कोप २९ को समीक्षा बैठक ‘पाँचतारे’ होटेलमा
- नेचर खबर
काठमाडौं - जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पक्ष राष्ट्रहरूको सम्मेलन कोप २९ सकिएको एक महिना बित्दा पनि जम्बो टोलीको खर्च सार्वजनिक नगरेको वन तथा वातावरण मन्त्रालयले कोपको समीक्षा बैठक पनि काठमाडौँको सबैभन्दा महँगो पाँचतारे होटेलमा राखेको छ ।
मन्त्रालयले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथि बनाएर होटेल म्यारियटमा समीक्षा बैठक गरेको हो । वन मन्त्रालयका सचिव डा. दीपककुमार खरालले उक्त समीक्षा बैठक डाकेका हुन ।
कोप २९ को समीक्षा गोष्ठीमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु राणा देउवा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, प्रदेशका मुख्यमन्त्रीहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाका प्रतिनिधि, नेपाल सरकारका सचिव, सहसचिवलगायत एक सय भन्दा बढीलाई बोलाइएको छ ।
नेपाल सरकारका तर्फबाट वन तथा वातावरण मन्त्रालय, राष्ट्रपति कार्यालय, सरोकारवाला मन्त्रालय तथा निकायहरूबाट करिब ५० जनाको जम्बो टोली कोप २९ मा भाग लिन गएको थियो । तर मन्त्रालयले अहिलेसम्म कोपमा भएको खर्च र त्यसको स्रोत सार्वजनिक गरेको छैन । र, यतिसम्म कि कोपमा भनेको सरकारी प्रतिनिधि मण्डलको नामावली पनि सार्वजनिक गरेको छैन ।
पारदर्शीताको हवाला दिने सरकारले एउटा सम्मेलनमा भाग लिन जान खर्च भएको करोडौँको विवरण सार्वजनिक पनि गरेको छैन । त्यसैमा समीक्षा बैठक समेत पाँचतारे होटेलमा गरेको छ । जलवायु परिवर्तनका नाममा आएको अनुदान र ऋण वास्तविक पीडितहरूसम्म नपुगेको गुनासो बढिरहेका बेला मन्त्रालय भने पाँचतारे होटेलमा एउटा सम्मेलनको समीक्षा बैठक राखेको हो ।
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले कोप २९ बाट फर्किने बित्तिकै सम्मेलनको उपलब्धिमा भे टवार्ता र उच्चस्तरीय भेटवार्ता’ उल्लेख गरेका थिए । यसका लागि उनको नेतृत्वमा वन मन्त्रालयबाट मात्र ३१ जना सरकारी कर्मचारी सहभागी भएको थिए । तीमध्ये ७ जना त सहसचिव अजरबैंजानको बाकुमा सम्पन्न कोप २९ मा सहभागी भएका थिए । अन्य कर्मचारीहरूमा उपसचिव र अधिकृतहरू गएका थिए ।
मन्त्रालयले ती कर्मचारीहरूले कोप २९ मा गएर के के गरे ? त्यसबाट नेपाललाई के के उपलब्धि भयो भनेर सार्वजनिक गरेको छैन । मन्त्रालयले काम देखाउन कोपमा गएर नेपालमा कार्यान्वयनमा आइसकेका दुई वटा परियोजना शुभारम्भ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस