रातभरको वर्षाले पुनः डुब्यो काठमाडौं उपत्यका, सबै नदीको सतह उच्च

काठमाडौं - गएरातिको अविरल वर्षाले काठमाडौं उपत्यकाका तीन जिल्लामा विभिन्न नदी तथा खोलाहरूमा बाढी आएको छ । बागमती, हनुमन्ते, गोदावरी, मनोहरा खोलामा आएको बाढीले नदी आसपासका सडक अवरुद्ध भएको छ भने किनारका बस्तीमा पानी पसेको छ । काठमाडौंको बल्खुमा एक पुरुषको शव भेटिएको छ । उनको बाढीमा डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । शवको सनाखत हुन भने बाँकी छ ।

भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीले जगाती, सल्लाघारी बाराहीस्थानका सयौं घर डुवानमा परेका छन् । खोला आसपासमा रहेका तीन वटा स्कूलका साथै दुई अस्पतालमा पनि डुबानमा परेको छ । हनुमन्ते खोलामा पजलसतह खतरा तहभन्दा माथि रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । हनुमन्ते खोला भक्तपुरको जगातीमा र कौशलटारमा जलसतह खतरा तह पार गरेको हो ।

त्यस्तै बागमती नदीको जलसतह ललितपुरको खोकनामा खतराको तह पार गरेको छ। त्यहाँ बागमती नदीको जलसतह ५ दशमलब ५९ मिटर पुगेको छ। त्यस्तै गौरीघाटमा सतर्कता तह पार गरेको बागमतीको जलसतह २ दशमलब ३४ मिटर छ। मनोहरा खोलाको जलसतह बालकुमारीमा ५ दशमलब ३५ मिटर पुगेको छ भने ललितपुरको थइबामा गोदावरी खोलाले खतरा तह पार गरेको छ ।

पछिल्लो १२ घण्टामा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भारी वर्षा मापन भएको छ । काठमाडौं उपत्यकासहित मधेश, बागमती र लुम्बिनीमा भारी वर्षाको हो । देशभर मनसुन सक्रिय रहेकाले मधेशबाहेक अरु प्रदेशमा आज पनि धेरै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा विभिन्न ठाउँमा मापन भएको वर्षा


  • धाप ड्याममा १०७.८ मिलिमिटर

  • बुढानीलकण्ठमा ९० मिलिमिटर

  • कपनमा ७४ मिलिमिटर

  • सुन्दरीजलमा ६०.६ मिलिमिटर

  • बबरमहलमा ६२.२ मिलिमिटर

  • नैकापमा ६१.४ मिलिमिटर

  • कीर्तिपुरमा ६५ मिलिमिटर

  • टीकाथलीमा ६७.४ मिलिमिटर

  • खुमलटारमा ५९.४ मिलिमिटर

  • भक्तपुर नगरकोट क्षेत्रमा ८३ मिलिमिटर

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics