चराका रोचक गुण : उड्छन् त केही दौडन्छन्, केही गीत गाउँदै कुरा पनि गर्छन्

काठमाडौं - चरा के हो भनेर कसैले तपाईं हामीलाई सोध्यो भने हामीलाई हाँसो उठ्न सक्छ । किनभने, चरा हामी सबैले दिनहुँ देख्दै आएको हो । तर हामीमध्ये धेरैलाई यो थाहा नहुन पनि सक्छ, यस संसारमा चराका करीब ९ देखि १० हजार प्रजातिहरु छन् । फेरि चरा त्यस्तो प्राणी हो, जसको बासस्थानमा धेरै विविधता पाइन्छ । भन्नुको अर्थ के हो भने, चरा त्यस्तो प्राणी हो, जो सुख्खाग्रस्त मरुभूमिदेखि बाह्रै मास हिउँले ढाकिने ध्रुवीय क्षेत्रसम्म बसोबास गर्ने गर्छ । चराको बारेमा अर्को रोचक कुरा के हो भने, यो मात्रै अस्थीपञ्जरधारी जीव हो, जो उड्न सक्छ । सबै चराहरुको दाँतरहित चुच्चो हुन्छ, रगत तातो हुन्छ, शरीर भुत्लाले ढाकिएको हुन्छ र यसले कडा आवरण भएको अण्डा पार्छ ।

उड्न नसक्ने 
त्यसो त सबै चराहरु उड्न सक्दैनन् । चराका कतिपय यस्ता प्रजातिहरु पनि छन्, जो विल्कुलै उड्न सक्दैन । वास्तवमा, लाखौं वर्षको समयक्रममा चराका धेरै प्रजातिहरुले आफ्नो उड्ने क्षमता गुमाउन पुगे । यस्ता चराहरुमध्ये केही साना खालका छन्, यी चराहरु दुर्गम द्वीपहरुमा बसोबास गर्ने गर्छन् ,जहाँ उनीहरुको शत्रुको संख्या पनि अति नै सीमित हुन्छन् । अर्कोतिर अस्ट्रिज, इमुज र रेहेज जस्ता ठूला खालका चराहरु पनि उड्न सक्दैनन् । यी चराहरु खुला मैदानमा बसोबास गर्ने गर्छन् । उड्न नसक्ने भएकाले यी चराहरु शत्रुबाट बच्नका लागि दौडनु पर्ने हुन्छ । त्यसैले गर्दा यी चराहरु अति चाँडो दौडन सक्छ । त्यसै गरी पेन्गुइन पनि उड्न नसक्ने चरा हो । हिउँले ढाकिएका ध्रुवीय क्षेत्रमा पाइने तथा विशेष गरी माछाको शिकार गर्ने पेन्गुइनले आफ्नो पखेटाको मद्दतले समुद्रमा पौडने गर्छ ।

शिकारी 
चराहरुको अर्को समूहमा शिकारी चराहरु पर्दछन् । विशेष गरी दिउँसोको समयमा शिकार गर्ने यी चराहरुको बलिया र लामा पञ्जा हुन्छ, जसको मद्दतले शिकार पक्रने गर्छ । बलियो पखेटा हुने यस समूहका चराहरुको तीखो र घुमाउरो चुच्चो हुन्छ, जसले शिकारलाई निल्नको लागि च्यात्न तथा टुक्रा टुक्रा पार्न सजिलो हुन्छ । यस समूहका चराहरुमा गिद्ध, बाज, बेसारे लगायतका शिकारी चराहरु पर्दछन् ।

शिकारी समूहका चराहरुले चरा, स्तनधारी जीव, माछा, कीरा फट्यांग्रा, सरीसृप, सिनो जस्ता विविध प्रकारका जीवित तथा मृत जीवलाई आफ्नो शिकार बनाउने गर्छ । यस समूहअन्तर्गत पर्ने चराहरुको दृश्य शक्ति अति नै तीखो हुन्छ र धेरै टाढाबाट समेत यिनीहरुले आफ्नो शिकारलाई सटीक ढंगले ठम्याउन सक्छ ।

रात्रिचर 
रात्रिचर चराको कुरा गर्ने बित्तिकै हामीले उल्लूलाई सम्झने गर्छौं । शिकारी समूहका चरा र उल्लूबीचको प्रमुख भिन्नता भनेकै उल्लूले रात्रिको समयमा मात्र शिकार गर्ने गर्छ । उल्लूको आँखा अति नै संवेदनशील र तेजीलो हुन्छ र अति मघुरो प्रकाशमा पनि यसले आफ्नो शिकारलाई प्रष्टैसँग देख्न सक्छ । अझ उल्लूका कतिपय प्रजातिहरुको त सुन्ने शक्ति पनि यति शक्तिशाली हुन्छ, यसलै पूरै अँध्यारोमा पनि यसले आफ्नो शिकारलाई ठीकसँग ठम्याउन सक्छ ।

अन्टार्कटिका महादेशलाई छाडेर उल्लू अन्य सबै महादेशहरुमा पाइन्छन् । उल्लू जस्तै अर्को रात्रिचर शिकारी चरा पनि हुन्छ । त्यसको नाम हो– नाइटजारस् । झट्टै हेर्दा उल्लू जस्तै देखिने यो चरालाई पनि कतिपय मानिसहरुले उल्लू नै ठानेर झुक्किने गर्छन् । शिकारी समूहका चराहरुको जस्तै, रात्रिचर शिकारी चराहरुको पनि तीखो घुमाउरो चुच्चो तथा बलियो पञ्जा हुन्छ । यसको आँखा चाहिँ शिकारी समूहका चराहरु भन्दा अझ ठूला हुन्छन् ।

खेलाडी चराहरु र परेवा
यस समूहका चराहरुको शरीर ठूलो र बलियो खुट्टा हुन्छ । प्रायः गरेर यस समूहका चराहरुले जमीनमा गुँड बनाउने गर्छ र बच्चा जन्मेको केही क्षणमा नै आफैंले खानेकुराको खोजी गरेर खान सक्छ । यस समूहका चराहरु राम्ररी नै उड्न सक्छ तर छोटो दूरीसम्म मात्र ।

तर अपवादको रुपमा परेवा चाहिँ धेरै छिटो र टाढा टाढासम्म पनि उड्न सक्छ । सबै परेवाको सानो टाउको र सुलुत्त परेको शरीर हुन्छ । परेवाले जमीनभन्दा माथि नै आफ्नो गुँड बनाउँछ । फेरि परेवाको बच्चाले जन्मनेबित्तिकै आफैं खानेकुरा खोजेर खान पनि सक्दैन ।

सुगा
अधिकांश सुगाहरु चम्किलो र रंगीन हुन्छ । यसको चुच्चो पनि अति शक्तिशाली र घुमाउरो हुन्छ । यसको खुट्टामा दुई वटा औंला अगाडि र दुई वटा पछाडितिर गएको हुन्छ, जसले गर्दा यस चराले बलियोसँग समात्न सक्छ ।

सुगाको बारेमा रोचक कुरा के छ भने, यसको आयु धेरै लामो हुन्छ । यो चरा ५० वर्ष वा त्योभन्दा पनि बढी बाँच्न सक्छ । फेरि सुगाले मान्छेको बोलीको समेत नक्कल पनि गर्न सक्छ ।

हमिङ बर्ड र स्वीफ्ट
यी दुई समूहका चराहरु नजिकका नातेदार हुन् । तर यी दुबै चराहरुको उड्ने र खाने तरिका फरक छन् । हमिड बर्ड फूलको सामुन्ने एकै स्थानमा लगातर स्थीर रुपमा रहने गरी उडेर आफ्नो ट्यूबजस्तो चुच्चोले फूलको रस चुस्ने गर्छ । अकोतिर स्वीफ्ट चराले चाहिँ आफ्नो छुराजस्तो पखेटाका मद्दतले तीबै रुपमा उड्छ, उड्दा उड्दै मोडिन्छ र मोडिँदा मोडिँदै आफ्नो शिकार कीरा फट्यांग्राहरुलाई समातिसक्छ ।

पानी चराहरु
यस समूहका अधिकांश चराहरुको तीखो र सोझो चुच्चो हुन्छ, जसले गर्दा यसले आफ्नो आहारा माछालाई सजिलै पक्रन सक्छ । केही चराहरु समुद्रका किनारामा बसोबास गर्ने गर्छन् । तर अधिकांश पानी चराहरु समुद्रमाथि उड्ने गर्छन् र प्रजनन तथा सन्तानोत्पत्ति कार्यको लागि मात्रै जमीनमा फर्कने गर्छ ।

पानी चराहरु तलाउ, पोखरी तथा नदीहरुमा पनि बस्ने गर्छन् ।

हेरोन र सारस
हेरोन (Herons) र सारस (Cranes) चराहरु दुई अलग समूहमा पर्ने चराहरु हुन् तर देख्नमा यी चराहरु एकै जस्तो लाग्छ । यी चराहरुको लामो चुच्चो र लामो घाँटी तथा लामो खुट्टा हुन्छ । सारसले आफ्नो लामो चुच्चो र घाँटीको मद्दतले जमीनमा आहाराको खोजी गर्छ भने हेरोन समूहको चराले चाहिँ पानीमा खडा भएर माछा वा अन्य आफ्ना आहाराको प्रतिक्षा गर्छ र मौका मिल्ने बित्तिकै लामो चुच्चोको मद्दतले झपटेर पक्रने गर्छ ।

डक्स, गीज र स्वान्स
अन्य समूहका चराहरुसँग तुलना गर्ने हो भने यस समूहअन्तर्गतका चराहरु सजिलै चिन्न सकिन्छ । यस समूहका सबै चराहरुको च्याप्टो चुच्चो, छोटो खुट्टा र जालीदार पाइताला हुन्छ । यस समूहका चराहरु अति राम्ररी पौडन सक्छ र र आफ्नो जीवनको अधिकांश समय पानीको नजिक बिताउँछ । समूहगत रुपमा यी चराहरु कहिलेकाही पानीमा तैरने (Waterflot) चराको रुपमा पनि चिनिने गरिन्छ ।

रुखमा बस्ने चरा
संसारमा सबैभन्दा बढी पाइने चराहरुमा रुखमा बस्ने चरा पर्दछन् । खासगरी, रुखमा बासस्थान बनाउने र यसका अधिकांश प्रजातिहरु आकारमा सानो हुने हुनाले यो समूहको व्यापक विस्तार भएको पाइन्छ । अझ संसारको जुनसुकै स्थानमा पनि सहज प्राप्त हुन सक्ने खाद्यसामाग्रीहरुः विउविजन तथा कीरा फट्यांग्रा खाएर बाँच्न सक्ने विशेषताहरुले गर्दा पनि यो चरा धेरै स्थानमा पाइन सकिएको हो ।

कोइली र यसका नातेदारहरु
अर्कै चरा, विशेष गरी कागको गुँडमा अण्डा पारेर बच्चा हुर्काउने कुरामा कोइली प्रख्यात छ । त्यसैले नेपालीमा उखानै बनेको छ– कागभन्दा कोइली चङ्खो । तर कोइली समूहका सबै चराहरुले यसरी अर्काको गुँडमा आफ्नो बच्चा हुर्काउँदैन । वास्तवमा, यस समूहका दुई तिहाई प्रजातिहरुले आफ्नो गुँड आफैं बनाएर बच्चा हुर्काउने गर्छ ।

काठफोडुवा र टोउकान
हेर्दा काठफोडुवा र टोउकान प्रजातिका चराहरु नितान्त भिन्नै देखिए पनि यिनीहरु नजिकका नातेदार हुन् । यी दुबै प्रजातिका चराहरको दुई वटा पञ्जा अगाडितिर र दुईवटा पञ्जा पछाडितिर फर्किएको हुन्छ । जब यो चरा उड्छ, यसले आफ्नो पंखालाई छोटो छोटो रुपमा हल्लाउने गर्छ र हावामा माथि उठ्न तथा तल झर्न सक्छ ।

हिउँमा बस्ने चरा
हिउँमा बस्ने चरा भन्नेबित्तिकै हामीलाई पेन्गुइनको याद आइहाल्छ । यो चरा अरु चराहरु जस्तै उड्न सक्दैन तर यो तैरनमा भने अत्यन्तै माहिर हुन्छ । वास्तवमा, यसको पखेटा तैरन सहयोग गर्ने चप्पुजस्तो हुन्छ । धेरैजसे पेन्गुइनहरु दक्षिणी गोलाद्र्धमा पाइने गर्छ । तर गालापागोस पेन्गुन्यहरु चाहिँ इक्वेडरको उत्तरमा पाइन्छ । उत्तरी धु्रवमा पेन्गुइन पाइँदैन । पेन्गुइनको मुख्य आहारा माछा तर समुद्री जीवहरु हुन् ।

सामान्यतः समुद्रको पानी नुनिलो हुने हुनाले मानिसले पिउन सक्दैन तर पेन्गुइनले समुद्रको पानी पनि पिउन सक्छ । यो चराले आफ्नो जीवनको आधा समय पानीमा र आधा समय हिउले ढाकिएको जमीनमा बिताउँछ । पेन्गुइनमा पनि बादशाह पेन्गुइन सबैभन्दा अग्लो हुने गर्छ, जसको उचाई १२० सेन्टिमिटरसम्म हुने गर्छ । यो पेन्गुइन पानीभित्र २० मिनेटसम्म बस्ने सक्छ । - एजेन्सीको सहयोगमा

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics