रुस–युक्रेन युद्धले मानिस मात्रै होइन चील पनि संकटमा

काठमाडौं – युद्धले कसलाई असर गर्छ ? सहजै जवाफ आउँछ मानिसलाई । तर, मानिस–मानिस बिच वा देश–देश बिच हुने युद्धले वातावरण र वन्यजन्तुलाई पनि संकटमा परेको विषयमा कमै चर्चा हुने गरेको छ । यस्तै युद्धको संकटमा परेको छ चील पनि ।

अढाइ वर्षदेखि जारी रुस र युक्रेन युद्धले चीलको एक प्रजातिलाई संकटमा पारेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

साइन्स जर्नलमा छापिएको एक अनुसन्धान रिपोर्ट अनुसार रुस र युक्रेन युद्धले ‘ग्रेटर स्पोटेड’ चीलको प्रजाती संकटमा परेको हो । युद्धका कारण यी चीलले बसाइँसराइका लागि यात्रा गर्ने बाटो बदलेका छन् । घुमाउरो र लामो बाटो प्रयोग गर्दा उनीहरूको यात्रा अवधि पनि लम्बिएको छ ।

एस्टोनिया युनिभर्सिटी अफ लाइफ साइन्स र ब्रिटिश ट्रष्ट फर ओरनिथोलोजीका शोधकर्ताले युद्धले वन्यजन्तुमाथि परेको असरबारे अध्ययन गरेका थिए । उनीहरूको निष्कर्ष छ– युद्धबाट पर्यावरणमा हुने क्षतिको सीधा सम्बन्ध ‘ग्रेटर स्पोटेड’ चीलको बसाइँ र उनीहरूको यात्रामा देखिएको छ । यसबाट भन्न सकिन्छ युद्धबाट मानिस मात्र होइन, बरु जनावर र पन्छीहरू पनि पीडित भएका छन् ।

‘ग्रेटर स्पोटेड’ चील प्रजननका लागि युक्रेनको बाटो हुँदै दक्षिण बेलारुस जाने गर्दछन् । यी चील इन्टरेशनल युनियन फर कन्जर्भेसन अफ नेचरको रातो सूचीमा छन् । रातो सूचीको अर्थ अति संकटापन्न भन्ने बुझिन्छ । यी चीललाई सन् २०२१ मा रातो सूचीमा राखिएको थियो । चीलका यी प्रजाति पश्चिमी र केन्द्रीय युरोप, खासगरी बेलारुस र पोलेसिया क्षेत्रमा पाइन्छन् ।

रुस र युक्रेनबीच सन् २०२२ को फेब्रुअरीदेखि युद्ध जारी छ । मार्च र अप्रिल महिनामा ‘ग्रेटर स्पोटेड’ १९ वटा चीलको बसाइँसराइमा परेको असरबारे अध्ययन गरिएको थियो । अध्ययनको यी चीलले सन् २०१९ र २०२१ मा जुन बाटो प्रयोग गरेका थिए, त्यो बाटो प्रयोग नगरी घुमाउरो र लामो बाटो प्रयोग गरेको पाइएको छ ।

युद्ध सुरु भएपछि यी चीलले औसतमा ८५ किलोमिटर लामो बाटो प्रयोग गरेका छन् । केही चीलले त २५० किलोमिटरभन्दा बढी दुरी तय गरेका थिए । युद्धभन्दा अगाडि ती ९० प्रतिशत चील बसाइँसराइको क्रममा युक्रेनमा रोकिन्थे । युद्ध सुरु भएपछि ३२ प्रतिशत चील मात्र युक्रेनमा रोकिएको पाइएको छ ।

केही चीलले त बसाइँसराइको क्रममा युक्रेनको भूमि नै प्रयोग नगरेको पाइएको छ । यी चीलले आफ्नो यात्राको बाटोमात्र बदलेका छैनन् बरु आराम गर्ने समय अवधि पनि छोट्याएका छन् । वैज्ञानिकहरूका अनुसार यी चीलले यात्राको क्रममा आफ्नो समय र शक्ति दुवै धेरै खर्च गरेको पाइएको छ ।

प्रजनन क्षमता प्रभावित हुनसक्ने चिन्ता
वैज्ञानिकहरूका अनुसार यी चीलले युक्रेनको बाटो बाहेक अरु सबै बाटो पहिलेकै जस्तो प्रयोग गरेको पाइएको छ । युक्रेनको भूमिमा सैन्य गतिविधिहरू अधिक भएको बाटो उनीहरूले प्रयोग नगरेको वैज्ञानिकहरूको निष्कर्ष छ ।

अध्ययन अनुसार विष्फोट र ठूला आवाजबाट वन्यजन्तु प्रभावित भएको पाइएको छ । त्यसैले युद्धग्रस्त क्षेत्रमा हुने गतिविधिकै कारण यी चीलले आफ्नो यात्राको बाटो बदलेको वैज्ञानिकहरूको ठहर छ ।

यी बदलावका कारण चीलको बसाइँसराइका अधिक ऊर्जा खर्च भएको छ । साथसाथै उनीहरूको मृत्युको जोखिम पनि बढेको छ । आराम नगरीकन लामो समयसम्म उडिरहनुपर्दा ती चीलको प्रजनन क्षमतामा पनि असर गर्ने वैज्ञानिकहरूको चिन्ता छ । रुस–युक्रेन युद्धले यी चीललाई मात्र होइन अन्य लोपोन्मुख प्रजातीहरूलाई पनि थप संकटमा पार्ने वैज्ञानिकहरूको आशंका छ । –बीबीसीको सहयोगमा

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics