सामुदायिक वन समन्वय समितिद्वारा विजयसाल संरक्षण

कञ्चनपुर - बहुऔषधिका रूपमा प्रयोग हुने विजयसाल संरक्षणका लागि सामुदायिक वन समन्वय समिति कञ्चनपुरले एक दशकअघिदेखि कार्य अगाडि बढाउँदै आएको छ । सामुदायिक वनहरूलाई समन्वय समितिले विजयसाल पुनः उत्पादनका लागि सहयोग पुर्याउँदै आएको हो । प्राकृतिक रुखबाट बीउ सङ्कलन गरी नर्सरी तयार गरी सामुदायिक वनमा विजयसालका बिरुवा रोप्ने कार्य गरिँदै आएको छ ।

“काठका भाँडा निर्माण गर्न, फर्निचरमा प्रयोग गर्न र घाँसदाउराका रूपमा विजयसलाका प्राकृतिक रुख अवैध रूपमा कटानीको कार्य भएपछि लोपोन्मुख अवस्थामा पुगेको छ”, समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीले भने, “विजयसाल जोगाउन अभियान थालेका छौँ, समन्वय समितिमा आबद्ध सामुदायिक वनलाई वृक्षारोपणसँगै पुनःउत्पादनका लागि आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउने काम हुँदै आएको छ ।”

परम्परागतदेखि औषधिका रूपमा प्रयोग हँुदै आएको विजयसाल जोगाउन वृक्षारोपणसँगै सामुदायिक वनका पदाधिकारी, उपभोक्तालाई तालिम, छलफल र गोष्ठीका माध्यमबाट सचेत पार्ने काम गरिँदै आएको उनले बताए । “सामुदायिक वनक्षेत्रमा खुला चरिचरन निषेध, ब्लक स्थापना गरी मेसवायर जडान, आगलागी नियन्त्रण, घाँसदाउराका लागि डालेघाँस लगाउनेलगायत कार्यले दशकअघिदेखि विजयसाल जोगाउने अभिायनले सार्थकता पाएको छ”, उनले भने, “बहुमूल्य औषधिका रूपमा रहेको विजयसालको पुनःउत्पादनलाई बढाउन सफल भएका छौँ ।”

सिस्ने सिमसार क्षेत्र, जनहित महाकाली, दिपेन्द्र स्मृति, विशाल, बैजनाथ, जयलक्ष्मी, ग्लावारी, वीरेन्द्र आदर्शलगायत सामुदायिक वन क्षेत्रमा रोपिएका विजयसालका बिरुवा हुर्कँदै गएका छन् । सिस्ने सिमसार क्षेत्रको १२ हेक्टर क्षेत्रफलमा विजयसालका बिरुवा रोपिएका छन् । सामुदायिक वनमा पाँच सय हेक्टर क्षेत्रफलमा विजयसालका बिरुवाका नमूना प्लट निर्माण गरी रोपिएका छन् ।

पहिले कञ्चनपुरबाट कपिलवस्तुसम्मका क्षेत्रमा विजयसाल पाइने गरेको उल्लेख गर्नुहँुदै अध्यक्ष जोशीले हाल कञ्चनपुर र कैलालीका केही क्षेत्रमा मात्रै न्यून मात्रामा विजयसालका प्राकृतिक रुख रहेको बताए ।

उनका अनुसार पुराना रुख विगतमा घाँसदाउराका रूपमा स्थानीय बासिन्दाले प्रयोग गर्दा घट्दै गएका हुन् । “रुखमा जथाभावी रूपमा खोपेर चोप निकाल्ने कार्यले केही रुख सुकेर सकिए”, उनले भने, “केही रुख सुक्ने अवस्थामा छन, नगन्य मात्रामा पुराना विजयसालका रुख बचेका छन्, वनहेराला परिचालन गरी ती रुखको बीउ सङ्कलन गरी बिरुवा तयार गर्ने कार्यलाई निरन्तरता दिएका छौँ ।”

बर्सेनि वृक्षारोपणको कार्यसँगै वनक्षेत्रमा आफैँ उम्रेका बिरुवाको संरक्षण हुँदै आएको छ । देख्नै दुलर्भ हुन थालेको विजयसाल हाल वन क्षेत्रमा सहजै देख्न सकिने भएको छ । विगतमा आगलागीका कारण पुनःउत्पादन भएका विजयसालका बिरुवा मर्ने गरेका थिए । हाल उपभोक्ताको सक्रियताले वनमा आगलागी हुन नपाउँदा बिरुवा हुर्कँदै गएका छन् ।

शुक्लाफाँटा नगरपालिकामा रहेको बैजनाथ सामुदायिक वनमा विजयसालका पुराना आठवटा रुख मात्र रहेकामा हाल बढेर नयाँ बोटको सङ्ख्या सात सय पुगेको वनका अध्यक्ष बहादुरसिंह महराले बताए । वन संरक्षणकर्मीका अनुसार वन क्षेत्रमा विजयसालका पुराना रुख तीन सयदेखि पाँच सय हाराहारीमा छन् । विजयसाल दम, मुटुरोग, ग्याष्ट्रिक, चर्मरोग, चोटपटक, मर्केको र सुन्निएको ठिक गर्न परम्परादेखि प्रयोग हुँदै आएको छ । विजयसालको काठबाट बनेका भाँडा बजार क्षेत्रमा पाइने गरेका छन् । ती भाँडाको माग अत्यधिक छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics