कोप-२९ आजबाट, कस्ता छन् मुख्य एजेण्डा ?

काठमाडौं - जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन कोप-२९ अजरबैजानको बाकुमा आजदेखि सुरु हुँदैछ । सम्मेलनमा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै राष्ट्रपति रामचन्द्र पौडेल बाकु पुग्दै छन् ।

अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा राष्ट्रपति पौडेल आइतबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका थिए ।

राष्ट्रपति पौडेलले कात्तिक २७ गते हुने उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गर्नेछ ।

सम्मेलनमा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठकसमेत हुनेछ । विश्वमै नेपाल जलवायुको असरबाट सबैभन्दा बढी प्रभावित मुलुकमध्ये पर्छ ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को अध्ययनअनुसार हिन्दूकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर विश्वको औसतको तुलनामा तीन गुणा बढी छ । उक्त क्षेत्रमा सन् २०११ देखि सन् २०२० को एक दशकमा त्यसअघिको तुलनामा हिमनदी पग्लने क्रम ६५ प्रतिशतले बढेको छ ।

पर्वतीय क्षेत्रमा परेको जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र अन्य जलवायुजन्य जोखिम घटाउन विश्व समुदायलाई नेपाललगायत विकासोन्मुख मुलुकहरुले दबाब दिने तयारी छ । वन तथा वातावरण मन्त्रालयका अनुसार जलवायु वित्त, जलवायुजन्य हानी नोक्सानी, न्यूनीकरण कार्बन व्यापार, उत्सर्जन मापन, पर्वतीय मुद्दा प्रविधि र क्षमता अभिवृद्धि, जलवायु परिवर्तन अनुकूलन, समावेशिताको छ वटा विषयगत कार्यपत्र नेपालले तयार पारेको छ ।

गत वर्ष युएइको दुबईमा भएको कोप–२८ मा स्थापना गरिएको जलवायुजन्य हानी–नोक्सानीसम्बन्धी कोषको प्रभावकारी कार्यान्वयनका लागि दबाब दिने तयारी भइरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics