ताप्लेजुङमा बाढी पहिरोबाट दर्जनौँ परिवार विस्थापित
- नेचर खबर
फुङ्लिङ (ताप्लेजुङ) - निरन्तर वर्षाका कारणले ताप्लेजुङका विभिन्न ठाउँमा गएको पहिरोले दर्जनौँ परिवार विस्थापित भएका छन् ।
गत बुधबार यता निरन्तर हुँदै आएको वर्षाका कारण गएको पहिरोले घरमा क्षति पुर्याउँदा दर्जनौँ परिवार विस्थापित भएका हुन् । गएराति मिक्वाखोला गाउँपालिका–५ ताङखु गाउँमा सात किसानको २३ रोपनी अलैँची बगान पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुङ्गेलीले बताए ।
प्रहरीका अनुसार शनिबार पहिरो जाँदा मिक्वाखोला–५ पापुङमा तीन परिवार विस्थापित भएका छन् । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार पापुङ, ताङ्खु टोलका आइतवीर लिम्बू, मनकुमार लिम्बू र मोहन लिम्बूको परिवार विस्थापित भएको छ ।
बिहान वर्षासँगै माथिबाट झरेको पहिरोले बस्न नमल्निे गरी घरमा क्षति पुर्याउँदा उनीहरुको परिवारले विस्थापित हुनु परेको प्रनाउ रावलले जानकारी दिए ।
यस्तै, सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा शनिबार गएको पहिरोले छ परिवार विस्थापित भएका छन् । मामाङ्खे थत्रुवाका गोरीमाया लिम्बू, पूर्णकुमार माबो र भीममाया गुरुङको परिवारले विस्थापित हुनुपरेको छ । मामाङ्खेकै थबाबुकका ख्यालमान लिम्बू र वीरबहादुर लिम्बू, आगेगाउँका चन्द्रबहादुर लिम्बूको परिवार विस्थापित भएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार वर्षासँगै गएको पहिरोले सिरिजङ्घा–७ मा नवराज लिम्बूको घर, भान्सा घर र पशुचौपाया गरी रु १६ लाख ९० हजार क्षति भएको छ । त्यस्तै, शुक्रराज लिम्बूको घर पूर्णरुपमा क्षति र पशुचौपाया गरी रु १० लाख ८० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
सिरिजङ्घा–८ याम्फुदिनको साम्मेधुङ टोलका पदम माबो, कीर्तिमान लिम्बू, राजबहादुर लिम्बू र छिरिङ भोटेको परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । पहिरोले खानेपानीमा क्षति पु¥याउँदा मामाङ्खेका करिब तीन सय परिवार खानेपानीबाट वञ्चित हुनु परेको पनि स्थानीयले जानकारी दिएका छन् ।
यसैगरी, याम्फदिनमा पनि दर्जनभन्दा बढी परिवार बाढीपहिरोको उच्च जोखिममा रहेका स्थानीय जनप्रतिनिधि सन्तोष राईले जानकारी दिए। गत बुधबारयता ताप्लेजुङमा पहिरोमा परी पाँचजनाको मृत्यु भइसकेको छ । त्यस्तै, ५५ पशु चौपाया मरेका छन् ।
मनसुन पूर्णरुपमा सक्रिय नहुँदै बाढीपहिरोले मानवीयसहित पशुचौपाया, खेतीबाली, सडक, पुल, खानेपानीलगायत संरचनामा क्षति गर्न थालेकाले जिल्लावासी त्रसित बनेका छन् । ताप्लेजुङको भूबनावट पहिरोको जोखिम पर्ने जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार यहाँका ६१ मध्ये ४१ वडा पहिरोको उच्च जोखिममा पर्दछन् ।
प्रतिक्रिया दिनुहोस