वाणासुरमा विलासी होटलको परिकल्पना

आश्चर्यजनक प्राकृतिक परिवेश । विशेष सहयात्री । साहसिकता, रोमाञ्चकारी र अर्थपूर्ण अन्तरक्रियाले भरिएको एक यादगार यात्रा । हाम्रो शारीरिक सहनशीलताको परीक्षण, अन्तरसम्बन्ध र खोजको यात्रा थियो त्यो, जहाँ प्रत्येक पाइलाले नयाँ अन्तदृष्टि र आनन्द दिलायो । अझ भनौँ– एउटा सुखद र समृद्ध पदयात्रा ।
०००
‘आऊ राजेन्द्र, यताबाट जाऊँ’ विनीत आग्रह विमल नहर्कीको ।
‘आऊ, आऊ’ आदेशात्मक आग्रह ज्योति अधिकारीको ।
‘जाऊँ न जाऊँ’ प्रेमपूर्ण आग्रह रमेश धमलाको ।
‘आउनुस्, आउनुस् रमाइलो हुन्छ’ भावपूर्ण अनुरोध पूर्ण कुँवरको ।
‘नियात्राकार त झन् यताबाट जानैपर्छ नि’ अर्तीमूलक आग्रह चन्द्र रिजालको ।
समूहबाट छुट्टिएर अगाडि बढ्न खोजेझौ गरेका उनीहरूको एउटै स्वर, एउटै आग्रह ।
‘यताबाट कहाँ पुगिन्छ नि ?’ सोध्छु ।
‘मातातीर्थ’ ज्योतिजीको जवाफ ।
‘कार्यक्रमअनुसार त बोसन नै फर्कनुपर्ने होइन र ?’
‘हो, तर विकल्प हुँदाहुँदै उही बाटो के फर्कनु त ।’
‘कति समय लाग्छ ?’
‘चार घण्टा ।’
‘खाना चाहिँ कहाँ खाने नि ?’
‘खाउँला नि कतै ।’
फगत ठट्टा होला भन्ठानेको थिएँ, होइन रहेछ । चम्पादेवीसम्मको यात्रालाई तन्काएर मातातीर्थसम्म पुर्‍याउन खोजेका रहेछन् ।


आएकै बाटो फर्कंदा त्यति रमाइलो हुन्न । फेरि आइन्छ, आइन्न के थाहा ! मनासिब लाग्छ उनीहरूको प्रस्ताव । विभिन्न भूगोल, संस्कृति, परिदृश्य, र अनुभवहरूको बारेमा अतृप्त जिज्ञासा भएको यायावर न परेँ । फेरि मलाई कठिन यात्राका चुनौतीहरूको स्वाद मन पर्छ ।


स्वीकार नगरिरहन सक्दिनँ म आमोदप्रेमी मित्रहरूको आग्रह । शुभ काममा ढिला किन गर्नु त ! तत्काल बाटो तताउँछौँ हामी अर्थात् मसमेतका ‘नोनेट ट्रेकर्स’ ।


सबैभन्दा अगाडि छन्– विमल नहर्की र पूर्ण कुँवर । चिलौने, लालीगुराँस र खस्रुलगायतका वनस्पतिहरू चिनाउँदैछन् विमलजी । यस क्षेत्रमा चलिरहेको हाइकिङका बारेमा विवेचना गर्छन् उनीहरू ।
उनीहरूकै पछिल्तिर लामबद्घ भएर हिँडिरहेका ज्योति अधिकारी, रमेश धमला र चन्द्र रिजालबिच चल्न थाल्छ ठट्टामस्करी । सकारात्मक प्रतिक्रिया र हास्यको एक रूप हो– ठट्टा । यसले सामाजिक बन्धनलाई मजबुत बनाई मानिसहरूमा सद्भावको भावना सिर्जना गराउँछ भन्ठान्छु म । उनीहरूकै पदचाप पछ्याइरहेको म भने चुपचाप सुनिरहेछु ।


उनीहरू तीनै जनाले उडाइसकेका छन्– ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालको एअरबस । त्यसो त विमलजीले काठमान्डु इन्भाइरमेन्टल एजुकेसन प्रोजेक्ट (कीप) हाँकेका छन् भने पूर्णजी पनि कुनै बेला नेपाल पर्यटन बोर्डको चालकदलको एक सदस्य थिए ।


हामीसँगै छन्, अन्य तीन सहयात्री । पहिलो भेट हो उनीहरूसँग । अपरिचित नै भएपनि भद्र व्यक्तित्व लाग्छन् उनीहरू मेरो नजरमा । विशेष टोलीसँग यात्रा जुरेकोमा कृतज्ञ महसुस गर्छु म । मनको सन्तोषका लागि मात्र होइन, हाइकिङ गरेको दसीका लागि पनि बाटामा हामीलाई स्वागत गर्ने प्रत्येक दृश्य कैद गर्छु ।

हठात् एउटा सूचना पाटीमा नजर ठोक्किन्छ मेरो ।
लेखिएको छ– ‘भस्मासुर देउराली डाँडा ।’
भस्मासुर देउराली डाँडा अर्थात् अगाडि आउँदै गरेको २,५०० मिटर अग्लो पहाडको नाम । पुराणमा वर्णन भएअनुसार शिवजीको ध्यान गरेपछि कसैको शिरमा हात राख्दा जलेर भस्म हुने वरदान पाएका असुर थिए– भस्मासुर ।


केही दिनअघि मात्र फर्पिङका चर्चित साहित्यकार डा. शेखरकुमार श्रेष्ठसँग भएको भेट स्मरणीय हुन्छ मलाई । उनले भनेका थिए, ‘गोपाल वंशको समयमा यो भेग वाणासुर राक्षसको राज्य थियो । थानकोट (शोणितपुर), चित्लाङ, डुँडेचौरलगायत हालको कुलेखानी बाँध वरपरसम्म थियो रे उनको राज्यको फैलावट ।’


वाणासुर– बलिराजाका पुत्र । वाणासुर– सहस्रबाहु भएका असुर राजा । वाणासुर– शिवभक्त तर क्रूर र हदैसम्मका अभिमानी । सूचना पाटीमा लेखिएको ‘भस्मासुर देउराली डाँडो’मै थियोे रे वाणासुर दैत्यको दरबार । वाणासुर दरबारकै कारणले ‘वाणासुर पर्वत’ भनिन्थ्यो रे यो डाँडोलाई । पुरातŒव विभागले उत्खनन गर्दा भने दरबारको अवशेष नभेटेको तथ्य सार्वजनिक गरेको थियोे रे । उनले पनि सुनेकै कुरा न हो । कतै दरबार भएको सही ठाउँ पहिचान गर्न नसकेर पो हो कि !


मैले सुनेअनुसार सन् १९५८ मा इन्डियन एयरलाइन्स (डीसी–३) दिल्लीबाट काठमाडौँ आउँदै गर्दा ‘नेभिगेसन’ त्रुटिका कारण गलत दिशातर्फ सोझिएको थियो रे । काठमाडौँ विमानस्थल ताक्ने प्रयास गर्दागर्दैको अवस्थामा विमानको इन्जिन अचानक बन्द भई दुर्घटनाग्रस्त हुन पुगेछ । जहाज त्यही सूचनापाटीमा लेखिएको ‘भस्मासुर देउराली डाँडा’मा ठोक्किएको थियो रे । त्यसमा सवार बीस यात्रुकै दुःखद निधन भएछ । दुर्घटनाग्रस्त जहाजको अवशेष फर्पिङको बाँसबारीमा ल्याइएका थिए रे । जहाजमा सवार यात्रुहरूको एउटै चिहान भएकोले ‘भस्मासुर’ पहाड भनिएको होला र ? पहाडले कसरी यस्तो उपाधि पायो भन्ने कुरा भने अद्यापि खोजको विषय बन्न सक्छ भन्ठान्छु म ।

त्यसो त काठमाडौँका थुप्रै ठाउँहरूको नाम परिवर्तन गरी नयाँ नाम राखिएका छन् । जस्तै– ‘मण्डाफल्चा’लाई सोह्रखुट्टे, ‘फिब्व ख्यः’लाई माइतीघर, ‘इखालाछी’लाई क्षेत्रपाटी, ‘साकुना’लाई बालुवाटार, ‘पोर्पा’लाई रानीबारी, ‘पैक्व’लाई नयाँबजार, ‘जामागुँ’लाई रानीवन र ‘ल्हुती’लाई, बालाजु । यस्ता उदाहरण त दर्जनौँ छन् ।


काठमाडौँका यादवलाल कायस्थलगायतका अभियन्ताहरू परिवर्तित नामका सट्टा पुरानै मौलिक नाम राखिनुपर्नेमा जोड दिइरहेका छन् । मलाई पनि ‘भस्मासुर डाँडो’को सट्टा यो पहाडको मौलिक नाम ‘वाणासुर पर्वत’ नै भनिनु पर्ने हो कि झै लाग्छ ।


कृष्णजीका नाति अनिरुद्र र वाणासुरकी छोरी उषामैयाँबिच भएको रोचक प्रेमकथा पनि सुनाएथे डा. श्रेष्ठले । उनका अनुसार, ‘उषामैयाँले लोग्ने मान्छेको मुखै नहेर्ने भनी फर्पिङ नजिकैको मर्कटाचल पर्वतमा बसेर तपस्या गरेकी थिइन् रे । त्यहाँ चाहिँ उनको दरबारको अवशेषका रूपमा ईंटाका टुक्राटाक्री अझै भेटिन्छन् भनिन्छ ।’


त्यसो त पुरातन भग्नावशेषहरूले भरिपूर्ण छ यो क्षेत्र ।
उनले थपे, ‘त्यहाँ उषामैयाँको दरबार बनाइँदै छ रे !’
पौराणिक कथाअनुसार एकरात उषामैयाँले एउटा सुन्दर केटोलाई सपनामा देखिछन् । त्यसपछि आफ्नी सहेली चित्रलेखासँग उनले सपनामा आएकोे केटासँगै बिहे गर्न इच्छा लागेको कुरा सुनाइछन् ।


लोग्ने मान्छेको मुखै नहेर्न वाचा गरेकी उनले बिहे गर्ने कुरा गरेपछि अचम्म हुने नै भो । त्यो पनि सपनामा देखेको भरमा । उषामैयाँले सपनामा देखेर वर्णन गरेजस्तोे सुन्दर केटोेको खोजी गरिन् चित्रलेखाले तर राज्यभरि कहीँ पाइनन् । उता उषामैयाँ त्यही केटा जसरी पनि ल्याउन भन्थिन् ।


नामुद चित्रकार थिइन् रे चित्रलेखा । उषामैयाँले वर्णन गरेबमोजिम केटाको पहिचान गर्न चित्र बनाइछन् । उनले सबैभन्दा पहिले कृष्णजीको चित्र बनाइछन् । आकृति हल्का मिलेको तर सपनामा देखेको केटोे नभएको बताइछन् उषामैयाँले । त्यसपछि चित्रलेखाले कृष्णको छोरोको चित्र बनाइन् रे । त्यो पनि दुरुस्त नभएको बताइछन् । अन्त्यमा उनले कृष्णजीको नाति अनिरुद्रको चित्र बनाएर देखाइछन् । उषामैयाँले सपनामा देखेको केटाको आकृति ठ्याक्कै मिलेछ ।

कृष्णजीसँगै द्वारिकामा बस्थे अनिरुद्र । उनलाई तत्काल त्यहाँबाट ल्याउन सम्भव थिएन । यता उषामैयाँको जिद्दी भने यथावत् थियो ।
कस्तो फसाद !
ईश्वरीय शक्तिको प्रयोग गरी रातको समयमा सुतिरहेको ठाउँबाट अनिरुद्रलाई उषामैयाँको दरबार भिœयाइयो । त्यसपछि उषामैयाँ र अनिरुद्रका बिच प्रेमलीला चल्न थाल्यो रे । वाणासुरले यस्तो कुरा थाहा पाएपछि अनिरुद्रलाई बन्धक बनाएर राखेछन् । यही निहुमा कृष्णजी र वाणासुरबिच युद्घ भएछ । कृष्णजीले वाणासुरको चार हातबाहेक सबै काटिदिएछन् । शिवजीले आफ्नो भक्तको रक्षा गर्न कृष्णसित अपिल गरेछन् । वाणासुरले पनि माफी मागेपछि मित्रता गर्ने सहमतिमा टुङ्गिएछ भिषण युद्ध ।
०००


शेषनारायणमा विष्णु र गोपालेश्वरमा महादेवको मन्दिर छ । वाणासुरले युद्घ जित्न शक्ति प्राप्तिका लागि स्थापना गरेका थिए गोपालेश्वर मन्दिर । वर्षको एकपटक हरिशङ्कर जात्रा हुन्छ त्यहाँ । हरि भनेकै कृष्ण । विष्णुकै रूप हो– कृष्ण । र, शङ्कर भनेको महादेव । आजपर्यन्त यो जात्राको अर्थ मित्र मिलन हो भन्ने जनविश्वास रहेको छ ।डा. श्रेष्ठले सुनाएका यिनै कथा स्मरण गर्दै उकालिँदा भस्मासुर देउराली डाँडामा पाइला टेक्न पुग्छौँ हामी ।


मर्कटाचल पर्वतमा उषामैयाँको दरबारको अवशेष पाइन्छ भने वाणासुर दरबारको अवशेष चाहिँ नपाइने हुन्छ र ? आफैँलाई सोध्छु म । तै पनि ईंटाका टुक्राटाक्री पाइहालिन्छ कि ! म आफ्नो गहिरो नजर जमिनमा हुत्याउँछु ।
०००

राजसी हिमालहरूले अझै उघारेका छैनन् बादलको उपर्ना । म त्यसैमा भएभरका हिमालका विम्ब खोज्छु । तल देखिँदै छ धुमिल काठमाडौँ खाल्डो ।


इतिहासमा उल्लेख गरिएझैँ मञ्जुश्रीले चोभारको डाँडो नकाटी काठमाडौँलाई तालकै रूपमा रहन दिएको भए ताल आफैँ फुट्थ्यो होला कि अरू कसैले फुटाउँथ्यो होला ? कहिल्यै नचिताएको जिज्ञासा उब्जन्छ मनमा ।


जोस र जाँगरका साथ मातातीर्थतर्फ लम्किरहेछन् हाम्रा पाइला । पौराणिक एवम् धार्मिक तीर्थस्थल हो– मातातीर्थ कुण्ड । वि. सं. २०४५ सालमा फुपूले मातातीर्थ स्नान गर्ने इच्छा व्यक्त गरेकाले उनलाई लिएर मातातीर्थ पुगेको थिएँ ।


रामचन्द्रजी वनवासका क्रममा घुम्दै अहिलेको मातातीर्थ आइपुग्दा सीतालाई प्यास लागेछ । वरिपरि पानी नभेटिएकोले रामले गङ्गामाताको स्तुति गरी जमिनमा वाण प्रहार गरेपछि पानीको कुण्ड बनेको रे । पौराणिक ग्रन्थले भनेका कुरा आखिर यिनै त हुन् ।


मातातीर्थमा किन नुहाउँछन् भन्ने किंवदन्ती पनि रोचक लाग्छ मलाई ।
जनश्रुतिअनुसार अहिले मातातीर्थ भनिने ठाउँमा उति बेला जङ्गल थियो रे । गोठालाहरू गाई चराउन त्यहाँ जान्थे रे । एकदिन एउटा गोठालो कुण्डको छेउमा पुग्दा उसले आफ्नी आमाको साक्षात् दर्शन पाएछ ।


कस्तो अचम्म !
संसार छोडेर गएकी आमालाई अकस्मात भेट्दा उसलाई कस्तो अनुभूति भयो होला, म कल्पना मात्र गर्न सक्छु । निःसन्देह हृदयस्पर्शी, भावनात्मक आश्चर्य र परमानन्दले भरिएको हुनुपर्छ त्यो क्षण । ‘आमा’ शब्द मात्रले पनि भावनात्मक आयामलाई समेट्छ । आमा ती माता हुन् जसले शिशुलाई जन्म दिन्छिन् । भावनात्मक र सांस्कृतिक रूपमा आमाले पालनपोषण, हेरचाह, र निःशर्त प्रेमलाई मूर्त रूप दिन्छिन् ।


गोठालोले आमा छोड्न मानेनछ । ‘तिमी मसित जान मिल्दैन । मेरो दर्शन गर्ने भए प्रत्येक वैशाख औँसीको दिन आउनु’ भनेर आमाले छोरालाई सम्झाइछन् । त्यति बेलादेखि नै प्रत्येक वर्ष त्यहाँ मेला लाग्न थालेको रे । संयोगले आज पुनः त्यहीँ पुग्दैछु म । उतिबेला मातातीर्थ पुग्दाका यादहरू आइरहेछन् मेरो मस्तिष्कमा ।
०००

काठमाडौँको काँठमाथिका पहाडले अविस्मरणीय झाँकी चित्रित गर्छन् । जीवित सङ्ग्रहालय नै हुन्– जीवन र पौराणिक कथाहरूले भरिएका यी पहाड र घना जङ्गल । हरियो जङ्गल । ताजा वायु । वनस्पतिहरूको मिश्रित सुवास । भस्मासुर गिरिको गगनमा चराहरूले भरिरहेको सुमधुर आवाज । बेलाबखत उपत्यकाको मैलोे विम्ब पनि झल्याकझुलुक देखाइरहेछ पदमार्गले ।
०००


बाटो तुर्नका निम्ति हामी संवादसहित हिँडिरहेछौँ । सामाजिकीकरणको द्योतक पनि हो आपसी संवाद । कुरैकुराको एउटा प्रसङ्गमा नेपाल पर्यटन बोर्डको उपाध्यक्ष पदमा रहँदाको तितो अनुभव र सामना गरेका चुनौती सम्झन पुग्छन् चन्द्रजी ।


निजी क्षेत्रको प्रतिनिधित्व गरेका थिए उनले । नेपालको पर्यटनको सम्भावनालाई सदुपयोग गर्ने, उदीयमान बजारहरू आकर्षण गर्नेजस्ता उनका रणनीतिक पहलहरू निजी क्षेत्रले आशा गरेअनुरूप भने भएनन् । ‘एनटीबीको उपाध्यक्ष भएर के लछारपाटो लायौ त ?’ भनुँ कि झैँ लागेको थियो । तर भनिनँ ।
ठानेँ– यति मिठो यात्रामा तितो संवाद के गर्नु !


यथार्थ के थियो भने रिजालको प्रगतिशील दृष्टिकोणलाई अँगालिदिएनन् तत्कालीन यथास्थितिवादी प्रमुख कार्यकारी अधिकृतले । अक्सर प्रवद्र्घनका नाममा विदेश भ्रमण गरिरहन्थे ती अधिकृत । एक पटक विदेशबाट फर्कंदा मदिराले बेसरी मातेर भन्सारका कर्मचारीसित परेको लफडा हामीजस्ता स्वाभिमानी व्यवसायीका लागि लज्जाको विषय बनेथ्यो । कस्तो विडम्बना !


हाँसो र ठट्टासँगै उप्काउँछौँ हामी– आफ्ना कुरा, व्यवसायका कुरा, संस्थाका कुरा, राजनीतिका कुरा र यस्तै अरू अनगन्ती कुराहरू । सूचना पाटीमा लिखित ‘भस्मासुर देउराली डाँडा र मातातीर्थका जस्तै दन्तेकथा बन्न के बेर हामीले गरेका यी संवाद पनि कुनै दिन !
०००

पहाडको ढाड टेकिरहेका छौँ हामी । बाटोका दायाँबायाँ छन्– निगालोघारी ।
ज्योतिजी भन्छन्, ‘हाब्रेलाई मनपर्ने खजाना हो– निगालो । यहाँ निगालोघारी हुनु हाब्रेहरू पनि पाइन्छन् भन्ने सूचक हो ।’ थप्छन्, ‘रज्जुमार्गको माध्यमबाट पर्यटकलाई यहाँ ल्याउन सकिन्छ ।’ उनको आशय हो – रज्जुमार्गबाट पर्यटकलाई जमिनमा नओरालीकनै फर्काउने । ज्येष्ठ नागरिकलाई पहाड घुमाउने उत्तम उपाय पनि हो यो । पर्यटन प्रवद्र्घनका अनगन्ती नवीन चेत छन् उनीसँग ।


चारैतिर अग्ला पहाडले घेरिएको छ– राजधानी । राष्ट्रिय निकुञ्जबाट यति नजिक रहेको राजधानी यो संसारमा यदि कहीँ छ भने त्यो काठमाडौँ मात्रै होला ।
तर अफसोच !
हामीले प्राकृतिक सम्पदाको सदुपयोग गर्न सकेका छैनौँ । पर्यटकलाई सहजरूपबाट काठमाडौँ वरिपरिका पहाडमा पाइने हाब्रेलगायत अन्य वन्यजन्तु तथा चराचुरुङ्गी अवलोकन गराउन सक्छौँ । स्वाभाविक रूपमा यी पहाडहरूले पर्यटकलाई स्थानीय संस्कृति र परम्पराको रसास्वादन त गराउँछन् नै । ‘एजुकेसनल र कल्चरल एक्सपोजर इमर्सिभ टुर’मा अभिरुचि राख्नेका लागि यी पहाडहरूलाई उनीहरूको स्वप्न गन्तव्यका रूपमा चिनाउन सकिन्छ ।


मलाई याद छ – वि. सं. २०५५–५६ सालतिरको कुरा हो, दीपक दाजु र मैले अग्रज होटल व्यवसायी कर्ण शाक्यसँग व्यावसायिक उन्नयनका सिलसिलामा केहीबेर भलाकुसारी थियौँ । एउटा सफल होटल व्यवसायी हुन् उनी । त्यो बेला शिवपुरीमा ‘टेन्टेड क्याम्प’ खोल्नका लागि प्रस्ताव गरे । निकै राम्रो प्रस्ताव थियो त्यो । उनीसँग मिलेर काम गर्न पाउनेमा अत्यन्तै खुसी थियौँ हामी । विडम्बना नै भन्नुपर्छ, त्यही बेला नेपालमा चलिरहेको सशस्त्र द्वन्द्व उत्कर्षतिर अगाडि बढ्दै गयोे । सरकारले तत्कालै राष्ट्रिय निकुञ्ज प्रवेशमा रोक लगायो । त्यसपछि उनीसँग काम हाम्रो गर्ने सपना, सपनामै सीमित रह्यो । हाम्रै दुर्भाग्य भन्छु म !


अहिले व्यवस्था र अवस्था बदलिएको छ । ‘टेन्टेड क्याम्प’ सम्भव छ । ज्योतिजीको आशय पनि ‘टेन्टेड क्याम्प’ले नै पर्यटकलाई उपत्यकाका पहाडतिर तान्ने हो ।


रज्जुमार्गको सवालमा भने मेरो मनमा पहिलेदेखि नै खिन्नताको एउटा गहिरो खत छ । त्यो हो– विगतको गौरव र वर्तमानमा उपेक्षा भएकोे नेपालको रज्जुमार्ग प्रणाली । वि. सं. १९६८ देखि सुरु भएको हेटौँडा–काठमाडौँ रज्जुमार्ग २०५६ देखि अवरुद्घ भइरहेछ । पुनः सञ्चालन हुन नसक्नु वास्तवमै दुःखद हो ।

स्वैर कल्पना नबनोस् ज्योतिजीको यो सुन्दर परिकल्पना ! मनमनै कामना गर्छु म ।
‘के हो त जीवन ?’ बातचितको क्रममा एउटा अप्रासङ्गिक प्रश्नको झटारो हान्छु ज्योतिजीलाई ।
बाटो काट्ने मेलो न हो !
‘जीवन निरन्तर बग्ने नदीजस्तै एउटा प्रवाह हो । तर आफ्नै प्रवाहलाई रोक्न खोजे जीवन टौदहजस्तै स्थिर बन्न पुग्छ ।’ विम्बात्मक जवाफ उनको ।


सिर्जनशील पर्यटन इलमी हुन्– ज्योतिजी । उनलाई देख्दा लाग्छ– उनी नदीझैँ बगिरहेछन् अबिरल । तब न बनेका छन् ज्योति अधिकारी ! नदीले बक्ररेखा अनुकूलन गर्दै अस्तित्वको यात्रा गरेजस्तैै हामीले पनि लचकतासाथ यात्रालाई निरन्तरता दिनुपर्छ । बगेरै जीवन्त रहन्छ नदी । बग्दैन मात्र; यसले पार गर्ने सेरोफेरोमा सुन्दर नक्कासी बनाउँदै गहिरा गल्छी र उर्वर उपत्यका सिर्जना गर्छ । जीवनको स्वतन्त्र प्रवाहमा नवीन मार्ग अन्वेषण हुन्छ । गहिरो अन्तर्दृष्टि प्राप्त हुन्छ । अनि बन्छ– गतिशील, जीवन्त र अस्तित्वपूर्ण जीवन ।
०००


ठाउँ ठाउँमा छन्– स–साना घाँसे मैदानजस्ता खाली जमिन । चाहेका खन्डमा कृत्रिम ताल बनाउन सकिने ठाउँहरू यथेष्ट छन् यहाँ । म भन्छु– ‘यी ठाउँहरूमा शिवपुरीको धाप ड्यामजस्तै बाँध निर्माण गर्न सके यहाँका गगनचरहरूलाई टौदह ओर्लनु पर्थेन ।’ मेरो कुरालाई समर्थन गर्दै रमेश धमला थप्छन्– ‘यति सुन्दर ठाउँमा त पाँचतारे होटल बनाउन सके विदेशीको ओइरो लाग्ने थियो ।’


जायज लाग्छ मलाई उनको विलासी होटलको परिकल्पना ।
हिँड्दै गर्दा दिउँसै एउटा मिठो सपना देख्छु म– एक शताब्दीका लागि सरकारसित यो सिङ्गो पहाड नै लिजमा लिएको । वाणासुर दरबार भएको स्थल पहिचान गरी त्यहीँको ईंटाले ‘स्विमिङ पुल’ र ‘स्पा’सहितको पाँचतारे होटलको जग हालेको । अनि चन्द्रागिरि डाँडोमा चन्द्र ढकाल र गोकर्णमा यती ग्रुपले पर्यटकको ओइरो लगाए जस्तै मैले पनि वाणासुर पर्वतमा लाखौँ पर्यटक आकर्षित गरेकोे ।


त्यही बेला मेरो दाहिने खुट्टा चिप्लन्छ र गल्र्याम्मै ढल्छ मेरो मनमा ठडिएको कल्पनाको विशाल वाणासुर महल । चन्द्र ढकाल, यती ग्रुप र मबिचको समानता भनेकै महलको परिकल्पना हो । फगत फरक यत्ति हो– उनीहरूले वास्तविकतामै बनाए, मैले हावामा बनाएँ ।


नेपालको पर्वतीय पर्यटनका एक हस्ती हुन्– धमलाजी । राजनीतिक प्राणी पनि हुन् उनी । बेजोड लाग्छ मलाई उनको वाककला । टानको अध्यक्षका हैसियतमा उनको पनि योगदान छ नेपालको पर्वतीय पर्यटनमा । दिगो र जिम्मेवार पर्यटनका लागि उनले गरेका त्याग र समर्पणलाई सितिमिति भुल्दैनन् पर्यटन व्यवसायीले ।
०००

छापडाँडामा चिया पिउँदै गर्दा धर्तीमा खस्छ घामको झुल्को । बादलभित्र लुकेर घामले हामीसँग खेल्छ एउटा अद्भुत खेल । आहा, कति मिठो पल ! खुसीयाली छाउँछ हामीमा । छापडाँडाबाट ओरालिँदै गर्दा आकाशले हाम्रो यात्रालाई नियालिरहेको छ । बाटामा भेटिएका प्रत्येक पदयात्रीले हाम्रो सामूहिक अनुभवको सुन्दर कोलाज थप्दैछन् ।


नागबेली बाटो भएर ओरालिँदै गर्दा भेटिन्छन्, तीन महिला पदयात्री ।
त्यसो त पदयात्रामा नेपाली महिलाहरूको सहभागिता उल्लेख्य रूपमा वृद्धि भइरहेको छ । उनीहरुलाई देखेर म अचम्मित हुन्न । तर घना जङ्गलको शून्यतामा तीन जनामात्र भेटिँदा भने तीन छक पर्छु । साहसिक मनोभाव र प्राकृतिक सौन्दर्यप्रतिको आकर्षण हो उनीहरूको यो अन्वेषण भन्ने मेरो ठम्याइ हो ।


घर सिन्धुपाल्चोक । बसाइँ काठमाडौँ । देउरालीमा पुग्दा स्पर्श हुने ताजा वायुजस्तै लाग्छ उनीहरूसँगको यो हठात् जम्काभेट । अपरिचित हामी तर अनायासै प्रवाहित हुन्छ मैत्रीपूर्ण संवाद । मानौँ– हामी पूर्वपरिचित हौँ ।


जीवनको गहिरो रहस्य बुझ्नका निम्ति गरिएको तीर्थयात्रा रहेछ योे । न्यानो र ऊर्जाशील किरण छर्दै पार गरेका देउरालीका सारलाई मूर्तरूप दिएजस्तै लाग्छ उनीहरूले । साँच्चै प्रेरणादायी लाग्छ उनीहरूको खोजविनको हुटहुटी । जीवनको सङ्घर्षमय अतीत र सुदूर भविष्यको सपना गुथिएको प्रतीत हुन्छ, उनीहरूसँगको संवादमा । ज्वलन्त साक्ष्यजस्तो लाग्छ मलाई क्षणिक तर प्रकृतिको बिचमा भएको मानव अन्तरक्रिया ।

लागिरहेछौँ अविराम ओरालो ।
धेरै हिँडायो भनेर होला चन्द्र रिजालको दाहिने कुर्कुच्चाले गनगन गरेको अनुभूत गर्दैछु । उनी घरी घरी सुम्सुम्याउँछन्, थुम्थुम्याउँछन् र फकाउँछन् कुर्कुच्चालाई । उनले गरिरहेको सहज यात्रा बिस्तारै प्रतिकूलता विरुद्घको लडाईंमा रुपान्तरण हुँदै छ ।


मातातीर्थतर्फको अन्तिम ओरालोमा पुग्दा ऐंसेलु र बयरका हाँगाले पनि बाघे झापु हान्छन् उनकै गालामा । बयर टिपेको बदलामा झन्डै लगेन उनको दाहिने आँखा । आफ्नै दाहिने कुर्कुच्चाले आफैँसँग किचकिच गर्नु र बयरको हाँगाले पनि दाहिने आँखामाथि दागा धर्नु कस्तो अजिबको संयोग ! चन्द्रजीको प्रारब्धले रचेको एउटा निर्मम ठट्टाजस्तै लाग्छ मलाई ।


मातातीर्थ पुग्दा गहिरो प्रतिविम्बमा मिल्छन् मेरा विगत र वर्तमान । अन्तिम पटक पछाडि फर्केर हेर्छु । सदाझैँ राजसी ठाँटमै खडा देख्छु तमाम पहाडहरूलाई । मातातीर्थमा रोकियुन्जेल मेरो कानमा गुन्जिन्छन् चम्पादेवी र वाणासुरले सुनाएका किंवदन्ती र इतिहासका कालातीत कथा ।

राजेन्द्रमान डङ्गोल

प्रतिक्रिया दिनुहोस

web
analytics