अफगानिस्तानमा उच्च वर्षापछिको बाढीले ७० विद्यालय तथा मदरसामा क्षति

काबुल - हालैको उच्च वर्षापछिको बाढीले अफगानिस्तानको उरुजगन प्रान्तमा करिब ७० वटा विद्यालय र मदरसा क्षतिग्रस्त भएको र पर्याप्त कोषको अभावले मर्मतमा बाधा पुर्याइरहेको टोलो न्युजले जनाएको छ ।

उरुजगनका शिक्षा प्रमुख समसुल्ला कामरानले उरुजगन शिक्षा विभागसँग ती विद्यालयहरूको पुनर्निर्माण गर्न पर्याप्त रकम नभएको बताए। “वर्षा र बाढीका कारण लगभग ७० वटा विद्यालय पूर्ण वा आंशिकरूपमा क्षतिग्रस्त भएका छन्, सम्बन्धित निकायबाट विद्यालयहरूलाई उचित संरक्षण प्राप्त नभएमा उरुजगन प्रान्तले अस्वभाविक समस्याहरूको सामना गर्नुपर्ने छ”, उनले भने ।

प्रान्तका धेरै शिक्षक र विद्यार्थीहरूले शैक्षिक प्रक्रिया सुस्त भएको बताएका छन् । क्षतिग्रस्त विद्यालयहरूका अधिकांश विद्यार्थी अहिले खुला क्षेत्र वा निजी निवासमा पढिरहेको स्रोतले जनाएको छ ।

“विद्यार्थीहरूले सिक्ने ठाउँको अभावमा दिन कटाइरहेका छन्”, शिक्षक सिराजुद्दिन सिराजमललाई उद्धृत गर्दै टोलो न्युजले भनेको छ । कठिन परिस्थितिलाई उजागर गर्दै एकजना विद्यार्थी जावेदले भने, “हामी घाममुनि बस्छौँ, हामीसँग केही छैन र शिक्षकहरू पनि आउनुहुन्न, यसले हामीलाई घर फर्कन बाध्य पार्छ ।”

यसैगरी अर्का एक विद्यार्थीले पढाइ जारी राख्नका लागि आफ्ना विद्यालयहरू पुनर्निर्माण गर्न सरकारलाई आग्रह गरेका छन् । टोलो न्युजका अनुसार उरुजगनका स्थानीयवासीहरूले पनि शैक्षिक सुविधाहरू गुमाएकोमा चिन्ता व्यक्त गरेका छन् । यसबाट आफ्ना बालबालिकाको शैक्षिक विकासमा हानिकारक असर पर्ने उनीहरूको गुनासो छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics