पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै पटेकडाँडा
- नेचर खबर
तेह्रथुम - तेह्रथुम र धनकुटाको सीमा क्षेत्रमा अवस्थित पर्यटकीय स्थल पटेकडाँडा आन्तरिक पर्यटकका निम्ति आकर्षक गन्तव्यका रूपमा विकास भइरहेको छ ।
समुद्री सतहबाट दुई हजार सात सय दुई मिटर उचाइमा रहेको पटेकडाँडाबाट मौसम खुलेको समयमा मकालु, कुम्भकर्ण सहितका सुन्दर हिमशृङ्खलासँगै तेह्रथुम र धनकुटालगायत छिमेकी जिल्लाका विभिन्न स्थानको अवलोकन गर्न सकिन्छ । पटेकडाँडा सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि प्रख्यात छ ।
सरकारले सय गन्तव्य सूचीमा राखेको पटेकडाँडा कोशी राजमार्गअन्तर्गत धनकुटाको छ थर जोरपाटी गाउँपालिकास्थित सिधुवा बजारबाट ४५ मिनेट उकालो चढेपछि पुगिन्छ ।
स्थानीय सरकारको पहल एवं संघीय र प्रदेश सरकारको सहकार्यमा सिधुवा बजारबाट केही माथि पैदल यात्राका लागि रेलिङसहितको सिँढी निर्माण गरिएको छ । डाँडामा शौचालय र वनभोज स्थल बनाइएका छन् । त्यहाँ पूर्वाधार निर्माण भएसँगै पर्यटकको चहलपहल बढेको स्थानीय छिरिङ शेर्पाले बताए ।
सरकारले सय गन्तव्य सूचीभित्र पटेकडाँडालाई राखेपछि यो स्थानमा आन्तरिक पर्यटक जान थालेका हुन् । पर्यटकको चहलपहल बढेसँगै सिधुवा बजारको व्यापार-व्यवसायमा वृद्धि भएको स्थानीय व्यवसायी मेघराज घिमिरेले बताए । उनले पटेकडाडाँको प्रचारप्रसार र थप पर्यटनमैत्री पूर्वाधार निर्माण गर्न आवश्यक भएको बताए ।
लालीगुराँसको राजधानी तिनजुरे-मिल्के-जलजले (टिएमजे) क्षेत्रको भ्रमण गर्ने धेरै पर्यटकको रोजाइमा पटेकडाँडा परेको छ । विशेषतः हिउँदमा वनभोज खाने र गुराँस फुल्ने याममा त्यहाँ धेरै पर्यटक पुग्ने गरेका छन् । पर्याप्त प्रचारप्रसार र थप प्रकृतिमैत्री पर्यटन पूर्वाधारको विकास गरेर पटेकडाँडामा बाह्रैमास पर्यटक भित्र्याउन सकिने व्यवसायी घिमिरेले बताए ।
Tags : पटेकडाँडा पर्यटकीय
प्रतिक्रिया दिनुहोस