माकुराको विचित्रको संसार : चरा नै खाइदिने, मान्छेको ज्यानै लिनसक्ने
- नेचर खबर
काठमाडौं - कालो रौं भएको माकुरो, जसको आकार हाम्रो मुट्ठीजत्रो हुन्छ । सानो गुलाबी माकुरो, जसको आकार आलपीनको टुप्पो जत्रै मात्र हुन्छ । माछा मार्ने माकुरो हुन्छ, पौडी खेल्ने माकुरो पनि हुन्छ । माकुरो पहाडमा बस्छ, गुफामा पनि बस्छ । जालो बुनेर शिकार पक्रने माकुरो पनि हुन्छ, र जालो नबनाई बाघ सिंहले जस्तै झम्टेर शिकार गर्ने माकुरो पनि हुन्छ । माकुरो आफैं मांसहारी जीव हो । यो जीवले विशेष गरेर कीरा फट्यांग्रा खाने गर्छ । तर यही संसारमा एउटा यस्तो कीरा पनि पाइन्छ, जसलाई माकुरोले हैन, माकुरोलाई त्यो कीराको बच्चाले खाइदिन्छ ! आउनुहोस्, हामी पनि माकुरोको यो विचित्रको संसारको केही हिस्सालाई चियाऔं ।
चरा खाने भयानक माकुरो !
दक्षिण अमेरिकाको अमेजनको जंगलमा विचित्र विचित्रका, भयानक जीवजन्तुहरु पाइन्छन् । त्यस्तै जीवजन्तुहरुमध्येका एक हो – चरा खाने विशाल माकुरा । शरीरभरि रौं नै रौं भएको यो माकुरोले आफ्नो खुट्टालाई बीस सेन्टीमिटर परसम्म एकैपटकमा पुर्याउन वा घुमाउन सक्छ ।
प्रायःजसो माकुरोहरुले जालो बुनेर आफ्नो शिकारलाई पक्रने गर्छ । तर यो माकुरोले अरु माकुरोले जस्तो जालो बुन्दैन । यसको शिकार गर्ने तरीका अन्य मांसहारी जीवजन्तुहरुको जस्तै हुन्छ । मूलतः यो माकुरोले रुखमा चढेर आफ्ना शिकारहरुलाई खोज्ने गर्छ । यसले मुख्य गरेर कीरालाई आफ्नो आहार बनाउँछ तर यसले भेटेमा स–साना माउसुली, छेपारो, सर्पका बच्चा र चरालाई समेत पक्रेर खान्छ । त्यसैले यो माकुरोलाई चरा खाने माकुरो (Bird eating spider) पनि भनिन्छ ।
यो माकुरो मान्छेको लागि भने खतरनाक चाहिँ छैन । यसले टोक्यो भने एउटा मौरीले टोके जतिको मात्रै दुख्छ । साथै, यसको रौंले पनि निकै पीडा दिन्छ । आफूमाथि खतरा आइलागेको आभास पाएपछि यस किसिमका केही माकुरोहरुले आफ्नो पेटबाट रौं थुतेर आक्रमणकारीमाथि हिर्काउँछन् । यस माकुरोको छालाको रंग कालो हुन्छ । चरा खाने यो माकुरोको आकार १० सेन्टिमिटरसम्म हुन्छ ।
रंग परिवर्तन गर्ने माकुरो
गंगटो माकुरो (Crab spider) को शिकार गर्ने तरिका अनौठो हुन्छ । यो माकुरो फूलमा बस्छ र फूलको रस खान आउने कीराहरुलाई आफ्नो शिकार बनाउँछ । यो माकुरो र फूलको रंग झण्डै झण्डै एउटै जस्तो देखिन्छ, जसले गर्दा फूलको रस खान आउने कीराले आफ्नो यो शत्रुलाई हत्तपत्त ठम्याउन सक्दैन । अझ, यो माकुरोको पोथी जातिले फूलको रंग अनुसार, आफ्नो रंगलाई समेत विस्तारै परिवर्तन गर्न सक्छ ।
झट्ट हेर्दा फूलकै अंगजस्तो देखिने भएकोले फूलको रस खाने कीराहरु निस्फिक्री भएर आएर फूलमा बस्छन् । यसरी कीरा फूलमा बस्दा उत्पन्न हुने कम्पनबाट माकुरोले कीरा आएर फूलमा बसेको थाहा पाउँछ र झम्टेर आफ्नो शिकारलाई पक्रन्छ ।
जिउदै माकुरोको शरीरमा बच्चा जन्माउने कीरा !
कल्पना गर्नुहोस्, पखेटा भएको एउटा भयानक जीवले तपाईंलाई पक्र्यो । पक्रेपछि त्यो जीवले तपाईंलाई डसेर निस्क्रिय तुल्याइदियो । त्यसपछि त्यो पखेटा भएको भयानक जीवले तपाईंको शरीरमा अण्डा पार्यो र तपाईंलाई जमीनमा कतै लुकायो । निश्चित समयपछि ती अण्डाहरुबाट बच्चाहरु निस्के । र, त्यसरी निस्केका बच्चाहरुले तपाईंलाई जिउँदै खाइदिए ।
के यस्तो घटना वास्तविक जीवनमा हुन सम्भव छ ? अहँ ! तपाईं हामीमध्ये कसैले पनि वास्तविक मानव जीवनमा यस्तो घटना हुन सम्भव छ भनेर सोच्न पनि सक्दैनौं । यस्तो घटना त डरलाग्दो फिल्म, कहानी वा कथाका किताबहरुमा मात्र हुन देख्न र पढ्न पाइने कुरा हो । तर मानव जगत्का लागि यस्तो घटना असम्भव भए पनि जीवजगत्मा यस्ता घटनाहरु हुने गर्छन् ।
यस जीव जगत्मा पहेलो पखेटा र कालो शरीर भएको, बारुलो जस्तै एउटा कीरा हुन्छ, जसलाई अंग्रेजी भाषामा wasp भनिन्छ । यही कीराले नै शरीरभरि रौं भएको ठूलो खालको माकुरो– टारान्टुला (Tarantula) को शरीरमा अण्डा पारेर बच्चा जन्माउँछ ।
सर्वप्रथम यस कीराले टारान्टुला माकुरोलाई जिउँदै पक्रन्छ । यसले माथि उल्लेख गरिएजस्तै गरी त्यसलाई डसेर हलनचल बनाइदिन्छ, तर मार्दैन । त्यसपछि त्यस कीराले त्यस माकुरोको शरीरमा अण्डा पार्छ । अण्डा पारिसकेपछि त्यस कीराले माकुरोलाई जमीनमा लुकाउँछ । यसरी त्यसको जीवित शरीरमा केही समयसम्म ती अण्डाहरु हुर्कन्छन् । जब अण्डाबाट बच्चाहरु निस्कन्छन्, ती बच्चाहरुले जन्मनेबित्तिकै त्यो माकुरोलाई खाइदिन्छन् । रोचक त के छ भने, यो कीराको भरखरै जन्मेको बच्चाले माकुरोलाई आफ्नो भोजन बनाए पनि यसको माउले भने फल र फूलहरुको रस मात्र खान्छ ।
संसारमा सबैभन्दा विषालु माकुरो
माथि उल्लेख गरिसकियो कि संसारमा माकुराको ४३ हजारभन्दा बढी प्रजातिहरु पाइन्छन् । त्यति धेरै प्रजाति भए पनि करिब ३० वटा जति प्रजातिका माकुराहरु मात्रै मानव जातिका लागि मृत्यु नै गराउने हदसम्मको विषालु हुन्छन्. । त्यस्ता विषालु माकुराहरुमा ब्राउन रिक्लुज माकुरा, एल्लो स्याक माकुरा, उल्फ माकुरा, ब्लाक विडो माकुरा, बाउन विडो माकुरा, रेड विडो माकुरा, रेडव्याक माकुरा, फनेल वेव माकुरा, ब्राजिलियन वान्डरिङ माकुराहरु सबैभन्दा विषालु मानिन्छन् । तीमध्ये पनि सबैभन्दा विषालु चाहिँ ब्राजिलियन वान्डरिङ माकुरा (Wandering spider) नै हो ।
यो माकुरो विशेष गरेर यो माकुरो एमेजन नदीको आसपासको घना जंगलमा पाइन्छ । मूलत: केराको पातमा बस्न रुचाउने यो माकुरो केरा वा केराको पातको माध्यमबाट विभिन्न ठाउँमा फैलने गर्छ र यो मान्छेको घर घरमा समेत पुग्ने गर्छ । बासस्थानको खोजीमा यो माकुरो कहिलेकाहीँ लुगाको थाकभित्र पनि लुकेर बस्छ ।
माकुराबारे केही विचित्र तथ्यहरु
माकुरो ! तपाईं हामी सबैले देखिरहेको जीव ! घर, गोठका कुनाकाप्चा तथा बोटविरुवाहरुको अन्तरकुन्तरमा जालो बुनेर कीरा फट्यांग्रालाई पक्रन खप्पीस जीवको नाम हो माकुरो । सामान्यतः मान्छेलाई अति कम हानी गर्ने तर हानिकारक कीरा फट्यांग्राहरुलाई खाएर उल्टै फाइदा पुर्याउने सहयोगी जीव हो– माकुरो । आउनुहोस्, यस जीवबारे केही रोचक कुराहरु पढौं !
आफ्नै जालोमा फँस्न सक्छ माकुरो
तपाईं हामीले देख्ने गरेका छौं, माकुराले कीरा फट्यांग्राहरुलाई पक्रन जाल बुन्ने गर्छ । यसको जालमा परेपछि हत्तपत्त कीरा फट्यांग्राहरु उम्कन सक्दैनन् । यसको जाललाई छुनेबित्तिकै त्यसमा कीरा फट्यांग्राहरु टाँसिन पुग्छन् । तर त्यही जालमा माकुरा चाहिँ टाँसिदैन ।
यस्तो किन र कसरी हुन्छ ?
वास्तवमा, सुन्दा अचम्म लाग्न सक्छ, तर सावधानी नअपनाउने हो भने माकुरो आफ्नो जालोमा आफैं फस्न सक्छ । तर आफैंले बुनेको आफ्नो घर– जालोमा हिँड्दा डुल्दा यसले सावधानी अपनाइरहेको हुन्छ । यसलाई जालोको कुन धागोमा हिँड्दा टाँसिदैन र कुन जालोमा हिँड्दा चाहिँ टाँसिन्छ भन्ने कुराको राम्रो हेक्का हुन्छ । त्यसैले यो जालोमा टाँसिदैन ।
माकुराले विभिन्न किसिमका जालो बुन्ने धागाहरु उत्पादन गर्न सक्छ । त्यसमध्ये यसले शिकार पक्रनको लागि टाँसिने खालको धागो उत्पादन गरी प्रयोग गरेको हुन्छ । त्यसबाहेक, यसले जालोलाई थाम्न र बलियो बनाउन नटाँसिने खालको धागो पनि उत्पादन गरेर जालोमा प्रयोग गरेको हुन्छ । यही नटाँसिने धागोको प्रयोग गरेर यसले जालोमा आफू हिँड्ने सुरक्षित बाटो पनि निर्माण गरेको हुन्छ ।
जालोमा कीरा फट्याँग्रा फँसेपछि यसले त्यही नटाँसिने धागोलाई मात्र आफू हिँड्ने बाटोको रुपमा प्रयोग गर्छ । माकुराको स्पर्श क्षमता यति शक्तिशाली हुन्छ, यसले सजिलैसँग टाँसिने र नटाँसिने धागो चिन्न सक्छ ।
जहाँ पनि पाइने जीव
माकुराले बुन्ने जालो जति विचित्र र कलात्मक हुन्छ, त्यति नै विचित्र यो जीव स्वयं आफू नै पनि छ । यो जीव जस्तोसुकै वातावरणमा पनि पाइन्छ । यो जीव हावा, पानी, जमीन, रुख, जमीनभित्र जताततै पाइन्छ, जुन कुरा यसका विभिन्न प्रजातिहरुमा निर्भर गर्छ । यो जीव ८ सेन्टिमिटर लामोदेखि आँखाले नै देख्न नसकिने आकारसम्मको पनि हुन्छ । फेरि, यसका केही प्रजातिहरु पानी नखाइकनै पनि बाँच्न सक्छ । माकुराको एउटा प्रजाति टारान्टुलाले त स–साना चराहरु नै पनि खान्छ र यो १५ वर्षको आयुसम्म बाँच्न सक्छ ।
कीरा हैन माकुरो
तपाईं हामी माकुरोलाई कीराको रुपमा लिने गर्छौं । तर रोचक त के छ भने, वैज्ञानिक वर्गीकरणमा माकुरो कीराको वर्गभित्र पर्दैन । यो कीराभन्दा भिन्न एराच्निड्स (Arachnids) वर्गमा पर्दछ । यस वर्गमा आठवटा खुट्टा, आठ वटा आँखा तथा दुई भागमा विभक्त शरीर तथा पखेटा हुने जीवहरु पर्दछन् ।
सबै माकुराहरुले जालो बुन्दैनन्
सुन्दा अनौठो लाग्न सक्छ, तर सबै माकुरोले जालो बुन्दैन । पानीमा पाइने माकुरो (युरोपियन वाटर स्पाइडर) ले पानीभित्र हावा भरिएको घण्टी आकारको घर बनाएको हुन्छ । यसले आफ्नो त्यस घरलाई आफ्नो आमाशयमा सतहबाट भरेर ल्याएको हावाले भरेर राखेको हुन्छ । हावाले भरिएको त्यस घरमा यस माकुरोले अण्डा पार्ने र बच्चा हुर्काउने काम गर्छ । त्यसैगरी, केही माकुरोले त पात वा काठको खोक्रोमा एक कोठे घर बनाएर बस्छ ।
तरल हुन्छ जालो बुन्ने धागो
माकुराको जालो बुन्ने धागो त्यसको आमाशयमा रहेका विशेष ग्रन्थीहरुमा उत्पादन हुने गर्छ । ती ग्रन्थीहरुमा उत्पादन भएको धागो स–साना प्वालहरु भएर आमाशयको पुछारमा रहेको जालो बुन्ने अंगसम्म आइपुग्छ । रोचक के छ भने, माकुरोको जालो बुन्ने यो धागो शुरुमा तरल रुपमा रहेको हुन्छ । तर जालो बुन्ने क्रममा हावाको सम्पर्कमा आएपछि सुकेर यो ठोस बन्न पुग्छ । साथै, माकुरोले आफ्नो उक्त अंगमा रहेको तरल पदार्थलाई थिचेर वा निचोरेर हैन, खुट्टाको सहायताले तानेर धागो बाहिर निकाल्छ ।
७० हजार प्रजाति
अहिलेसम्म माकुराका करीब ३५ हजार प्रजातिहरु रहेको पत्ता लागिसकेको छ । तर वैज्ञानिकहरु के विश्वास गर्छन् भने अझै पनि यसको करीब त्यति नै अर्थात् ३५ हजार प्रजातिहरु यस पृथ्वीमा विद्यमान रहेको हुनुपर्छ, जुन अहिलेसम्म थाहा हुन सकेका छैनन् । यस हिसाबले यस संसारमा माकुरोको करीब ७० हजार प्रजातिहरु रहेको हुनुपर्ने अड्कल काटिएको छ ।
आलपिनको टुप्पोभन्दा पनि सानो माकुरो
दक्षिण अमेरिकामा पाइने गोलियथ टारान्टुला (Goliath tarantula) संसारमा पाइने माकुराहरुमध्ये सबैभन्दा ठूलो हो । यसका खुट्टाहरुले ढाक्ने क्षेत्र करीब २५ सेन्टिमिटरसम्म हुन्छ । अर्कोतिर सबैभन्दा सानो माकुरो चाहिँ पाटु डिगुआ (Patu digua) हो । यसको शरीरको नाप ०.३७ मिलिमिटर मात्र हुन्छ । यो भनेको एउटा आलपिनको टुप्पोको आकारभन्दा पनि सानो साइज हो ।
प्रकृतिसँगको तादाम्यता
संसारमा बाँच्ने कलाले भरिपूर्ण जीवहरुको नाम लिनुपर्दा त्यसमा माकुरो पनि आउँछ । माकुराले बाँच्नको लागि प्रकृतिसँग राम्ररी तादम्यता मिलाएको हुन्छ । हरियो माकुरोले पातमा आफ्नो घर बनाएर आफूलाई शत्रुले सजिलै खुट्याउन नसक्ने गरी लुकाउँछ भने रातो, पहेंलो र सेतो माकुराले त्यही रंगका फूलहरुमा आफ्नो वासस्थान बनाएर आफूलाई सुरक्षित पार्छ । त्यसैगरी आफ्नो शरीरको रंगअनुसारको स्थानमा आफ्नो वासस्थान निर्धारण गरेर माकुराले आफूलाई सुरक्षित राख्न जानेको हुन्छ ।
कमजोर आँखा, उच्च स्पर्श क्षमता
केही जातिलाई छाड्ने हो भने माकुरोको दृष्टि अति कमजोर हुन्छ । तर त्यसको विपरीत यसको स्पर्श क्षमता चाहिँ अति उच्च हुन्छ । विशेष गरी, यसको कम्पन थाहा पाउने क्षमता अति तीखो हुन्छ । यसले आफ्नो जालोमा फस्ने कीरा उम्कने प्रयास गर्दा उत्पन्न हुने कम्पनको आधारमा जालोमा शिकार फसेको थाहा पाउँछ । जालो नबनाउने माकुराले पनि हावा तथा सतहमा शिकार हिँड्दा उत्पन्न हुने सुक्ष्म कम्पनको आधारमा शिकारलाई पक्रन्छ । त्यसैगरी, पानीमा बस्ने माकुरोले पनि पानीको सतहमा आफ्नो खुट्टा चलाएर त्यसमा रहेको कम्पनको आधारमा शिकार रहेको स्थान पत्ता लगाउँछ ।
एक पटकमा हजार अण्डा
प्रायजसो माकुराले अण्डा पार्छ । यसले एक पटकमा प्रजातिअनुसार एउटादेखि हजार वटासम्म अण्डा पार्न सक्छ । अधिकांश माकुराले आफ्नो अण्डालाई जालोले बुनिएको सुरक्षित कवचमा बेरेर सुरक्षित स्थानमा राख्छ । यसरी अण्डा पारेपछि केही प्रजातिका माकुराले त्यसलाई त्यतिकै छोडिदिन्छ, फेरि फेरि त्यसको हेरचाह गर्दैन बरु अरु माकुराले त्यसको हेरचाह गरिदिन्छन् । कुनै कुनै प्रजातिले चाहिँ आफूसँगै अण्डा लिएर हिँड्छ र बच्चा हुर्काउँछ ।
त्यसो त अधिकांश माकुरोका बच्चाहरुले जन्मनेबित्तिकै आफैं आफ्नो हेरचाह गर्न सक्छ र आमाको मद्दतबिना नै हुर्कन सक्छन् । तर केही प्रजातिका माकुराहरु विशेष गरी नर्सरी वेभ स्पाइडर (Nursery web spider) लाई चाहिँ आमा माकुरोले नै हुर्काउँछे । - एजेन्सीकाे सहयाेगमा
प्रतिक्रिया दिनुहोस