तेह्रथुमबाट एक वर्षमा ५३ करोड मूल्यको गोलिया काठ बिक्री

तेह्रथुम - यहाँबाट आर्थिक वर्ष २०८०/८१ मा ५३ करोड मूल्य बराबरको गोलिया काठ निर्यात भएको छ । गोलिया काठ निर्यातबापत सङ्घीय सरकारलाई सात करोड ३१ लाख ६९ हजार मूल्य अभिवृद्धि कर सङ्कलन भएको छभने ७८ लाख ८५ हजार तीन सय प्रदेश सेवा शुल्कबापत राजस्व सङ्कलन भएको छ ।

गत आर्थिक वर्षको १२ महिनामा तेह्रथुमका निजी वनबाट २६ लाख ४१ हजार एक सय ८६ क्युफिट गोलिया काठ जिल्लाबाहिर निर्यात भएको डिभिजन वन कार्यालयका निमित्त डिभिजनल प्रमुख उधिमप्रसाद राईले बताए । उनका अनुसार निर्यात भएका सबै गोलियालाई सरकारी दरमा हिसाब गर्दा त्यति मूल्यको पर्ने देखिन्छ । “बाहिर बजारमा सरकारी दरभन्दा बढीमा पनि कारोबार हुने भएकाले हामीले हिसाब गरेकोभन्दा अझै बढी मूल्यको गोलिया हुन जान्छ ।”

निर्यात हुने गोलियामा ९० प्रतिशत ‘बी’ ग्रेडका उतिसका रूख हुने गर्छन् । गोलियाको गुणस्तर अनुसार ‘ए’ ग्रेड र ‘बी’ ग्रेडमा छुट्याइएको छ । त्यसमा काठ व्यवसायीले ‘ए’ ग्रेडको उतिसको ४५ रुपैयाँ ५० पैसा प्रति क्युफिट मूल्य अभिवृद्धि कर तिरेका छन्भने ‘बी’ ग्रेडको ३२ रुपैयाँ ५० पैसा तिरेका छन् ।

पछिल्लो समय वैदेशिक रोजगारी तथा अन्य कारणले तेह्रथुमका गाउँगाउँका जनसङ्ख्या घट्दो छ । बाँझिएका खेतबारीमा आफैँ उम्रिने रूखहरु आठ–दश वर्षमा गोलिया बेच्न लायक हुने गरेको वन पैदावार व्यवसायी सङ्घका अध्यक्ष उत्तम लिम्बूले बताए । उनले सो व्यवसाय गरेर स्थानीय १२ जनालाई रोजगारी दिइरहेको बताए । यहाँबाट निर्यात हुने गोलिया काठमा सबैभन्दा बढी उतिस रहेको भने केही मात्रामा चिलाउने, मलातो, पात्ले रहेको छ ।

त्यसैगरी, राष्ट्रिय वनको गैरकाष्ठ वन पैदावार जडीबुटी गत आर्थिक वर्षमा २४ हजार छ सय किलो यहाँबाट निर्यात भएको छ । त्यसबाट मूल्य अभिवृद्धि करबापत रु ३३ हजार सात सय सङ्कलन भएको छ । तेह्रथुमबाट निर्यात हुने जडीबुटीहरुमा मजिटो, चिराइतो, लोक्तालगायत रहेका छन् । रासस

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics