पर्वतमा ५५ पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण

पर्वत - पर्वतमा गत आर्थिक वर्षमा ५५ वटा पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण गरिएका छन् । पर्यटन तथा उद्योग कार्यालयले जिल्लाका सात पालिकामा गरी ५५ पूर्वाधारका योजना सम्पन्न गरेको जनाएको छ ।

कार्यालय प्रमुख अशोक नेपालीले बजेट विनियोजन भएका ५६ योजनामध्ये एक योजना ढिला सम्झौता भई काम सम्पन्न हुन नसकेको जानकारी दिए । उनकानुसार गत आवमा मात्रै ३१ स्थानमा गरी छ किलोमिटर तीन सय १९ मिटर लामो पदमार्ग निर्माण गरिएको छ ।

यसैगरी १९ वटा धार्मिक पर्यटकीयस्थलमा मर्मतसम्भार, पुनः निर्माण तथा नयाँ संरचना, तीन वटा पार्क र दुई सामुदायिक प्राकृतिक संरचना निर्माण गरिएको पनि कार्यालयले जनाएको छ । कुश्मा नगरपालिकामा २८, फलेवासमा आठ, मोदी गाउँपालिकामा आठ, पैँयूमा चार, जलजलामा चार, विहादीमा दुई र महाशिला गाउँपालिकामा दुई स्थानमा पूर्वाधार बनाइएको तथ्याङ्क छ ।

पूर्वाधार निर्माणका लागि गत आवमा रु तीन करोड ९० लाख विनियोजन भएको थियो । जसमध्ये रु तीन करोड ५९ लाख १० हजार खर्च भएको कार्यालय प्रमुख नेपालीले जानकारी दिए ।

यहाँ पर्यटकीय संरचनामा मन्दिर निर्माण तथा जीर्णोद्धार र रङरोगन, विश्रामस्थल निर्माण, पदमार्ग, सामुदायिक भवन, उद्यान, बगैँचा तथा पार्क निर्माणलगायत संरचना मर्मत तथा निर्माणमा जोड दिइएको छ ।

कार्यालयले गत आव २०८०/८१ मा ९७ दशमलव ७७ प्रतिशत भौतिक र वित्तीय प्रगति ८७ प्रतिशत रहेको जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics