ताप्लेजुङका पहिरो पीडितलाई ३ लाख राहत रकम उपलब्ध गराउने कोशी सरकारको निर्णय

काठमाडौं – ताप्लेजुङका पहिरो पीडितलाई कोशी प्रदेश सरकारले राहत स्वरुप ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

अविरल वर्षासँगै आएको पहिरोमा परी शुक्रबार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका २ खेजेनिमा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको थियो ।

शनिबार बसेको मन्त्री परिषद्को बैठकले पहिरो पीडितलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

यस्तै मन्त्री परिषदको बैठकले असार २ गते धिमाल जातिका लागि बिदा दिने निर्णय गरेको छ । धिमाल जातिको प्रमुख पर्व जातिरी र सिरिजातको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीले प्रदेशमा रहेका धिमाल जातिका लागि आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

यस्तै बैठकले प्रदेश योजना आयोगले तयार पारेको प्रदेशको दोस्रो आवधिक योजना (२०८१–०८२–२०८५र०८६ ) परिमार्जनसहित स्वीकृत गर्ने निर्णय गरेको छ ।

अधिकारीले प्रदेश आर्थिक विधेयक २०८१ र विनियोजन विधेयक २०८१ तथा आगामी वर्ष २०८१–०८२ को बजेट वक्तव्य प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics