जैविक विविधता दिवस मनाइँदै

काठमाडौं - अन्तर्राष्ट्रिय जैविक विविधता दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जैविक विविधताका मुद्दाप्रतिको बुझाइ र सचेतना वृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्ष मे २२ तारिखमा यो दिवस मनाउने गरिएको छ । जैविक विविधता दिवसको अवसरमा नेपालले विभिन्न चेतनामुलक कार्यक्रमको आयोजनासमेत गरेको छ ।

सन् १९९२ मे २२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धी अगाडि बढाउने निर्णय गरेको थियो । त्यसपछि सन् १९९४ देखि मे २२ का दिन जैविक विविधता दिवस मनाउने अभ्यास थालियो । जेनेरियो सम्मेलनको निर्णयलाई सन् २००० डिसेम्बर २२ मा बसेको संयुक्त राष्ट्र संघको महासभा बैठकको निर्णय नम्बर ५५ र २०१ ले थप अङ्गीकार गर्‍यो र प्रत्येक वर्ष २२ मे लाई अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका रुपमा मनाउने घोषणा भएको हो ।

कानुनतः नेपालमा जैविक विविधतालाई वातावरण संरक्षण ऐन २०५३ अनुसार व्याख्या गरिँदै जैविक विविधता भन्नाले पारिस्थितिक प्रणाली, प्रजातीय प्रणाली र वंशाणुगत प्रणालीको विविधता भन्ने बुझिन्छ ।

छोटो दुरीमा धेरै भौगोलिक संरचना, भिन्न भिन्न मौसम एवं भिर, पहरा, गल्छी र उपत्यकाहरू छन् । पहाड र हिमाली क्षेत्रमा उत्तर-दक्षिण दुवैतिर फर्केका भित्ता पाखाहरूका कारण एकातिर घाम लाग्ने र अर्कोतिर ओसिलो हुन्छ । घण्टाभरि मात्र पनि यात्रा गर्ने हो भने नितान्त फरक प्राकृतिक माहौलमा पुगिन्छ, जैविक विविधता अनुभव गर्न सकिन्छ । नेपालमा समुद्र सतहदेखिको न्यूनतम उचाइ ६० मिटरको झापा जिल्लाको केचना र अधिकतम उचाई ८,८४८ मिटरको सगरमाथा छ ।

नेपालमा २ सय ७ प्रजातिका स्तनधारी, ८ सय ६७ प्रजातिका चरा, ४३ प्रजातिका उभयचर, १ सय प्रजातिका सरिसृप र १ सय ८५ प्रजातिका माछा, ६ सय ५३ जातका पुतली, ३ हजार ९ सय ६६ भन्दा बढी राति उड्ने पुतली, ५ हजार बढी किरा, २ सय प्रजातिका माकुरा र ६ हजार बढी फुल फुल्ने वनस्पति, ४ सय ७१ प्रजातिका झ्याउ, १ हजार ८ सय २२ प्रजातिका ढुसी र ३ सय ८३ प्रजातिका उन्यूहरू रहेको तथ्य छ ।

वनस्पतिमा गुराँस प्रजातिको संख्या ३० वटाभन्दा बढी छ । सुनगाभा र सुनाखरी परिवारका ३ सय ६३ भन्दा बढी प्रजाति छन् । सम्पूर्ण युरोपको भूभागमा भन्दा नेपालमा धेरै प्रजातिका चराहरू पाइन्छन् । पुतलीको सबैभन्दा धेरै प्रजाति नेपालमै पाइन्छ । नेपालमा ५ सयभन्दा बढी प्रजातिका अन्नबाली खान योग्य छन् । त्यसमध्ये २ सय प्रजातिको खेती गरिन्छ ।

परापूर्वकालदेखि नै नेपाली सनातन परम्पराले विभिन्न वनस्पति तथा प्राणीलाई विभिन्न भगवानका रूपमा आस्था राखी पूजा गर्दै आएको छ । विशेष गरी सबै धर्मावलम्बीले वर, बेल, रुद्राक्ष र अशोकलाई भगवान् शिव, पीपल र बाबियोलाई भगवान् विष्णु, शमी र दुबोलाई गणेश, तुलसी र अमलालाई लक्ष्मी, कुश र पलाँसलाई ब्रह्मा अनि खयरलाई अग्निका रूपमा स्वीकारेको देखिन्छ । त्यसैगरी किरात-मुन्धुमलाई त पूर्ण रूपमै भूमि तथा जैविक विविधता पुजारीकै रूपमा लिएको पाइन्छ । जैविक परम्परा त भगवान् बुद्धले बुद्धत्व प्राप्ति गरेको वृक्षकै वरिपरि घुमेको छ । कुरान तथा बाइबलसमेत वन, वनस्पति तथा जैविक विविधताप्रति सामिप्य राख्छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics