के पृथ्वी ‘प्लास्टिकको ग्रह’ बन्दैछ ?
- नेचर खबर

काठमाडाैं - पृथ्वीमा अहिलेसम्म कति प्लास्टिक उत्पादन भयो होला ? प्लास्टिकको व्यवसायिक उत्पादन शुरु भएको धेरै समय भएको छैन; करिब ७२ वर्षयता विश्वमा प्लास्टिकको उत्पादन भइरहेको छ । अमेरिकी अनुसन्धानकर्ताहरुका अनुसार सन् १९५० मा प्लास्टिकको व्यवसायिक उत्पादन थालिएयता विश्वमा कुल ८ दशमल ३ अर्ब टन प्लास्टिकका विभिन्न सामाग्री बनाइसकिएको छ। त्यो भनेको एक अर्ब हात्तीको तौल बराबर हो ।
क्यालिफोर्निया विश्वविद्यालका वैज्ञानिकहरुका अनुसार कूल उत्पादनको आधा प्लास्टिक विगत १३ वर्षको अवधिमा उत्पादन गरिएको थियो। त्यसको निकै कम परिमाण मात्र पुन: प्रयोगमा ल्याइएको छ। सो अध्ययनका प्रमुख अनुसन्धानकर्ता प्राध्यापक रोलन्ड गेयरको भनाइमा पृथ्वी तीव्र गतिमा 'प्लास्टिकको ग्रह'मा परिणत भइरहेको छ।
चिन्ताको विषय के छ भने फालिएको प्लास्टिकको केही हिस्सा जीवहरुको खाद्य चक्रमा समेत प्रवेश गरिसकेको छ। प्लास्टिकले समुद्रहरुलाई समेत प्रदूषित तुल्याइरहेको छ। विश्वमा प्लास्टिक थुप्रिनुको प्रमुख कारण यो हो: प्लास्टिकका सरसामान निकै कम समयका लागि मात्रै प्रयोग गरिन्छ; त्यसपछि तिनलाई फालिन्छ।
अहिलेसम्म प्रयोग गरिएका प्लास्टिकमध्ये ७० प्रतिशत प्लास्टिक फोहरमैलाका रुपमा 'ल्याण्डफील' अर्थात पुर्ने ठाउँमा पुर्याइसकिएको छ। त्यसका अतिरिक्त धेरै प्लास्टिक समुद्रहरुमा पनि पुगिसकेको छ। अनुसन्धानको नेतृत्वकर्ता प्राध्यापक रोलन्ड गेयरले भने, "हामी तीव्र गतिमा 'प्लास्टिकको ग्रह' बनाउने दिशामा अघि बढिरहेका छौं। हामी त्यस्तो संसार चाहाँदैनौं भने हामीले तुरुन्तै प्लास्टिक प्रयोग गर्ने आफ्ना तौरतरिकाबारे पुनर्विर्चार गर्न थाल्नुपर्छ।"
स्यान्टा बार्बरास्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिक तथा उनीहरुका सहयोगीले तयार पारेको एक प्रतिवेदन 'साइन्स एडभान्सेस् जर्नल'मा प्रकाशित भएको छ। यसलाई प्लास्टिकको उत्पादन, प्रयोग र विसर्जनबारेको पहिलो विश्वव्यापी आकलन भनिएको छ।
प्रतिक्रिया दिनुहोस