सबै हवाई दुर्घटना जाँच आयोगका प्रतिवेदन अध्ययन गर्न अब समिति !
- नेचर खबर
काठमाडौं - सरकारले अहिलेसम्म भएका हवाई दुर्घटनामा बनेका जाँच आयोगका प्रतिवेदनले उठाएका सवालबारे अध्ययन गर्न उच्चस्तरीय समिति बनाउने भएको छ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा दिवंगत भएकाहरूको सम्झनामा आइतबार राजधानीमा आयोजित अन्तरक्रियामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले यस्तो जानकारी गराएका हुन् ।
न्यायिक क्षेत्रका व्यक्तिको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति बनाउने र समितिले उठाएका विषयलाई सरकारले कार्यान्वयन गर्ने उनले बताए । ‘हवाई दुर्घटनाबारे विगतमा थुप्रै अलग-अलग अध्ययन र अनुसन्धान भएका छन्, तिनीहरूलाई एकीकृत गरी राख्नु पर्ने छ,’ उनले भने ।
उनले सौर्य एयरलाइन्सको दुर्घटनाबारे प्रारम्भिक प्रतिवेदन प्राप्त भइसकेको भन्दै प्रतिवेदन सत्य, तथ्य नजिक पुगेको बताए । मन्त्री पाण्डेले हवाई क्षेत्रलाई सुरक्षित बनाउन नियामक निकाय र सेवा प्रदायक निकायलाई छुट्याउने गरी ल्याएको विधेयक अर्थ, कानुन हुँदै मन्त्रालय पुगेको जानकारी दिए । उनले यो विधेयक मन्त्रिपरिषद् मार्फत संसदमा पेस गरिने बताए ।
उनले दुर्घटनाका पीडितले पाउनु पर्ने बीमाका विषयमा बीमा सम्बन्धी ऐन निर्माण गर्नु पर्ने र पछिल्लो सन्धिहरूको मस्यौदाको क्रममा रहेको बताए । हवाई ऐनलाई समेत समय सापेक्ष हुने गरी परिमार्जन गरिने बताए ।
प्रतिक्रिया दिनुहोस