राष्ट्रपति पौडेल र कतारका अमिरबीचको भेटमा हिमाल जोगाउने चिन्ता

काठमाडौ – राष्ट्रपति रामचन्द्र पौडेल र नेपालको दुईदिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी बिच जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्न र हिमाललाई कसरी जोगाउन सकिन्छ भन्ने विषयमा छलफल भएको छ ।

मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटवार्ता पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्नेजस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि राष्ट्रपति पौडेलले कतारलाई आग्रह गरेका हुन् ।

‘आजको विश्वको साझा समस्या भनेकै जलवायु परिवर्तनबाट हाम्रो पृथ्वीलाई कसरी सुरक्षित राख्ने, हाम्रो हिमाललाई कसरी जोगाउने, पानीको स्रोत कसरी बचाउने र वातावरण सन्तुलन कसरी राख्ने भन्ने नै हो, यसमा सबैको सहकार्य हुन जरुरी छ, यो मानव अस्तित्वको विषय छ, विशेष गरी विकसित मुलुकहरू यस विषयमा बढी गम्भीर हुनुपर्छ भन्ने म ठान्दछु,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार राष्ट्रपति पौडेलले मध्यपूर्वी क्षेत्रमा देखिएको द्वन्द्वको वातावरणले हामीलाई चिन्तित तुल्याएको पनि बताएका थिए । राष्ट्रपति पौडेलले यस क्षेत्रमा युद्धको अन्त्य र शान्तिको पुनःस्थापनाको कामना गर्दै कतारले शान्ति स्थापनाको लागि खेल्दै आएको भूमिकाको प्रशंसा गरेका थिए ।

त्यस्तै कतारका अमिर अल थानीले जलवायु परिवर्तनको असरले विश्व नै समस्यामा परेको र यसको न्यूनीकरणसम्बन्धी सम्झौताहरूको सबै मिलेर पालना गरे राम्रो परिणाम आउने र सबैका लागि सुखद् वातावरण तयार हुने बताए । उनले नेपालसँग अझ राम्रो सम्बन्ध स्थापित गरेर सहयोगका थप क्षेत्रहरू पहिचानका लागि यो भ्रमण उपलब्धीमूलक हुने विश्वास व्यक्त गरेका थिए । अमिर अल थानीले कतारको विकासमा नेपालीहरूको ठूलो योगदान रहेकोमा त्यसको प्रशंसा गर्दै आभार प्रकट गरेका थिए ।

उनले दुई देशबीच बुधबार हुने समझदारी तथा सम्झौता नेपालमा रहेका जलस्रोत, कृषि, पर्यटनजस्ता क्षेत्रहरूमा लगानीको नयाँ सम्भावना बढाउन सकिने विश्वास व्यक्त गरेका थिए ।

त्यस्तै नेपाल र कतारबीच सदैव सुमधुर सम्बन्ध रहिआएको बताउँदै राष्ट्रपति पौडेलले हाम्रा सम्बन्ध मित्रता, आपसी सम्मान, विश्वास र सद्भावमा आधारित रहेको स्पष्ट गरेका थिए ।

दुई मुलुकबीच नियमितरूपमा उच्चस्तरीय भ्रमणहरूको आदानप्रदान हुने परम्परा रहिआएको र यसबाट द्विपक्षीय सम्बन्धको विस्तारमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस ऐतिहासिक भ्रमणले नेपाल र कतारको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको बताएका थिए ।

राष्ट्रपति पौडेलले राजनीतिक रूपान्तरणका मुद्दाहरू टुङ्गोमा पुगेसँगै नेपाल अब आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि बढेको उल्लेख गर्दै विकास र समृद्धि हासिल गर्ने नेपालको प्रयासहरूमा कतारको सहयोग निरन्तर रहने विश्वास पनि व्यक्त गरेका थिए ।

दुई मुलुकबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहकार्यको राम्रो सम्भावना रहेको सन्दर्भमा यी क्षेत्रहरुमा हाम्रो सहयोग एवं सहकार्य भविष्यमा थप घनिभूत हुने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरेका थिए । कतार नेपाली कामदारहरूको लागि वैदेशिक रोजगारीको एक प्रमुख एवं आकर्षक गन्तव्य मुलुक रहँदै आएको र आधुनिक कतारको विकासमा नेपाली कामदारहरूले पनि उल्लेखनीय योगदान गरेको स्मरण गराएका थिए ।

राष्ट्रपति पौडेलले अमिरको दूरदर्शी नेतृत्वमा कतारले गरेको दिगो विकास र समृद्धि देखेर धेरै खुसी लागेको बताउँदै मुलुकलाई एक उच्च विकसित राष्ट्र बनाउने अमिरको दीर्घकालीन सोच र दृढ अठोटको प्रशंसा गरेका थिए । भेटवार्तापछि अमिर अल थानीले राष्ट्रपति कार्यालयमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics