कास्कीमा ३ ठाउँमा पहिरोले घर पुरिँदा ११ को मृत्यु
- नेचर खबर

पोखरा - वर्षाका कारण पोखराका ३ ठाउँमा पहिरोले घर पुरिदा ११ जनाको मृत्यु भएको छ । पोखरामा एकै घर परिवारका छोरी/ज्वाइँसहित ७ जनाको पहिरोले पुरिएर मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डिसपी वसन्त कुमार शर्माले जानकारी दिए ।
पोखरा १९ पुरुन्चौरमा एकै घरका ७ जनाको मृत्यु भएको हो भने पोखरा ३२ चैतपुर बाह्रबिसेमा ३ जनाको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जानकारी जनाएको छ । पोखरा १९ पुरुन्चौरका तल्लोकोटका कुलबहादुर परियार र उनका छोरी/ज्वाइँ चितवन निवासी २५ वर्षका अस्मित परियारको पहिरोमा परि मृत्यु भएको हो ।
घर भन्दा केही माथिबाट आएको पहिरोमा परी ४६ वर्षका तुलबहादुरसहित उनकी श्रीमती मनकुमारी परियार, आमा ८५ वर्षकी लक्ष्मी परियार, १५ वर्षकी छोरी प्रशना परियार, चितवन घर भई माइत आएकी छोरी प्रभा परियार, ज्वाइँ अस्मित परियार मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसै गरी ५६ वर्षकी राधिका परियारको समेत पहिरोमा परी मृत्यु भएको सूचना अधिकारी शर्माले बताए । घटनामा परी छोरा पवन परियार र स्थानीय कुमार परियार घाइते भएका छन् । यसैगरी पोखरा-३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीया अनिता ओझा र ९ वर्षीय प्रतीक सुवेदी, ११ वर्षीया अनुस्का ओझा मृत्यु भएको छ ।
यस्तै मादी गाउँपालिका वडा नम्बर ११ मा पहिरोमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङको मृत्यु भएको छ । ओमबहादुर गुरुङलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस