‘तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सव’ ताप्लेजुङमा आजबाट
- नेचर खबर
ताप्लेजुङ – ताप्लेजुङको तोक्पेगोलामा पर्यटन तथा चौँरी महोत्सव आजबाट सुरु हुँदैछ । २८ गते सम्म सञ्चालन हुने उक्त महोत्सवको आयोजना हिमाली तोक्पेगोला युथ क्लबले गरेको हो । महोत्सव मिक्वाखोला गाउँपालिका – ५ को तोक्पेगोलामा सञ्चालन हुनेछ ।
महोत्सवमा विभिन्न विधाका खेलकुद साथै मनोरञ्जनात्मक कार्यक्रम हुने महोत्सवका मूल आयोजक समितिका प्रचार प्रसार संयोजक नुपु छिरिङ शेर्पाले बताए । यो समयमा पुरुष भलिबल प्रतियोगिता, खुल्ला हाल्फ म्याराथन प्रतियोगिता र प्यारासो प्रतियोगिता सञ्चालन हुने उनले बताए ।
भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद एक लाख ११ हजार १११ रुपैयाँ सँगै ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछन् भने दोस्रो हुनेले ७१ हजार १११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने मूल आयोजक समितिका आर्थिक संयोजक प्रताप साँवाले बताए ।
समुद्र सतहदेखि करिब ३ हजार ७ सय मिटरको उच्चाईमा खेलाइएको भलिबल प्रतियोगितालाई नेपालकै उच्च स्थानमा सञ्चालन गरिएको आयोजकको दाबी छ ।
प्रतिक्रिया दिनुहोस