बाग्मती सफाइ अभियानमा ६ हजार बिरुवा रोपिए

काठमाडौँ - बाग्मती सफाइ महाअभियानअन्तर्गत हालसम्म छ हजार बिरुवा रोपिएका छन् । बाह्र वर्षको अवधिमा बाग्मती नदी किनारमा अभियान्ताद्वारा उक्त सङ्ख्यामा बिरुवा रोपिएका हुन् ।

आज यहाँ वाग्मती सफाइ महाअभियानको १२औँ वर्ष प्रवेशका अवसरमा आयोजित विशेष कार्यक्रममा अभियानका अभियन्ता एवं पूर्वमुख्यसचिव लीलामणि पौड्यालले वाग्मती सफाइसँगै नदी किनारमा छ हजार बिरुवा हुर्काइएको जानकारी दिए ।’नदीका किनारमा देखिएका रुखहरू हामीले हुर्काएका हौँ’, उनले भने, ‘बिरुवा धेरैले रोपेका होलान् तर हामीले हुर्काएका छौँ । मृत प्रायः नदीलाई जीवन दिए पनि अझै सोचेजस्तो भएको छैन ।’

सफाइ महाअभियानलाई यति धेरै वर्षसम्म यो अभियानले निरन्तरता पाइराख्नु ठूलो उपलब्धि रहेको पूर्वमुख्यसचिव पौड्यालले बताए । उनका अनुसार हालसम्म वाग्मती किनारबाट करिब २१ हजार मेट्रिकटन फोहोर उठाइसकिएको छ । उनले सफाइ अभियानकै दबाबमा बालुवा चोरीनिकासी पूर्णरुपमा बन्द भएको जानकारी दिए ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आममानिसमा फोहोर गर्ने संस्कारको अन्त्य हुन नसकेको बताए । उनले भने, ‘जसरी तपाईंहरूले सफाइ अभियानमा समय दिनुभएको छ यो सहभागिताले निरन्तरता पाइराख्नुपर्छ । वाग्मती सफाइमा राज्यका सम्बन्धित निकायले व्यवहारिक योजना बनाउन आवश्यक छ ।’

मन्त्री तामाङले नागरिकमा अभियानका बारेमा चेतना अभिवृद्धि गर्नुपर्ने भन्दै मन्त्रालयका तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए । सांसद सोविता गौतमले मानव सभ्यताको विकास नै नदीबाट भएकाले यसको संरक्षणमा ध्यान दिन आवश्यक रहेको बताइन् । उनले भनिन्, ‘फोहोरको उचित व्यवस्थापनका लागि कुहिने र नकुहिने छुट्याउने, जथाभावीरुपमा फोहर नफाल्नेलगायत विषयमा जनचेतना जनाउनु आवश्यक छ । मेरो सक्रिय जीवनमा नदी र प्रकृतिबारे आवाज उठाइराख्नेछु ।’

सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले वाग्मतीलाई ढलमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे । ‘वाग्मतीलाई ढल मुक्त बनाउने चुनौती छ । वाग्मतीको व्यवस्थापनका लागि ‘कोरिडोर’ निर्माण गरी ट्राफिक व्यवस्थापन सहज बनाएका छौँ’, उनले भने, ‘ढल मिसिने खोलामा पानी कसरी बढाउने भन्ने चुनौती छ । ढल प्रशोधन गर्न प्रविधि परीक्षण भइरहेको छ ।’

वाग्मती सफाइ महाअभियान २०७० साल जेठ ५ गतेदेखि सुरु भएको हो । ‘राष्ट्रका नाममा सातामा दुई घण्टा स्वयंसेवा’ नाराका साथ थालिएको अभियानको यो ५७५ औँ साता हो । तिलगङ्गा आँखा अस्पताल नजिक आज भएको सफाइमा दुई सय अभियान्ताको सहभागिता थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तामाङले नदी किनारमा बिरुवा पनि रोपेका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics