बीपी राजमार्गमा सुक्खा पहिरो, गाडी पुरियाे, सडक अवरुद्ध
- नेचर खबर
काठमाडौं - सञ्चालनमा आएको केही घण्टामा नै बीपी राजमार्ग फेरि पूर्णरुपमा अवरुद्ध भएको छ । सुक्खा पहिरो खसेर गाडी नै पुरिएपछि राजमार्ग अवरुद्ध भएको हो ।
पहिरोमा पुरिएको गाडी निकाल्न गएको डोजरलाई समेत पहिरोले पल्टाइदिएको छ । काभ्रेको रोशी गाउँपालिका ११ पिप्लेमा खसेको सुक्खा पहिरोले खोटाङबाट काठमाडौंतर्फ जाँदै गरेको ना. १ ज. ६८१७ नम्बरको सुमोलाई पुरेको थियो ।
यसैगरी सिन्धुलीबाट काठमाडौं तर्फ जाँदै गरेको बा. ४ ख. ४३५२ नम्बरको बसलाई सोही ठाउँको पहिरोले रोशी खोलामा धकेलेको छ ।
पहिरोमा पुरिएको सुमोको पछाडिको भाग मात्र देखिएको छ । तर मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । सो सडकमा यात्रा नगर्न पनि प्रहरीले अनुरोध गरेको छ ।
डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले माथिबाट सुक्खा पहिरो झरीरहेकाले बाटो खुलाउन असहज भएको बताए । पहिरो झर्न रोकिए १ घण्टामा राजमार्ग सञ्चालनमा आउने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस