ताप्लेजुङको प्राकृतिक विपद्का विषयमा जिल्लाका सांसद्ले सदनमा के-के भने ?

काठमाडौं– प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले विपद्का घटनामा परेका नागरिकको समयमै उद्धार गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले पर्याप्त साधन स्रोतको अभावले विपद्का घटनामा परेका नागरिकको समयमै उद्धार गर्ने नसकिएको अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराए ।

नेकपा (एमाले) का सचिव समेत रहेका सांसद भट्टराईले विगत केही दिनदेखि परेको अविरल वर्षाले ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ खेजिनिममा पहिरोमा पुरिएर एक परिवारका चार जनाको मृत्यु भएको र दुई जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गरे । पहिरो परी सो गाउँपालिकाका उपाध्यक्ष विकास लिम्बूको परिवारका चार जनाको निधन भएको थियो ।

पहिरोबाट पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सांसद भट्टराईले सरकारको ध्यानाकर्षण गराए । ‘हामीले विपद् प्राधिकरण बनाएका छौँ । पर्याप्त साधन स्रोतको अभावले समयमै उद्धार गर्ने सकिएको छैन् । अब प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेका पहाडी र हिमाली क्षेत्रमा एकीकृत बस्ती विकासमा जानुपर्छ’, उनले भने ।

यसैगरी सांसद लीला बोखिमले पनि ताप्लेजुङको फक्ताङलुङ–२ मा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरिन् । घट्नामा ठूलो जनधनको क्षतिका साथै पहिरोले सडक अवरुद्ध भएकाले आपत्कालीन अवस्थामा उद्धारका लागि हेलिकप्टरको व्यवस्था गर्न सरकारसँग माग गरिन् । ‘काठको पुल भत्किएको छ । पशुचौपाया मरेका छन् । बाटो अवरुद्ध छ । तत्काल उद्धार र राहतको व्यवस्था गर्न माग गर्दछु’, उनले भनिन् ।

यस्तै अर्की सांसद उर्मिला थेबेले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ मा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु हुँदा प्रभावकारी उद्धार, राहत र पुनःस्थापनको काम सक्दो चाँडो गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics