थाईल्यान्डमा जब हात्तीले जुम्ल्याहा छावा जन्मायो…

काठमाडाैं - थाईल्यान्डमा एक एशियाली पोथी हात्ती अर्थात् ढोईले दुर्लभ रूपमा जुम्ल्याहा छावा जन्माउनुलाई तिनका स्याहारमा खटिने कर्मचारीहरूले चमत्कार बताएका छन्। ३६ वर्षीय ढोई चम्चुरीले जुम्ल्याहा सन्तान जन्माउने अपेक्षा गरिएको थिएन।

८ जुनमा सो ढोईले एउटा पुरुष छावा जन्माएपछि अयुथिय एलिफेन्ट प्यालेस एन्ड रोयल क्रार्लले प्रशुतिकार्य सकिएको ठानेको थियो। तर पहिलो छावालाई सफा गर्दै उसलाई उभिन सिकाउन लाग्दा उनीहरूले जोडले केही खसेजस्तो सुने। जतिखेर मात्र चम्चुरीले दोस्रो सन्तानका रूपमा पोथी छावा पाएको उनीहरूले थाहा पाए।

दोस्रो छावा जन्मँदा ढोई अत्तालिइन र स्याहारकर्मीहरू पोथी छावालाई आमाले कुल्चेलिन् भन्ने भयले चम्चुरीलाई सम्हाल्न लागे। त्यस चुनौतीपूर्ण अवस्थामा एक जना स्याहारकर्ता घाइते भए। सामाजिक सञ्जालमा देखा परेको नाटकीय भिडिओ फुटेजमा स्याहारकर्मीहरूको भीड देखिएको थियो। स्याहारको जिम्मेवारीमा रहेका मानिसहरूलाई स्थानीय रूपमा महौत भनिन्छ।

उनीहरूले हतार हतार दोस्रो छावालाई आफ्नी आमाबाट अलग गर्दा ढोईका पछाडिका खुट्टामा रगत देखिएको थियो। सेभ द एलिफेन्ट्स नामक एक अनुसन्धान संस्थाका अनुसार जुम्ल्याहा छावाको जन्म एक प्रतिशत मात्रै हुने गर्छ र ती पुरुष र महिला हुनु अझ दुर्लभ मानिन्छ।

पशु चिकित्सक लार्डथोङतरे मेपनले दोस्रो छावालाई आमाबाट बाहिर तानेपछि उ उठेको सुनाइन् । "हामी सबैले खुसी मनायौँ किनकि त्यो एक चमत्कार हो," उक्त एलिफेन्ट पार्कमा हुर्किएकी र आफै जुम्ल्याहा सन्तान जन्माएकी मेपनले भनिन्, "हामी सधैँ जुम्ल्याहा छावा हेर्न चाहन्थ्यौँ तर सबैले यो देख्न सक्दैनन् किनभने यो धेरै हुँदैन।" ३१ वर्षीय महौत छरिन सोमवाङको आमा हात्तीलाई सम्हाल्न खोज्दा खुट्टा भाँच्चिएको थियो। "म निकै खुसी थिएँ, मैले पीडा महसुस गरिनँ," उनले बीबीसीसँग भने। आफूलाई अस्पताल ल्याएपछि मात्रै चोटको गम्भीरता थाहा पाएको उनले सुनाए।

उक्त पार्कमा १५ वर्षदेखि काम गरिरहेका सोमवाङले भने: "बच्चा जन्माउँदा आमाले बच्चालाई जहिले पनि लात वा धकेल्ने प्रयास गर्नु सामान्य हो... मलाई ढोईले बच्चा कुल्चेलिन् कि भन्ने डर थियो, त्यसैले मैले आफै अघि सरेँ र छावालाई आमाबाट रोक्न खोजेँ।"

अधिकांश जनसङ्ख्या बौद्ध मार्गी रहेको थाईल्यान्डमा हात्तीलाई पवित्र जनावर मानिन्छ। ती त्यहाँका राष्ट्रिय प्रतीक समेत हुन्। उक्त जन्मसँगै अयुथिय एलिफेन्ट प्यालेस एन्ड रोयल क्रार्लले ती जुम्ल्याहालाई सोसल मिडियामा लाइभ गरेर देखाएको छ। बालबालिकासहित पार्क भ्रमण गर्नेहरूले जुम्ल्याहा छावा हेर्न दिइएको छ। तर त्यसअघि उनीहरूले आफ्ना जुत्ता चप्पल र हातलाई निष्क्रमण गर्नुपर्ने नियम राखिएको छ।

छावालाई राखिएका ठाउँनजिकै लेखिएको छ: "कृपया छावाहरूलाई नछुनुहोला।" थाई परम्परा अनुसार जन्मेको सात दिनमा उनीहरूको नाम राखिन्छ। ५५ केजीकी पोथी छावा सामान्य अवस्थामा भन्दा केही सानी छन्। आमासँग खाना खाने बेला उनलाई कुर्सीमा राखिनुपर्छ। उनका दाजु भने ६० केजीका छन्।

उक्त पार्कको दाबी अनुसार सडकहरूमा माग्ने काममा खटाइएका हात्तीहरूलाई उद्धार गरेर त्यहाँ ल्याइएको थियो। सन् १९८९ मा थाईल्यान्डले प्राकृतिक जङ्गलमा काठ दाउराको काम गर्न प्रतिबन्ध लगाएपछि त्यस क्षेत्रमा काम गर्ने महौतहरू बेरोजगार भएका थिए।

यसले उनीहरूलाई अर्थोपार्जनका लागि हात्तीहरूले पर्यटकमाझ विभिन्न चटकहरू गर्न बाध्य गरायो। सन् २०१० मा त्यस कामलाई प्रतिबन्ध लगाइए तापनि कतैकतै अझै त्यस्ता गतिविधि हुने गरेको पाइन्छ। थाईल्यान्डको पुरानो राजधानी अयुथियमा हात्तीहरूले पर्यटकलाई बोकेर मन्दिर र ऐतिहासिक ठाउँहरूमा लैजान्छन्। संरक्षणकर्मीहरूले भने त्यसको विरोध गर्छन्। उनीहरूले त्यसले उक्त जनावरलाई तनावमा पार्ने र दुर्व्यवहारसरह हुने बताउँछन्।

इन्टरन्याश्नर युनियन फर कन्जर्भेसन अफ नेचरका अनुसार एशियाली हात्तीहरू सिकार, अवैध व्यापार र उनीहरूका वासस्थानमा पुगेको क्षतिका कारण लोपोन्मुख प्रजातिका रूपमा छन्। अफ्रिकी मूलका हात्तीहरूका तुलनामा एशियाली हात्तीका कान साना एवं गोलाकार हुन्छन् भने पिठ्युँ झुकेको पाइन्छ।

एशियाली हात्तीको दुर्लभ जुम्ल्याहा छावाको जन्मसँगै अहिले उक्त पार्कमा ती छावा हेर्न आउनेको भिड लागेको छ। "हात्तीले बच्चा जन्माएको देख्दा म सधैँ खुसी हुन्छु," हात्तीको चोटबाट अझै निको नभइसकेका सोमवाङले भने। "ती जुम्ल्याहा हुनु आवश्यक छैन। हात्तीको बच्चाले सधैँ आनन्द दिन्छ।" - बीबीसी

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics