नेपालका सामुदायिक वनको अभ्यास अन्य मुलुकका लागि पनि अनुकरणीय : मुख्यमन्त्री कार्की

सामुदायिक वन राष्ट्रिय दिवस

विराटनगर - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको सामुदायिक वनको अभ्यास अन्य मुलुकका लागि पनि अनुकरणीय रहेको बताएका छन् । सामुदायिक वन राष्ट्रिय दिवस २०८१ को अवसरमा शुक्रबार शुभकामना व्यक्त गर्दै उनले सामुदायिक वन समूहहरूले वन संरक्षण र विकासमा खेलेको भूमिकाको प्रशंसा समेत गरे ।

कोशी प्रदेशमा ३ हजार ७११ वटा सामुदायिक वन उपभोक्ता समूहमार्फत साढे चारलाख हेक्टर राष्ट्रिय वनक्षेत्रको संरक्षण तथा व्यवस्थापन गरिरहेको तथ्यांक प्रस्तुत गर्दै उहाँले यसबाट करीब ६ लाख घरघुरीलाई प्रत्यक्ष फाइदा पुगेको उल्लेख गरे ।

नेपालमा २२ लाख हेक्टर भन्दा बढी राष्ट्रिय वन क्षेत्र २२ हजारभन्दा बढी सामुदायिक वन उपभोक्ता समूहहरू मार्फत व्यवस्थापन हुँदै आएको छ । यसमा करिब ३० लाख घरधुरीहरूको सहभागिता रहेको मुख्यमन्त्री कार्कीद्धारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

नेपालको संविधान २०७२ जारी भएपछि राष्ट्रिय वनक्षेत्रको व्यवस्थापन गर्ने जिम्मा प्रदेश सरकारले पाएको छ । यसले प्रदेश र सिंगो देशलाई वन पैदावारमा आत्मनिर्भर बनाउन, काष्ठ तथा गैरकाष्ठजन्य वन पैदावारको आयातलाई प्रतिस्थापन गर्नका साथै वनजन्य उद्यम विकासको माध्यमबाट रोजगारीको सिर्जनासमेत भएको मुख्यमन्त्री कार्कीले बताए । यसले राष्ट्रिय पुँजी निर्माणमा पनि महत्त्वपूर्ण भूमिका खेलेको उनले उल्लेख गरे ।

समाजवाद उन्मुख आर्थिक समृद्धिको लक्ष्य प्राप्त गर्नका लागि सामुदायिक वनको व्यवस्थापन संरचना संरक्षणसँगसँगै उत्पादन, उद्यम तथा रोजगारी उन्मुख हुनुपर्ने उनको धारणा छ । यसका लागि समयानुकुल नीतिगत तथा कानुनी संरचना र कार्यक्रम मार्फत यथेष्ठ प्रयास गर्ने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गरे ।

सरकारले वनको व्यवस्थापन जनसहभागिताबाट गर्ने नीति अनुसार सिन्धुपाल्चोक जिल्लाको ठोकर्पामा पर्ने वन क्षेत्र २०३० साउन २५ गते समुदायलाई संरक्षण र व्यवस्थापनको जिम्मा दिएको दिनलाई स्मरण गर्दै २०७३ सालदेखि साउन २५ गते राष्ट्रिय सामुदायिक वन दिवसका रूपमा मनाउने गरिएको छ । यस वर्ष भने ‘सामुदायिक वनको प्रभावकारिता तीनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने नाराका साथ आज दिवस मनाइँदै छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics