थाहा छ ? गर्मीमा बढी हुन्छ विद्रोह र अपराध

काठमाडौं – पछिल्ला दिन नेपालमा अत्याधिक गर्मी बढ्दैछ । यसबाट सबैभन्दा बढी तराईका नागरिक प्रभावित छन् । तातो हावा चलिरहेको छ भने, ताप बढ्दा आगलागीका घटना पनि बढ्दैछन् । गर्मीको असर हरेक क्षेत्रमा देखिँदैछ । मानिसको स्वास्थ्यमा पनि असर उच्च छ ।

गर्मीले हरेक क्षेत्रमा प्रभाव पार्दा यसको नकरात्मक असर मानिसको दिमाखमा पनि पर्ने विज्ञ बताउँछन् । अझै रोचक कुरा त के छ भने गर्मीमा नै हत्या, बलात्कार, हतियारसहित डकैती र आक्रमणका घटना पनि उच्च हुने एक अनुसन्धानले देखाएको छ ।

एउटा उदाहरण पढौं
सन् १९८८ को जुलाई महिना थियो । अमेरिकामा उच्च गर्मी थियो । सहरका बासिन्दाहरूको घुइँचो समुद्री तटमा थियो भने वातानुकूलित उपकरणको अत्यधिक प्रयोगले बिजुलीको खपत अत्यधिक उच्च थियो ।

कैयौँ द्रुतमार्गहरूमा धेरै तातेका गाडीहरू बिग्रिएर रोकिएका थिए । बरफ खाई सक्नुभन्दा अघि नै पग्लिने गर्थ्यो । तर, त्यो प्रचण्ड गर्मीमा यी बाहेक अरू चिज पनि भइरहेको थियो । वास्तवमा सन् १९८८ को गर्मीले मात्रै होइन हिंसात्मक घटनाको पनि कीर्तिमान कायम भएको थियो ।

अभूतपूर्व संख्यामा हत्या, बलात्कार, हतियारसहित डकैती र आक्रमण भएका थिए । त्यो संख्या झन्डै १५ लाख ६० हजार रहेको थियो । शताब्दीऔँदेखि मानिसहरूले गर्मी मौसमले हाम्रो व्यवहारमा प्रभाव पार्ने आशङ्का गर्दै आएका थिए ।

गर्मीमा उच्च अपराध
सबैभन्दा प्रारम्भिक अध्ययन १९औँ शताब्दीको अन्त्यमा भएको थियो जुन अपराधको तथ्याङ्कसँग जोडिएको छ । त्यो विश्लेषणमा मानिसविरुद्धका कसुर गर्मी महिनामा बढ्ने र सम्पत्तिसम्बन्धी कसुर आम रूपमा जाडो महिनामा हुने देखिन्छ ।

त्यसयता थप प्रमाणहरू फेला पर्दै गइरहेका छन् । प्रत्येक वर्ष गर्मी बढ्दै जाँदा हामीमा परिवर्तन देखिन थाल्छ । कतिपय परिवर्तन साधारण किसिमका छन् । मानिसहरू जाममा पर्दा हर्न बजाउन थाल्छन्, प्रहरी सुव्यवस्था खलल गर्ने व्यवहार बढिरहेको महसुस गर्छ र हामी नचिनेका मानिसहरूलाई कम मद्दत गर्छौँ । तर अरू चिन्ताजनक किसिमका लक्षण पनि देखिन्छन् ।

सन् २०१८ को गर्मी
सन् २०१८ को विश्वव्यापी गर्मीले आर्टीक क्षेत्रमा भोकमरी र अस्वाभाविक सङ्ख्यामा डढेलो निम्त्यायो । हरिणको एउटा प्रजाति फिनल्यान्डको समुद्री तटमा आइपुग्यो भने स्विडेनको एउटा पहाडको उचाइ नै घट्न पुग्यो ।

यूकेमा आपत्कालीन ९९९ नम्बरमा कीर्तिमानी सङ्ख्यामा फोन आयो र एक प्रहरीले मानिसहरूले आश्चर्यजनक व्यवहार देखाएको बताए । कतिपय क्षेत्रमा त्यस्तो टेलिफोन ४० प्रतिशतले बढेको थियो । यी सब अनुभवमा आधारित भए पनि कतिपय प्राज्ञिक अनुसन्धानले पनि वृहत् किसिमको अन्तरसम्बन्ध देखाएको छ ।

गर्मीसँगै हत्याको सङ्ख्यामा वृद्धि
सन् २०१० को एप्रिलदेखि २०१८ को बीचमा २० डिग्री सेल्सियस तापक्रम हुँदा १० डिग्री सेल्सियस तापक्रमको तुलनामा १४ प्रतिशत बढी हिंसात्मक अपराध भएको पाइएको छ । मेक्सिकोमा गर्मीमा बढी सङ्गठित अपराध भएको पाइएको छ र कतिपय अनुसन्धानकर्ताहरूले त्यो मौसमले नै ’हिंसाको स्वाद दिएको हुनसक्ने’ टिप्पणी गरेका छन् ।

दक्षिण अफ्रिकामा प्रत्येक एक डिग्री तापक्रम बढ्दा हत्याको सङ्ख्यामा १.५ प्रतिशतले वृद्धि हुने वैज्ञानिकहरूले पत्ता लगाएका छन् । ग्रीसमा एउटा अध्ययनले एउटा क्षेत्रमा भएका १३७ हत्यामध्ये ३० प्रतिशतभन्दा बढी औसत तापक्रम २५ डिग्री सेल्सियसभन्दा माथि भएका दिनमा गरिएका फेला पारेको छ । यस्तै घटनाक्रम ताइवान, अमेरिका, फिनल्यान्ड र स्पेनमा पनि देखा परेका छन् ।

विद्रोह
सन् १७९१ देखि १८८० सम्म भएका एउटा अध्ययनले अधिकांश विद्रोहका घटना गर्मी महिनामा भएको फेला पारेको छ । पृथ्वीको जुन कुनाबाट हेर्दा पनि त्यस्तै पाइएको थियो । उदाहरणका लागि युरोपमा जुलाई महिनामा विद्रोह हुने बढी सम्भावना देखिएका थिए भने दक्षिण अमेरिकामा ज्यानुअरीमा ।

हालैका अध्ययनहरूले सामाजिक आन्दोलन र मौसमको सम्बन्धलाई थप पुष्टि गरेको छ । ३६ वर्षमा भएका ७,००० घटनाक्रमको एउटा विश्लेषणले तापक्रम बढेको समयमा त्यो बढी हिंस्रक हुने सम्भावना देखाएको छ । अघिल्लो वर्ष नेदरल्याण्डले तथ्याङ्क राख्न थाले यताकै सर्वाधिक गर्मी हप्तामा दङ्गा भड्किएको थियो ।

त्यस बेला भवन जलाइएका थिए, प्रहरीमाथि विस्फोटक पदार्थ प्रहार गरिएका थिए र कम्तीमा २७ जनालाई पक्राउ गरिएको थियो ।

आत्महत्याको जोखिम
बाहिरको अवस्थाले आफैँलाई जोखिम पुर्याउने अवस्था बढेका पनि देखिएको छ । विभिन्न १२ वटा देशमा गरिएका १३ लाख २० हजारभन्दा बढी अध्ययनले आसपास उच्च तापक्रम हुँदा आत्महत्याको जोखिम बढेको पाइएको छ । यो दक्षिण अफ्रिका र पश्चिमा देशहरूमा प्रस्टै देखिएको थियो ।

सबैभन्दा उच्च जोखिम तापक्रम २७ डिग्री सेल्सियस रहँदा पाइयो । अस्ट्रेलियामा तातो हावा चल्ने मौसममा मानिसहरू अस्पतालमा भर्ना हुने क्रम ७.३ प्रतिशतले बढेको थियो । मौसमले हाम्रो व्यवहारमा किन त्यस्तो परिवर्तन ल्याउँछ त्यो अझै रहस्यमय छ तर वैज्ञानिकहरूले जबाफ खोज्ने प्रयास गरिरहेका छन् ।

असहजता
एउटा स्पष्ट सम्भावना भनेको मानिसहरूले गर्मी मौसममा असहज महसुस गर्छन् जसले उनीहरूको मनस्थितिलाई खराब बनाउँछ र घातक व्यवहार गर्न प्रेरित गर्छ भन्ने हो । उदाहरणका लागि अमेरिकाको फुटबल लीगमा गर्मी मौसममा खेलाडीहरू आक्रामक पेनाल्टी प्रहार गर्छन् ।

पत्रकारहरूले पनि आफ्ना समाचारहरूमा नकारात्मक भाषा प्रयोग गर्छन् र मानिसहरू झगडा गरेर जागिर छाड्ने गर्छन् । सन् २०१७ मा वैज्ञानिकहरूले फिनल्यान्डमा आसपासको तापक्रमले दिमागको महत्त्वपूर्ण रसायन सिरोटोनिनको परिमाणलाई प्रभावित पार्ने पत्ता लगाएका थिए । उक्त रसायनले चिन्ता, खुसी र सम्पूर्ण मनस्थितिमा प्रभाव पार्छ ।

उनीहरूले आफ्नो मापन र मासिक हुने हिंसाका घटनाका बीचमा दह्रो सम्बन्ध रहेको पत्ता लगाए । यसले तापक्रमले हाम्रो सेरोटोनीनको तहलाई प्रभावित पार्ने र त्यसबाट आक्रामक व्यवहारको तहमा असर पुग्ने सङ्केत मिल्छ । अर्को अवधारणा अन्तर्गत गर्मी मौसममा हाम्रो टेस्टोसटोरनको तह बढ्ने र त्यसले थप आक्रामक बनाउने पाइएको छ । दिनहरू लम्बिँदै जाँदा यौन र घरेलु हिंसा बढ्नुको कारण पनि त्यसले देखाउँछ ।

अमेरिकामा अन्तरङ्ग सम्बन्ध भएका जोडीबीचको हिंसा भनिने शारीरिक, यौन र मानसिक शोषण जाडोभन्दा गर्मीमा १२ गुणाले बढी हुने पाइएको छ । तर अरू वैकल्पिक कारणहरू पनि छन् । यी तापक्रम र अपराधको मात्र विश्लेषण गरी राखिएका तथ्याङ्क हुन् ।

तर यसको अर्थ एउटाले सोझै अर्कोलाई प्रभाव नै पार्छ भन्ने होइन । जब सूर्य देखा पर्छ हामी अलग्गै संसारमा हुन्छौँ । भिडभाड भएका पर्वमा रमाउँछौँ, सामाजिक रूपमा स्वीकार्य हुने स्तरमा दिउँसै पिएर बस्छौँ र सामान्यतया थप सक्रिय हुन्छौँ । यसले गर्दा हाम्रा सबै गतिविधि बढ्छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics