नेपालमा मनसुन सक्रिय हुन सोमालियामा हावा चल्नुपर्छ ?

काठमाडाैं - नेपालमा प्रत्येक वर्ष जुन महिनाको मध्यतिर (जेठ महिनाको अन्त्यतिर) बाट प्रवेश गर्ने मनसुनको सम्बन्ध सोमालियामा चल्ने हावाहुरीसँग जोडिएको मौसमविद्हरू बताउँछन्।

उनीहरूका अनुसार नेपालमा मौसम भित्र्याउन सबैभन्दा पहिले सोमालियामा हावाहुरी चल्नुपर्छ र त्यो हावा भूमध्य सागर र हिन्द महासागर हुँदै दक्षिण एशियामा प्रवेश गर्छ। बङ्गालको खाडी र अरब सागर हुँदै नेपाल प्रवेश गर्ने त्यही सोमाली हावाले नेपालमा मनसुन भित्र्याउँछ।

मौसमविद्हरूका अनुसार मौसम परिवर्तनसँगै हावाको दिशामा आउने परिवर्तन मनसुन हो। त्यस्तो परिवर्तन साधरणतया समुद्रबाट जमिनतर्फ र जमिनबाट समुद्रतर्फ हुने गर्छ।

विशेषगरी मार्च, अप्रिल र मे महिनामा दक्षिण एशियाली क्षेत्रमा जमिन धेरै तात्छ। छिटो तात्ने भए पनि जमिन छिटै सेलाउँछ।

तर जमिनसँग जोडिएका समुद्रहरू ढिलो तात्ने र ढिलै सेलाउने भएका कारण जमिन र समुद्रबीच हावाको ओहोरदोहोर भइरहन्छ। तापक्रम उच्च भएका क्षेत्रमा हावाको चाप कम हुने भएका कारण कम तापक्रम भएका क्षेत्रबाट त्यसतर्फ हावा बग्न थाल्छ।

मनसुन भित्रिने र बाहिरिने समयमा दक्षिण एशियाली देशहरूमा यसको प्रभाव देखिन्छ। मनसुनको न्यूनचापीय रेखाले यसको प्रभाव कुन क्षेत्रमा बढी र कुन क्षेत्रमा कम हुन्छ भन्ने निर्धारण गर्छ। मनसुन सुरु हुँदा र अन्त्य हुँदा हावा झन्डै विपरीत दिशामा बग्न सुरु गर्छ।

हिउँदमा हुने हावाको दिशा परिवर्तन पनि मनसुनको परिभाषामा समेटिने भए पनि साधरणतया गर्मीमा समुद्रबाट जमिनतर्फ हावा बहने अवस्थालाई धेरैले मनसुन भन्ने गर्छन्। वर्षायाममा समुद्रबाट निरन्तर जमिनतर्फ पानी बोकेको हावा आपूर्ति हुने भएकाले त्यसलाई समर मनसुन भनिन्छ।

तर मनसुन हिउँदमा पनि हुन्छ। पृथ्वीको दक्षिणी गोलार्धमा र अफ्रिकाको दक्षिणपूर्वी तटनजिक रहेको हिन्द महासागरस्थित म्याडग्यास्कर टापुमा रहने उच्चचापीय क्षेत्र वर्षायाममा बिस्तारै उत्तरतर्फ अघि बढ्दै भूमध्यरेखामा पुग्ने र त्यसले उत्पन्न गर्ने दबावका कारण हावा उत्तरी गोलार्धमा पुगेर दायाँतर्फ अघि बढ्ने मौसमविद् बताउँछन् ।

मनसुनको समयमा मात्रै विकास हुने यो हावालाई ‘सोमाली लो लेभल जेटस्ट्रिम’ नाम दिइएको छ। त्यो भनेको उच्च गतिको हावा बहने क्षेत्र हो। हिन्द महासागरमा आइपुगेपछि यो हावा दुई क्षेत्रमा बाँडिने मौसमविद्हरू बताउँछन्।

मौसमविद्हरूका अनुसार अफ्रिका हुँदै हिन्द महासागरमा पुगेको हावाले नेपालमा दुईवटा बाटोबाट मनसुन भित्र्याउँछ।

उनीहरूका अनुसार नेपालमा मनसुनको धेरै भाग बङ्गालको खाडी हुँदै देशको दक्षिणपूर्वी क्षेत्रबाट भित्रिने गरेको छ। बाँकी भाग अरब सागर हुँदै भारतको गुजरातबाट प्रवेश गरेर नेपालको दक्षिणपश्चिमी क्षेत्रबाट नेपाल आइपुग्छ।

यसरी समुद्रबाट जमिनतर्फ आएको हावामा आर्द्रता अर्थात् पानीको मात्रा अत्यधिक हुने भएकाले यस्तो हावा चिसोमा पुग्नासाथ त्यसले वर्षा गराउँछ। नेपालमा झन्डै ८० प्रतिशत पानी मनसुनमा पर्ने मौसमविद्हरू बताउँछन्। तर पश्चिम नेपालमा हिउँदमा पनि उल्लेख्य परिमाणमा पानी पर्छ। त्यहाँ बर्खायाममा पर्ने पानी ६५ प्रतिशत भएको मौसमविद्हरू बताउँछन्।

नेपालको मनसुनलाई वायुमण्डलको माथिल्लो भागमा रहेको हावाको पनि सहयोग हुन्छ। 'सब-ट्रपिकल वेस्टर्ली जेटस्ट्रीम' भनिने पश्चिमबाट पूर्वतर्फ बहने हावा र 'ट्रपिकल इस्टर्ली जेटस्ट्रीम' भनिने पूर्वबाट पश्चिमतर्फ बहने हावाले नेपालमा मनसुन निम्त्याउँछन्।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics