कञ्चनजंघा आधार शिविरमा पुग्न थाले पर्यटक

ताप्लेजुङ - कञ्चनजंघा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन सुरु भएसँगै शिखर आधार शिविर गुलजार भएको छ । शुक्रबार ६५ जना विदेशी पर्यटक आधार शिविरतर्फ प्रस्थान गरेका छन् ।

घुन्सास्थित कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक टासी तेन्जिङका अनुसार स्पेन, फ्रान्स, अष्ट्रेलिया, जर्मनी, नेदरल्याण्ड, स्वीडेन, रोमानिया, अमेरिका, पोल्याण्ड, र भारतका आधार शिविरतर्फ गएका हुन् ।

पर्यटकको आगमनसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । कञ्चनजंघा प्रवेशद्वार फक्ताङलुङ गाउँपालिका–६ घुन्साका होटेल व्यवसायी पेमा शेर्पाले पर्यटकको चहलपहल बढेसँगै बन्द होटेल खुल्न थालेका बताए ।

विराटनगर, धरान, दमकलगायत सहरबाट पनि कञ्चनजंघा क्षेत्रमा आन्तरिक पर्यटक पनि आउन थालेका छन् । फक्ताङलुङ गाउँपालिका–६ का क्याप्ला, फले, घुन्सा, खाबाजेन, र लोनाकका स्थानीयको मुख्य आम्दानी पर्यटन व्यवसाय हो । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तथ्यांकअनुसार, कञ्चनजंघा हिमालको आधारशिविर जाने मार्गमा ५२ होटेल सञ्चालनमा छन् ।

फक्ताङलुङ गाउँपालिका—६ स्थित ग्याप्लामा सात करोडभन्दा बढीको लगानीमा बनेको सिंगीनामजोङ होटेल पनि सञ्चालनमा छ । यहाँका होटेलमा स्थानीयका उत्पादन खपत हुँदा उनीहरूको आर्थिक अवस्था सबल बन्दै गएको छ ।

पर्यटकका सहयोगीको मृत्यु
कञ्चनजंघा आधार शिविरतर्फ गइरहेको पर्यटक टोलीका एक सदस्यको ढुंगाले लागेर मृत्यु भएको छ । फक्ताङलुङ गाउँपालिका– ६ को जापानटार नजिक इलिफोक भन्ने ठाउँमा पहिरोसँगै खसेको ढुंगाले लागेर सङ्खुवासभाको सिलिचोङ गाउँपालिका– ५ का टीकाबहादुर राईको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त ठाउँमा पहिरो झरिरहेकाले प्रहरी चौकी लुङ्थुङबाट गएको टोलीले शव निकाल्न नसकेपछि थप सुरक्षाकर्मी परिचालन गरिएको छ । उक्त टोलीका अन्य सबै सदस्य सकुशल छन् । -रासस

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics