मुस्ताङ अर्थात् मानसिक थकान मार्ने एउटा प्रतीक्षालय

बिष्णु गिरी ‘निश्चल’,
एउटै उदेश्य लक्ष्य र सपना बोकेका हामी चार युवाको अगुवाईमा खोलिएको व्यवसायिक कम्पनीको योजनालाई सार्थकता दिन र साथीहरूबीच थप आत्मीयता बढाउने उदेश्यलाई केन्द्रबिन्दुमा राखेर मुस्ताङको यात्रा गर्ने तय भयो । तर, एक साथीलाई मनाउन भने हामी तीनलाई निक्कै मेहनत गर्नु पर्यो । मन नमिल्ने कुरै भएन, २०८० जेष्ठ ९ गते साँझ ७ बजे हामी गन्तव्यको लागि काठमाडौबाट हिड्यौं ।


प्राईभेट बिद्युतिय गाडिमा पोखरा सम्मको यात्रा गर्ने त्यसपछि मुस्ताङ यात्राको लागि अर्को गाडिको व्यवस्था फोन मार्फत नै गरिएको थियो । यात्रा सुरु भयो । तिता मिठा गफ गर्दै सुरु भएको यात्रा गाडीमा निदाउँदै र मिठा मिठा गफ गर्दै गाडिको रफतारमा राती १२ बजेतिर साथीले चिनेको रेष्टुरेन्टमा खाना खायाैं । पैसा तिरेर खाना खाए पनि राम्रो आतिथ्यता पायौं ।


रातीको ३ बजे पोखरा पुगियो पोखराको नाईट लाईफ नेहेरी निद लागेन र लाउन्ज गईयो केही समय बिताएर होटल आएर सुतेको १ घण्टापछि नै मुस्ताङको लागि हिँडियो । पाको उमेरका अनुभवी सवारी चालक हरी ढकालको साथमा हामी बाग्लुङ बजार ठूलो रहेछ गाडीबाट नै घुमियो ।


बागलुङ भगवतीको दर्शनले मन आनन्दित बनायो । ठूलो आस्था रहेछ, त्यहाँका बासिन्दामा । मैले पहाडी क्षेत्रमा त्यत्रो व्यवस्थासहितको प्रवन्ध देखेको थिईन । भरपुर दर्शन गरियो । साथै गलेश्वर महादेवको दर्शन गर्दै बेनी नजिकै होटल कालीगण्डकी एण्ड थकाली भान्छा घरमा खाना खायौ । बेनीबाट मुक्तिनाथ जादाँ बाटोमा तातोपानी रहेछ । फर्किदा त्यहाँ बस्ने योजना साथ हामी अगाडि बढ्यौ । बाटोमा लोकल दही र लोकल केरा खाँदै हाम्रो यात्रा अगाडि बढ्यो ।

रमाईलो गफ – कहिले संस्थागत र व्यवसाहिकताको कुरा गर्दै यात्रा अगाडि बढ्यो । बाटोको दृश्य हेर्दै हाम्रो यात्रा भयो । तिब्बतबाट निस्किएर आएको कालीगण्डकी नदी चट्टानले बनेका गगनचुम्बी अग्ला पहाडहरूको खोचबाट दक्षिणतर्फ बगेको रहेछ । कालीगण्डकीको प्रवाह र त्यो दृश्यले हामीलाई रोमाञ्चित बनायो । हिमाली क्षेत्र चिसो स्वभाविकै थियो । कालीगण्डकीको किनारैे किनार मोटर बाटो । सिधै उत्तर । बीच बीचमा सानातिना खोलाहरू हान्निएर कालीगण्डकीमा समाहित भएको देख्न पाईन्थ्यो । दृश्यहरू अत्यन्त लोभलाग्दा थिए । ठाउँ ठाउँमा आकाश सांघुरिएको देखिन्थ्यो । हिमाली बाटो ठूला ठूला चट्टानी पर्वतलाई छिचोल्दै गएको छ ।


अजगंका ती पहाडहरू कुम्भकर्ण झै चीरनिद्रामा छन् । काठमाडौं आसपासमा झै खानी सञ्चालनको नाममा जताततै चिथोरिएका छैनन् । अनन्त सौन्दर्य पस्किरहेका छन् । पहाडको छाती चिरेर निस्किएका झरनाले पीडा भन्दा आनन्द दिईरहेका छन् । त्यसका केही दृश्य क्यामरा र मनमा कैद गर्दै हामी अघि बढ्यौं साथमा मिठा जोक र रमाईलो कुराकानी त छँदै थियो ।



काठमाडौंको धुलो र धुवाँको रापमा थिचिएर थाङ्थिलो भएको यात्रीले मुस्ताङको प्राकृतिक सौन्दर्यको स्वपान गर्दाको आनन्द व्यक्त गर्न सक्ने कुरै थिएन । झण्डै ३८ सय मिटर उचाईमा रहेको मुस्ताङको मुक्तिनाथ यात्रा केवल धार्मिकमात्र होईन त्यो एउटा सभ्यताको अध्ययन हो । संस्कृतिको सम्मान हो । अनि, पुर्खाको आस्थाको धरोहर पनि हो । मुस्ताङ मानसिक थकान मार्ने एउटा प्रतिक्षालय हो । धार्मिक आस्थाको आगँन हो ।

रुप्से झरनाले हाम्रो यात्रालाई थप उर्जा दियो । माथीबाट हामीलाई भेट्न आतुर भएर बगेको सेतो पानीको थोपा शरीरमा पर्दा तरंग उत्पन्न हुन्थ्यो झण्डै ३० मिटर अग्लो रुप्सेलाई हामीले पनि चुनौती दिएजस्तै उसको तस्बीरहरू चोरिरह्यौँ । तस्बीर खिच्नुभन्दा उसैलाई हेरिराख्नु हाम्रो यात्राको अर्काे रमाईलो क्षण बन्यो । झरनालाई छोडेर थोरै माथीपुग्दा त्यहाँ बगेको एक मिटर चौडा र अत्याधिक गहिराईको कालिगण्डकी पनि सुतेर बगेकी झरनाजस्तै लाग्थ्यो । नजिकै पुगेपछि हिमालको घरमै प्रवेश गरेजस्तो भान हुन थाल्यो, हिमालले आफैं नजिक बनिदिएजस्तै ग¥यो र थकित बनेका आँखामा निश्चल उर्जाहरू भरिदियो ।


टुकुचे र मार्फामा केही समय हामी घुम्यौँ भिडियो बनायौ र यात्रा जोमसोममा गएर रोकियो । मुस्ताङको सदरमूकाम जोमसम भए पनि ठूलो रहेनछ । सेवाग्राही कमै होलान् । सरकारी अड्डा धाउनेभन्दा आफ्नो व्यवसाय राम्रोसँगले चले त भै गयो नी । गरेकै छन् । लोडसेडिङ रहेनछ । हामी त्यही बस्ने र भोली पल्ट मुक्तिनाथ दर्शन गर्ने योजना बन्यौँ । साँझ मुस्ताङ जिल्ला घरपझोङ्ग गाउँपालिकामा कार्यरत मित्र राजन कँडेल र आशिष भण्डारीबाट गाउँपालिकामा बितिय साक्षरता सम्बन्धी कार्यक्रम गर्दा कसो होला भन्ने प्रस्ताव आयो । त्यो अवसरलाई हामीले गुमाउन चाहेनौं भोली पल्ट (जेष्ठ ११) गते कार्यक्रम गर्ने र त्यासको चाजोँपाजो गर्ने जिम्मा प्रदिप जीलाई दिईयो । राती मिठो मुस्ताङे खानाको स्वादसँगै भोली मुतिनाथ दर्शन गर्ने मनोकांछा बोकेर निन्द्रादेवीको सरणमा गईयो ।


भोली बिहानै सबेरै यात्रा सुरु गरियो किनकी मन्दिर र दर्शन गरेर हामीले कार्यक्रम सकेर उपल्लो मुस्ताङको पनि यात्रा गर्नु थियो । निलगिरि र धौलागिरि हाम्रो दक्षिणमा थिए । त्यहाँ धौलागिरि र निलगिरि हिमालहरूको सुन्दर दृश्य हामीले हेर्न पायौं । धौलागिरि दूधले धोएझैं सेतो थियो भने निलगिरि आकाशझैं निलो थियो । हामी मुक्तिनाथ पुग्यौं । मुक्तिनाथ हाम्रो गन्तव्यको शिखर । भगवान नारायणको वासस्थान । त्यो सुन्दरताको वर्णन गरेर साध्य छैन, अत्यन्त सुन्दर । त्यसैले होला माहात्मा, साधुसन्त, भक्त प्रशासक, राजनीतिज्ञ, उद्योगी, व्यापारी, कलाकार, सर्वसाधारण सबैको आस्थाको पुञ्ज ।

मन्दिर दर्शन गर्न धेरै भारतीय तीर्थालु आएका थिए । माथिसम्म जान नसक्नेहरूका लागि घोडा र स्ट्रेचरको सुविधा पनि थियो । हामी माथिसम्म नै हिँडेर जान तयार थियौं । स–साना पाइला चाल्दै हामी माथि पुग्यौं । धेरै भारतीय तीर्थालु आफूलाई मानिसको काँधमा बोक्न लगाएर मन्दिर दर्शन गर्न गइरहेका थिए ।


मन्दिरअघि दुइटा कुण्ड थिए । मन्दिरपछाडि १०८ धारा थिए । हामीले पनि दौडेर पुरा गर्यौे त्यो कार्य । त्यसपछि कुण्डमा डुबुल्की मार्नु पर्ने अरे, चिसोको पर्वाह नगरी मारियो । मुक्तिधाम अगाडीको कुण्डमा डुबेर पैसा निकाल्ने प्रचलनको नक्कल हामीले पनि ग¥यौं पुजा कार्य भक्ति र पे्रमभावले आ आफ्नो मूल्य, मान्यता र स्वधर्म अनुसार सम्पन्न गरियो । धेरै फोटो खिचियो ।


कति धेरै धेरै प्रकृतिलाई जिस्क्याउने भोक थियो । फेरी आइपुग्ने नपुग्ने संयोग मात्र भएकोले धितमरुन्जे भगवानको समीपमा बसियो । नारायणको मन्दिर माथी, तल कालीगण्डकीले अविच्छिन्न शालीग्राम पस्कँदै प्रवाहित हुनु संयोग मात्र कहाँ हुन्थ्यो र ? सत्य थियो, त्यो लिला हैन भक्तलाई कृपा थियो भगवानको । भित्र देखिनै आनन्द लागेर आयो । त्यही सेवा गरेर बस्न पाए हुन्थ्यो भन्ने पनि कहिलेकाही मनमा आउथ्यो । प्रकृतिको त्यो अनन्त स्वादपान गरेर । हामीले त्यहाँ भरपुर आनन्द अनुभूत गर्यौ ।


३८१० मीटरको उचाईमा रहेको यो मन्दीरको वर्णन गरेर नसकिने रहेछ । मुक्तिनाथ दर्शनपछि युद्ध जितेको अनूभूति थियो । मुस्ताङ मानसिक थकान मार्ने एउटा प्रतिक्षालय हो, धार्मिक आस्थाको एउटा आँगन हो जहाँ हिन्दु र बौद्ध धर्मालम्बीहरू जाने एकमात्र साझा थलो पनि हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics