्र मन्त्रालयमा पठायो । तर, कतारको साइटिस व्यवस्थापन निकायले साइटिस सचिवालयबाट स्वीकृति लिइनसकेकाले तत्काल ‘एमओयू’ हुने संभावना नरहेको नेपाललाई जानकारी दिएको छ ।

कसरी लगिन्छ कतार हात्ती ?
सबै कानुनी प्रकृया पुरा भए हात्ती लैजाने मार्ग भनेकै हवाई मार्ग हो । हात्तीलाई जहाजले उडाएरै लैजाने हो । हात्तीलाई चितवनदेखि काठमाडौं हुँदै कतारसम्म पु¥याउन कन्टेनर तयार पार्नुप¥यो । त्यसैले नेपाल सरकारले ठूलो हात्ती नभई सानु छावा रोज्यो । तर, ती दुई छावा पनि अहिले कतारबाट नेपाल आउने जहाजमा अटाउने सम्भावना छैन । यसका लागि कतारसँग कुरा हुनै बाँकी रहेको सरकारी अधिकारी बताउँछन् ।

हात्ती लैजाने जहाजको टुंगो र कानुनी प्रकृया पुरा नभए पनि कतारमा हात्ती राख्ने स्थानको वातावरण अध्ययन भने सरकारी अधिकारीले गरिसकेका छन् । हात्ती कतार नउडे पनि उनीहरू कतार उडेर नेपाल आइसकेका छन् ।

प्रवक्ता ढुंगानाका अनुसार हात्ती लगेर राख्ने ठाउँको अवस्थाका विषयमा चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सकसहितको टोली त्यहाँ पुगेर अध्ययन गरेको थियो ।

यी धेरै प्रकृया बाँकी रहेकाले कतारका राजा नेपालमा भएका समयमा जारी हुने प्रेस नोटमा हात्ती दिने कुरा समावेश हुने सम्भावना भए पनि हात्ती पठाउन समय लाग्ने देखिन्छ ।

कस्ता हात्ती हुन् रूद्रकली र खगेन्द्रप्रसाद ?
रूद्रकली पोथी हात्ती हो भने खगेन्द्रप्रसाद भाले । रूद्रकलीलाई पूजाकलीले निकुञ्जको कछुवानी पोष्ट्मा जन्माएको हो । आमा पूजाकलीको केही वर्ष पहिले मृत्यु भयो त्यसपछि टुहुरी रूद्रकलीलाई माउतेको सहारामा तालिम दिएर हुर्काइएको छ ।

खगेन्द्रप्रसाद भने खगेन्द्रमल्ली पोष्टमा कोशीकलीले जन्मिएको छावा हो । यो हात्ती प्रजनन् केन्द्रमा हुर्किरहेको छ । दुवै हात्ती बाबु भने ‘रोनाल्डो’ हो । रोनाल्डो चितवन राष्ट्रिय निकुञ्जभित्र बस्ने जंगली हात्ती हो । यसले बेला मौका स्थानीयलाई दुःख दिँदै आएको थियो । ठूलो र बलियो रोनाल्डो हात्ती प्रजनन् केन्द्रमा हरेक दिनजसो आइरहने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत गणेशप्रसाद तिवारी बताउँछन् ।

कतारलाई दिइने निर्णय भएपछि कतारका राजदूत पनि हात्ती हेर्न त्यहाँ पुगेका थिए । अब हात्तीलाई पठाउँदा हात्तीसँगै माउते, फनेत र पछुवा पनि पठाउने तयारी सरकारले गरेको छ । हात्ती कतारको चिडियाखानामा राखिन्छ । त्यहाँ पुगेका चिकित्सक र सरकारी अधिकारीले सो चिडियाखाना हात्तीका लागि उपयुक्त भएको बताएका छन् ।

कस्तो छ कतारमा हात्ती राख्ने चिडियाखाना ?
कतार सरकारले नेपालबाट लैजाने दुईवटा हात्ती राख्ने चिडियाखानालाई व्यवस्थित बनाएको छ । त्यहाँ हात्तीका लागि आवश्यक पर्ने तापक्रम र हावा पानी पनि मिलाइएको त्यहाँ पुगेर चिडियाखानाको निरिक्षण पछि फकिएएका निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजयकुमार श्रेष्ठ बताउँछन् ।

उनका अनुसार त्यहाँ हात्तीलाई पौडने र खेल्ने पानीसहितको पोखरी बनाइएको छ भने ठूलो क्षेत्रमा चिडियाखानालाई फैलाइएको छ । चिडियाखानालाई वातानुकूल बनाउन एसीको व्यवस्था गरिएको श्रेष्ठ बताउँछन् । अन्य धेरै वन्यजन्तु पनि त्यहाँ राम्रोसँग राखिएको र तीनिहरूको स्वास्थ्य र आहारमा पनि कतारले धेरै ख्याल गर्ने भएकाले नेपालले चिन्ता लिनुपर्ने अवस्था नरहेको उनको तर्क छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics